ओली–दाहाल झगडा, वामदेव तगडा
काठमाडौं । सत्तारुढ दलका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालवीच चर्को विवाद छ । दाहालले ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पद छाड्न दवाव दिइरहेका छन् भने ओलीले दुवै पद नछाड्ने अडान राख्दै आएका छन् । उनीहरुको अडानले पार्टी फुट्ने स्थितिमा समेत पुगेको छ । उनीहरुको विवादका बीच कुन पक्ष बलियो हुने भन्नेमा वामदेव गौतम आकर्षणको केन्द्र मात्र होइन, झण्डैझण्डै निर्णयक हुन सक्छ । त्यसैले उनीहरु दुवैले वामदेवलाई आफूतिर आकर्षित गर्न प्रयास गरिरहेका छन् । ‘जहाँ राजा राम त्यहाँ अयोध्या’ भने झै वामदेव गौतमले जसलाई समर्थन गर्छन्, सोही नेतृत्व बलियो हुन्छ भन्ने विश्वासले गौतमलाई आफूतिर आकर्षित गर्न पुष्पकमल दाहाल र केपी ओलीले प्रयास गरिरहेका हुन् ।
पार्टीको उपाध्यक्ष वाहेक अन्य कुनै सार्वजनिक पद नलिएका गौतम स्पष्ट वक्तमा मानिन्छन् । वर्दियाबाट चुनाव लड्दा संसदमा पराजित भएपनि उनले राष्ट्रिय सभाको सदस्य भएर सरकारको महत्वपूर्ण पद लिने प्रयास पनि नगरेका होइनन् । तर अनेकौ प्रयास गर्दा पनि उनी सरकारको जिम्मेवारी जान सकेनन् ।
दुई अध्यक्षबीच विवाद चर्किएका बेला गौतमले हालै ६ वुँदे मध्यमार्गी प्रस्ताव अघि सारेर पार्टीलाई बलियो बनाउन दुवै अध्यक्षलाई सुझाव दिएका छन् । यसअघिदेखि नै गौतमसँग टाढिएका ओली कालान्तरमा गौतम निवास पुगेर सुझाव सल्लाह र सहयोगको अपेक्षा गरेका छन् । त्यस्तै अर्का अध्यक्ष दाहाल पनि गौतम निवासमा पुगेर गोतमलाई आफूतिर तान्ने प्रयास गरेका छन् ।
पछिल्ला दिनहरुमा स्थायी कमिटी र केन्द्रीय कमिटी बोलाउने निष्कर्षलाई कोरोनाका कारण भिडभाड नगरौ भन्दै पार्टी अध्यक्ष ओलीले वैठक टार्न खोजेको आरोप लागिरहेको छ । तर समस्याको समाधान खोज्न सामुहिक निर्णय गरेर अघि बढ्नु पर्छ भन्ने वामदेव गौतमको धारणाले सर्प पनि मरोस्, लाठी नभाँचियोस् भन्ने उखान चरितार्थ गर्न खोजेको देखिन्छ ।
अध्यक्षद्वयले आ–आफ्नो हठ त्यागेनन् भने पार्टी मात्र होइन, अहिलेको राजनीतिक प्रणाली माथि नै कालो वादल लाग्ने सम्भावना बढेको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
भ्रष्टाचार, ढिलासुस्ती, लापरवाहीलगायत अनेकौ समस्याका कारण सरकारको आलोचना भइरहेको कुरा प्रधानमन्त्रीले नबुझेका होइनन् । तर वामदेव गौतमको इशारा र शेरबहादुर देउवाको समर्थनमा हालै २३ खर्बका २६ परियोजना सञ्चालन गर्नुपर्ने केन्द्रमा कालोसुचिमा परेका व्यक्तिलाई प्रमुख कार्यकारी अधिकृत बनाउँदा प्रधानमन्त्री ओली झन विवादमा परेका छन् ।
प्रधानमन्त्रीले योग्य व्यक्ति भन्दै सुशील भट्टलाई लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत बनाउनु भन्दा अघि ओम्नी, यति समूह लगायत कैयन यस्तै विवादस्पद व्यक्ति र समूहसँग मिलेर फाइदा लिएको भन्दै ओलीको आलोचना भइरहेको छ ।