थप ६ सय ३८ जनामा कोरोना संक्रमण, थप चार जनाको मृत्यु

काठमाडौं उपत्यकामा थपिए १ सय ३४ जना

काठमाडौं । पछिल्लो २४ घन्टा यता थप ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने चार जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थपिएका समेत गरेर नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ।
मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १ सय ७१ जना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा १६ हजार ६ सय ६४ जना उपचारपछि संक्रमण मुक्त भएका छन् ।
हाल देशभर ७ हजार २ सय १ जना सक्रिय संक्रमित रहेका छन्।
आज थप ४ जना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ८३ पुगेको छ ।
आज थपिएकाहरुमध्ये १ सय ३४ जना काठमाडौं उपत्यकाका भए मन्त्रालयले जनाएको छ । मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार काठमाडौंमा १ सय १० जना, ललितपुरमा १६ जना र भक्तपुरमा ८ जनामा संक्रमण पुष्टि भएको हो । आज थपिएकासहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या १३१४ पुगेको छ। काठमाडौंमा १०५८, ललितपुरमा १५९ र भक्तपुरमा ९७ संक्रमित पुष्टि भएका छन्।
उपत्यकाका संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन ।