कांग्रेसका विभागहरुलाई पूर्णता, पौडेल समूहको विरोध

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय विभागहरुलाई पूर्णता दिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले विरोध जनाएका छन् ।
आइतबार सभापति देउवाले उपप्रमुख, सचिव र सदस्य मनोनयन गरी विभागहरुलाई पूर्णता दिएका छन् । केन्द्रीय विभागका प्रमख भने यसअघि नै मनोनयन गरिएको थियो ।
केन्द्रीय विभागमा पार्टीका वरिष्ठ नेता पौडेल समूहको सहभागिता छैन । पौडेल समूहले काँग्रेसको १३ औँ महाधिवेशन सम्पन्न भएको छ महिनाभित्र गठन गरिसक्नुपर्ने केन्द्रीय विभाग अहिले चौधौँ महाधिवेशनको कार्यतालिका अघि बढिसकेपछि निर्वाचन आचारसंहिता विपरीत गठन गरिएको जनाउँदै विरोध गर्दै आएको छ । काँग्रेसको १३ औँ महाधिवेशन २०७२ साल फागुन २० देखि २३ गतेसम्म भएको थियो ।
सभापति देउवा समूहले भने पार्टीको विधानबमोजिम नै विभागहरुलाई पूर्णता दिएको दावी गरेको छ । पौडेल समूहसँग विभागहरुमा मनोनितका लागि नाम माग्दा नदिएपछि सभापति देउवाले आफू समर्थकहरुलाई मनोनित गरेर विभागलाई पूर्णता दिएका एक नेताले बताएका छन् ।
गोपालमान श्रेष्ठ प्रमुख रहेको सङ्गठन विभागको सचिवमा विनकुमार विश्वकर्मा र सदस्यमा अन्य विभिन्न ४० जनालाई सदस्यमा मनोनयन गरिएको छ भने हरिप्रसाद नेपाल प्रमुख रहेको शिक्षा विभागको उपप्रमुखमा शेषनाथ अधिकारी र सचिवमा डा कृष्णप्रसाद पौडल तथा सदस्यमा विभिन्न जिल्लाबाट ३८ जना सदस्य मनोनयन गरिएको काँग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

महेन्द्र यादव प्रमुख रहेको यातायात व्यवसायी समन्वय विभागमा ४१ सदस्य, फरमूल्लाह मंसुर प्रमुख रहनुभएको मुस्लिम विभागको सचिवमा परवेज अन्सारी र अन्य ३७ जना सदस्य, अजयकुमार चौरसिया प्रमुख रहेको तराई–मधेश समन्वय विभागको उपप्रमुखमा श्रीप्रसाद राउत र सचिवमा रामनारायणप्रसाद कुर्मी तथा ३७ सदस्य मनोनयन गरिएको छ ।

सभापति देउवाले रमेश रिजाल प्रमख रहेको सङ्घीय मामिला तथा प्रदेश समन्वय विभागमा ४० सदस्य, अम्बिका बस्नेत प्रमुख रहेको वन, वातावरण तथा विपत् व्यवस्थापन विभागमा ३९ सदस्य, आनन्दप्रसाद ढुङ्गाना प्रमुख रहनुभएको वित्तीय तथा सहकारी संस्था समन्वय विभागको उपप्रमुखमा गोविन्दबहादुर मल्ल र ३८ सदस्य मनोनयन गरेका छन् ।

यसैगरी अर्जुनप्रसाद जोशी प्रमुख रहेको स्थानीय तह समन्वय विभागमा ३८ सदस्य, वीरबहादुर बलायर प्रमुख रहनुभएको निर्माण व्यवसायी समन्वय विभागमा ३९ सदस्य, शङ्कर भण्डारी प्रमुख रहेको तरुण विभागको सचिवमा श्यामप्रसाद श्रेष्ठ र सदस्यमा ४० सदस्य, मोहनबहादुर बस्नेत प्रमुख रहेको खेलकूद विभागको उपप्रमुखमा मोहनकुमार राई र मीनकृष्ण महर्जन तथा २७ सदस्य मनोनयन गरिएको छ । तरुण विभागलाई गत जेठ १७ गते र खेलकूद विभागलाई गत जेठ २८ गते पूर्णता दिइएको थियो ।

कांग्रेसको विधानको दफा ३७ मा केन्द्रीय विभागसम्बन्धी व्यवस्था गरिएको छ । विधानमा २८ विभाग रहने व्यवस्था भए पनि विधानकै अधिकार प्रयोग गरी काँग्रेस केन्द्रीय कार्यसमितिको गत पुस ११ गतेको बैठकले महासमिति वा महाधिवेशनबाट अनुमोदन गराउने गरी विभागको सङ्ख्या बढाएर ४७ पु¥याउने निर्णय गरेको थियो ।
विधानबमोजिम प्रत्येक विभागमा बढीमा ५१ सदस्य रहने र केन्द्रीय सभापतिले विभागका प्रमुख, उपप्रमुख, एक जना सचिव र सदस्यको नियुक्ति गर्ने व्यवस्था छ । विभागका उपप्रमुख, सचिव, सदस्यमा मनोनयन हुन काँग्रेसको क्रियाशील सदस्य हुनुपर्छ ।