आईसीयू र भेन्टिलेटर अभाव हुने थाल्यो
जटिल बिरामीले उपचार पाउन कठिन
काठमाण्डौ । कोभिड–१९ का जटिल बिरामी बढ्दै जाँदा सरकारले आईसीयू र भेन्टिलेटर तथा जनशक्ति व्यवस्था गर्न ध्यान दिएको छैन । आज भोलि समय सघन उपचार चाहिने संक्रमित बढ्न थालेकाले चाँडै आईसीयू र भेन्टिलेटर अभाव हुन देखिएको छ ।
पर्याप्त जनशक्ति नभएका कारण अहिले भएका कतिपय आईसीयू र भेन्टिलेटर पूर्ण रूपमा सञ्चालन हुन सक्ने अवस्थामा छैनन् ।
नारायणी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. मदनकुमार उपाध्यायले आईसीयूका लागि तालिम प्राप्त जनशक्ति नभएको बताए । हाम्रो यत्रो ठूलो अस्पतालमा एक जना मात्र एनेस्थेसियोलोजिस्ट छन्, भेन्टिलेटर र आईसीयूमा सघाउन छात्रवृत्ति करारमा आएका एक जना आफैं कोरोना संक्रमित भएका छन् । उनका अनुसार कोभिड–१९ का लागि नारायणी अस्पतालमा पाँच शय्याको आईसीयू र पाँचवटा भेन्टिलेटर छन् । अस्थायी कोभिड अस्पतालमा १० वटा आईसीयू शय्या र तीनवटा भेन्टिलेटर छन् ।
विराटनगरको कोसी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले पाँचवटा भेन्टिलेटर छन तर उपयुक्त जनशक्ति अभावकोले सञ्चालनमा नरहेको बताए ।
जनकपुर प्रादेशिक अस्पतालका कोभिड–१९ संयोजक डा. जामुन सिंहले संक्रमितलाई सघन उपचार सेवा दिन समस्या आईरहेको बताए । डा. सिंहका अनुसार उक्त अस्पतालको जनरलतर्फका भेन्टिलेटर र आईसीयू सेवा कर्मचारी संक्रमित भएपछि प्रभावित भएको छ ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रा. डा. सञ्जीवकुमार शर्माले आईसीयू शय्या र भेन्टिलेटर पर्याप्त नरहेको बताए । बीपीमा १५ वटा आईसीयू शय्या र १५ वटा भेन्टिलेटर छन् । बिरामीको चाप बढेकाले धान्ने अवस्था छैन ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागरकुमार राजभण्डारीले कोरोनाका जटिल बिरामीको संख्या वृद्घि हुँदै जाँदा चिकित्सा क्षेत्रका सामान्य स्नातकदेखि अन्य विषयका विज्ञलाई समेत सघन उपचारमा लगाउनुपर्ने अवस्था आउन सक्ने बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार कोभिड–१९ का लागि मुलुकभर ९ सय ४२ आईसीयू शय्या र ४ सय ९६ वटा भेन्टिलेटर व्यवस्था गरिएको छ । प्रदेश १ मा ४३ आईसीयू शय्या र १९ भेन्टिलेटर, प्रदेश २ मा ४५ आईसीयू शय्या र १७ भेन्टिलेटर, वाग्मतीमा ६ सय ३० आईसीयू शय्या र ३ सय ६१ भेन्टिलेटर कोभिड–१९ उपचारका लागि छुट्याइएको छ । यस्तै, गण्डकीमा १ सय ३७ आईसीयू शय्या र ५९ भेन्टिलेटर, प्रदेश ५ मा २९ आईसीयू शय्या र १३ भेन्टिलेटर, कर्णालीमा ४० आईसीयू शय्या र १७ भेन्टिलेटर, सुदूरपश्चिममा १८ आईसीयू शय्या र १० भेन्टिलेटर छुट्याइएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबारसम्म ९१ जना आईसीयूमा उपचाररत छन् । प्रदेश २ मा ४३, वाग्मती प्रदेशमा ३८, प्रदेश ५ मा ९ जना र गण्डकी प्रदेशमा एक जना आईसीयूमा छन् । वाग्मतीमा पाँच जना भेन्टिलेटरमा छन् ।
अव सरकारले बिरामीको चापलाई ध्यान दिई यसको थप व्यवस्थापन गर्नु पर्ने देखिन्छ । यो समयमा संक्रमण प्रभावित क्षेत्रमा थप कडाईका साथ सिल वा कर्फु नै लगाउन सरकार सक्रिय बन्नु पर्छ नत्र यो भयावहलाई रोक्न सकिने छैन ।