नजिकिएका चाडपर्व घरमै मनाउन जिप्रका गुल्मीको आग्रह
गुल्मी । जिल्ला प्रशासन कार्यालय गुल्मीले नजिकिएका चाडपर्व घरमै बसेर मनाउन आग्रह गरेको छ । विश्वव्यापी महामारीको रूपमा फैलिएको कोभिड–१९ संक्रमण जोखिमलाई न्यूनिकरण गर्न सामाजिक र धार्मिक चाडपर्वहरुलाई मध्यनजर गर्दै, साउन, र भाद्र महिनामा रेसुङ्गा पोखरी स्नान, कृष्ण अष्टमी तिज पञ्चमी, सामुहिक दरखाने कार्यक्रम, मन्दिर र मस्जिद, चर्च र नदी किनारमा सामुहिक रुपमा पुजा पाठ नगर्न आग्रह गरिएको छ ।
जिल्लाका ह्वाक्ने छहरा, ट्रि–हाउस र अन्य पर्यटकीय क्षेत्रहरुमा गई भिडभाड नगर्ने र घरमा नै रही मनाउन आग्रह गरिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमण केही छिमेकी जिल्लाहरुमा समुदायस्तरसम्म फैलिएकोले सुरक्षा सतर्कता अपनाउन समेत आग्रह गरिएको छ ।
सोमबार सुचना जारी गर्दै जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जिल्लास्थित स्थानीयतह, राजनैतिक क्षेत्र, सामाजिक क्षेत्र, शैक्षिक क्षेत्र, उद्योगी व्यवसायी, आम सर्वसाधरणमा थप सचेत बन्न अनुरोध गर्नुभएको छ ।
प्रर्दशन, भेला, सभा, सम्मेलन, जमघट, गोष्ठी नगरी आवश्यकता अनुरुप भर्चुअल कन्फरेन्स मार्फत गर्न, घरमा समेत सुरक्षा तथा स्वास्थ्य मापदण्ड अबलम्बन गरेर मात्र दैनिक जीवन सञ्चालन गर्न सुचना मार्फत आग्रह गरिएको छ ।
भिडभाडबाट कोभिड–१९ को संक्रमण फैलन सक्ने भएकाले अतिआवश्यक काम नभई हाटबजार, सरकारी कार्यालयहरुमा सेवा लिन नजान, सेवा लिन नगई नहुने अवस्थामा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्न प्रजिअ शर्माले आग्रह गर्नुभएको छ ।
जिल्लाभित्र सवारी साधन चलाउँदा, सुरक्षा र स्वास्थ्य सम्बन्धी मापदण्ड अनुरूप काम गर्ने, निजि तथा सार्वजनिक यातयातमा तोकिए भन्दा बढी भाडा नलिन, र लिएको पाइमा प्रचलित कानुन बमोजिक कारर्वाही गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
१२ वर्ष मुनिका बालबालिका ६० वर्ष माथिका व्यक्तिहरु तथा दिर्ग रोग लागेका व्यक्तिहरुलाई संक्रमणको जोखिम बढि हुने हुँदा त्यस्ता व्यक्तिहरुलाई, घर बाहिर निस्कन नदिन पनि अनुरोध गरिएको छ ।
माक्स लगाउन प्रेरित गर्ने, तथा जनस्वास्थ्य मापदण्डको पालना गराउने उद्देश्यले सदरमुकाम प्रवेश गर्ने जिल्लाका मुख्य–मुख्य स्थानहरुमा सुरक्षा निकाय तथा स्थानीयतहरुको समन्व्यमा सचेतना अभियान अभिवृद्धि गर्ने बताईएको छ । यसरी सचेत गराउँदा लुकि छिपि आउने जनस्वास्थ्य मापदण्ड तथा सुरक्षा आपदण्ड उल्लङघन गरेको पाइमा कारवाहीको दायरामा ल्याइने सुचनामा उल्लेख छ ।