उपत्यकामा थप ८७ जना संक्रमित

लकडाउनबारे सरकारले सोचेको छैनः सरकार प्रवक्ता

काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भक्तपुरमा १ जना, ललिपुरमा १० जना र काठमाडौं जिल्लामा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसरी काठमाण्डौ उपत्यकाको स्थिति भयावह बन्दै जाँदा सरकारका प्रवक्ता युवराज खतिवडाले तत्काल लकडाउन नहुने बताएका छन्। बिहीबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा उनले सरकार देशभर लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारे।

उनले ठाउँ ठाउँमा लकडाउन भएको देखिए पनि चैत ११ गते जारी भएको जस्तो मुलुकभर लकडाउन नहुने बताए। सरकारले कोरोना संक्रमणको जोखिम फेरि बढेको भन्दै उपत्यकामा बिहीबारदेखि अत्यावश्यक सेवाबाहेकका सवारीमा जोर–बिजोर प्रणाली लागू गरेको छ।

यस संक्रमणबाट जोगिनु जोगाउनु हामी सबैको दायित्व हो भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन पालना गर्नहुन सरकारले आम नागरिकमा अपिल गरेको छ ।