१० लाख क्रियाशिल सदस्य बनाउने कांग्रेसको योजना

नेताहरुबीच नै फाटो भएका बेला कसरी होलान् युवा आकर्षित ?

काठमाडौं । नेपाली कांग्रेसले सदस्य संख्या बढाएर क्रियाशिल सदस्यहरुको संख्या मात्र १० लाख पुर्याउने योजना बनाएको छ । कांग्रेसमा गुटबन्दी बढिरहेका बेला १० लाख सदस्यता पुर्याउने योजना सफल हुनेमा धेरैले आशंका गरेका छन् ।
अहिलेको अभिलेखमा कांग्रेसमा चार लाख ९८ हजार चार सय ७६ जना सदस्यको नाम उल्लेख छ । नेकपामा आठ लाख भन्दा बढी सदस्य भएको अवस्थामा कांग्रेसको यो संख्या झण्डै ४० प्रतिशतले कम देखिन्छ । नेकपा भन्दा आफ्नो सदस्य संख्या बढाउन कांग्रेसले अभिरुचि देखाएपनि सैद्धान्तिक निष्ठा, प्रशिक्षण, सिद्धान्त र मूल्य मान्यताबाट दुवै ठूलो पार्टीका नेता, कार्यकर्ता विचलित भइरहेकाले सदस्यको संख्या मात्रै बढाएर पार्टी गतिशील हुने देखिदैन ।
रामचन्द्र पौडेललगायत विभिन्न गुटका वैठकमा महाधिवेशन नजिकिदै जाँदा सभापति शेरबहादुर देउवाले अधिनायकवादी बाटो हिड्न खोजेको आरोप लगाइएको छ । उनले राणाकालिन शासकले झै आफूखुशी मनोनित गरेर विभिन्न विभागमा आफ्ना निकट कार्यकर्तालाई भर्ती गरेको आरोप उनका विरोधीले लगाइरहेका छन् । तर विपक्षीको कुरा सुन्न देउवा तयार देखिदैनन् । उनले ‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’ भन्ने उखान चरितार्थ गर्दै आफ्नो स्थिति बलियो बनाउने कामलाई निरन्तरता दिइरहेका छन् ।
कांग्रेसका ४७ वटा विभाग मध्ये धेरैजसोमा सभापति देउवाले आफूनिकटका नेतालाई नै संयोजक र पदाधिकारी बनाएका छन् । यसले महाधिवेशन पछि पनि देउवाको अवस्थालाई बलियो बनाउने देखिन्छ ।
महाधिवेशनको मुखमा विभाग गठन गर्न नहुने रामचन्द्र पौडेलहरुको तर्क छ । तर देउवा भन्छन्, “आफ्ना प्रियजनको नाम दिन पौडेलले आनाकानी गरेकाले सभापतिको हैसियतमा आफूले विभिन्न विभागमा पूर्णता दिएको मात्र हो । विभागहरु नै अधुरो भए भने त्यसले महाधिवेशनलाई असर पर्ने हुँदा आफूले मनोनयन गर्नु गलत छैन ।”
कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघलाई पूर्णता दिने बारे पार्टी अल्मलिइरहेको छ भने ६ महिनाभित्रै महाधिवेशन गर्ने भनिएको सो संघको कार्यकाल समेत गुज्रिसकेको छ । १०१ जना सदस्य रहनुपर्ने नेविसंघमा हाल १० जना पदाधिकारीहरुले काम चलाएका छन् ।
महंगी, भ्रष्टाचार, अराजकता, वेरोजगारी, सीमा अतिक्रमणलगायतका जनचासोका विषयमा प्रमुख प्रतिपक्षी दलले राष्ट्र र जनताको हितमा आवाज उठाउन नसकेको भन्दै चौतर्फी रुपमा कांग्रेसको आलोचना भइरहेको छ । यस्तो अवस्थामा पार्टीका नेताहरु आपसी झगडा र गुटबन्दीमा व्यस्त रहँदा पार्टीको भविष्य के हुन्छ भन्ने प्रश्न अरु जटिल हुँदै गएबेला १० लाख क्रियाशिल सदस्य पुर्याउन त्यति सजिलो नभएको सो पार्टीका नेताहरु नै स्वीकार्छन् ।
महाधिवेशन गरेपनि कांग्रेसले आगामी वर्षहरुमा यही शैलीमा काम गर्दै गएको खण्डमा जनाधार गुमाउन सक्ने राजनीतिक विश्लेषकहरुको तर्क छ । कुल मतदाताको झण्डै ३५ प्रतिशत मत पाएको नेपाली कांग्रेस परम्परावादी पार्टी भएपनि उसले कम्युनिष्ट पार्टीहरुले झै उत्ताउला नारा लगाएर अस्तित्व रक्षा गर्न खोजेको आरोप लागिरहेको छ । यस्तो अवस्थामा पार्टीका वरिष्ठ नेताहरु एकीकृत भएर अघि बढ्नुपर्नेमा ध्रुविकृत हुँदै जाँदा पार्टीको भविष्यमाथि प्रश्न उठेको हो ।
राष्ट्र र जनताले भोग्नु परेका समस्याका बारेमा एउटै मार्गचित्र हुनुपर्नेमा ठूला दलहरु विचलित भएको भन्दै युवा पुस्ता निकै रुष्ट भएका छन् । त्यसैले उनीहरुले नेतालाई होइन, नीतिलाई महत्व दिने भएकाले कांग्रेसले युवाहरुलाई आकर्षित गर्न धेरै गृहकार्य गर्नुपर्ने राजनीतिक विश्लेषकहरु बताउँछन् ।