अन्तरिक्ष हुलाकबाट कोरोनालाई चिठी
प्रिय कोरोना,
चीनको वुहानबाट शुरु भएको तिम्रो यात्रा इरान, कोरिया र इटली हुँदै संसारभरि पुगिसक्यो । अरूको यात्राले ठाउँ छोड्दै आउँछ, तिम्रो यात्राले ठाउँ छाड्नुको सट्टा फैलिदो रूप लिएको छ । धन्य छ तिमीलाई कसरी भनूँ जबकि तिम्रो यात्राको कहर विश्वका मानिसका लागि ‘जहर’ भएको छ । मैले नेपालमा पनि तिमी आउँछ्यौ भन्ने अनुमान नलगाएको होइन तर यति लामो समय अडिन सक्ने सम्भावना देखेको थिइन । सत्ता र शक्तिका लागि हजारौंको बलि चढाएका र अझै पनि चढाउन तयार नेता भएको देशमा तिमीलाई पनि सजिलै बलि चढाउलान् भन्ने लागेको थियो । तर जनतालाई अभिशाप भएको तिम्रो यात्रा नेतालाई बरदान भएको देख्ता फेरि ताजुब लागेको छ, आश्चर्यमा छु । तिम्रो नाममा नेता उपाधिका ठूला मान्छे र व्यापारी दिमागका बाठा मान्छेले धेरै कमाइसके र कमाइरहेका छन् । पीसीआर परीक्षण मसिन र पीपीईका सामान खरीदमा कमिशन । क्वारेन्टाइन र कोरोना अस्पतालका नाममा करोडौं कुम्ल्याउन सफल भएका समाचार आएका छन् । सबै समाचार जस्ताको तस्तै सत्य नहोलान् तर कैयन् समाचार सत्य बाहिर छैनन् ।
शुरुमा त लागेको थियो पापीहरूको नास गरेर धर्मात्मीहरूको रक्षा गर्न माता कालीको रूप लिएर आएकी हौली । निर्मला पन्तका हत्यारालाई घाँटी पासो लाउली । मदन भण्डारी र जीवराज आश्रितको हत्याको रहस्य खोलौली । राजा वीरेन्द्र र परिवारका हत्यारा पत्ता लगाएर हदैसम्मको कार्वाही गरौली । नेपाली भूभागभित्र पसेर र बसेर साम्राज्यवाद र विस्तारवादको शासन चलाउन खोज्नेलाई ठेगान लगाउली । नेपाली भएर विदेशी एजेन्टका रूपमा काम गरेर देशको स्वाभिमान, सार्वभौमिकता र अखण्डतामाथि आँच पुग्नेखालका गुप्तचरि गर्नेलाई तह लाउली । भ्रष्टाचारी, कमिशनखोर र माफियाहरूलाई ठाउँको ठाउँ मुन्ट्याउली । अन्य हत्यारा, बलात्कारी र आतंकवादीहरूलाई पनि त्रिशुल कार्वाही गरौली । नेपाल र नेपालीको हित नचाहने विदेशीको बुई चढेर सत्तास्वार्थका लागि जे पनि गर्न तयार हुने अराजनीतिक चरित्रका नेतामाथि सुदर्शन चक्र चलाउली । न्यायमूर्ति भएर अन्याय गर्नेलाई, अख्तियारमा बसेर आफै अख्तियारी दुरुपयोग गर्नेलाई पनि कडा कार्वाही गरौली । मैले देखेको सपनामा तिमीले भनेकी थियौ तिमीले देश र जनताको हितका लागि जे सोंचेका छौ म त्यहीँ गर्छु । मैले सपनामै भनिदिएँ त्यसो भए तिमीलाई हाम्रो देशमा स्वागत छ । तर तिमी माता काली नभएर फटाइ जाली पो रहिछ्यौ ।
सुन्दर सपना देखेको खुसियाली बाँड्न नपाउँदै तिमीले हाम्रो जस्तो विकासोन्मुख देशलाई भूकम्पले भन्दा बढी ध्वस्त पा¥यौ । दीर्घ रोग बनेर आयौ, भोकले सताउन लायौ, शोकले अत्याउन भ्यायौ तैपनि हराउने, बिलाउने सुर गर्दिनौ । तिमीलाई हाम्रा नेतासँग डर नभए पनि वीर गोर्खालीको उपाधिसँग त डर हुनुपर्ने हो । शान्तिका अग्रदूत भगवान गौतमबुद्ध जन्मेको देशमा बुद्धत्वसँग लाज हुनुपर्ने हो । संसारको उच्च शिखर सगरमाथाको फेंदीमा फिरन्ते हुँदा सरमले मर्नुपर्ने हो ।
कोभिड १९ को नामबाट पनि चिनिएकी कोरोना,
तिम्रो आतंकको भयबाट मुक्ति पाउन अरू देशमा जस्तैजस्तै हाम्रो देशमा के भएन र ! मास्क लाउन लजाउनेदेखि अप्ठ्यारो मान्नेसम्मले मन नलाए पनि मास्क लगाए र लाउँदै पनि छन् । त्यहीँ मास्कमा पनि कालाबजारी गर्नेले गरे । सरकारले कतिलाई पक्रेर कार्वाही ग¥यो । एकबाट अर्को जिल्लामा जान नपाइने निर्देशन भयो । परदेश गएका आउन पाएनन्, स्वदेश आएका जान पाएनन् । सडक यातायात र हवाई यातायात सबैजसो रोकिए । क्रमशः देशभरि एकैपटक लकडाउन भयो । लकडाउनका सुरुवाती समय त्रासका बीच पनि आसले भरिएका थिए । यो अवस्था धेरै समय नरहला भन्ने लागेको थियो । सकारात्मक सोचबाट हेर्ने हो भने डुलुवा पुरुषलाई कोठाभित्र थुन्दा कैयन् महिला दिदीबैनी खुशी भएका थिए । बाबुआमासँग पर भएका छोराछोरी घर सम्झेर फर्कंदा कति बाबुआमाको मन खुशीले गद्गद् भएको थियो । संयुक्त परिवार तथा कृषि र पशुपालनको महत्व बढेको थियो । बाबुआमा र छोराछोरीको सम्बन्ध थप गाढा भएको थियो । यद्यपि यो सामान्यबाट असामान्य परिस्थितिमा भएकाले स्वाभाविक र निरन्तर सकारात्मक होइन । करिब चार महिना कायम लकडाउनले देशको आर्थिक अवस्था जर्जर पारेको थियो । यस अवस्थामा पनि केही राजस्व उठ्छ कि भनेर अनि रोगले भन्दा भोकले, भोकले भन्दा शोकले मर्ने अवस्था बढेपछि सरकारले लकडाउन हटाउन बाध्य भयो ।
अधिकांश सर्वसाधारणले लकडाउनको आचारसंहिता पालना नगर्नु, पीसीआर परीक्षणको गति बढाउन नसक्नु, क्वारेन्टाइनको समुचित व्यवस्था नहुनु, चिकित्सकीय सेवाको अभाव रहनु, ठाउँ ठाउँमा पठाइएका पीसीआर परीक्षण मशिनले काम नगर्नु, घरेलु उपचार र अन्य चेतनामूलक सामग्रीको बेवास्ता गर्नु, सत्तासीन दल र प्रतिपक्षी दलहरू पनि आ–आफ्नै स्वार्थमा आत्मकेन्द्रित हुनु, सुरुवाती अवस्था स्वास्थ्यसम्बन्धी पूर्वाधारको कमि, रोग पहिचानमा समस्या, महामारी व्यवस्थापनमा रणनीतिक अन्योल पहिलो लकडाउन अवधिसम्मका कम्जोरी रहे । लकडाउन खुकुलो भएको महिनादिन नपुग्दै संक्रमित र मृतकको संख्या ह्वात्तै बढेपछि फेरि क्रमशः देश लकडाउनको संकटमा छ । अर्थात् अहिले लकडाउनको सिजन २ चल्दैछ । लकडाउन सिजन १ असफल भएको तीतो विगतलाई बिर्साउन अब कुनै हालतमा कुनै पनि तह र तप्काबाट अघिल्ला गल्ति दोहोरिनु हुन्न । थप सचेत र सतर्क रहँदै यसको सामना गर्नुपर्छ । विदेशी औषधि, खोप वा भ्याक्सिनको प्रतीक्षामात्र नगरेर स्वदेशमै घरेलु औषधिको अध्ययन, अनुसन्धान र खोजी कार्यलाई पनि महत्व दिनु पर्छ । त्यसका लागि सरकारी संयन्त्रबाट पहल हुनु जरुरी छ ।
अन्तमा, तिमीलाई यत्ति भन्न चाहन्छु कि नआउनु थियो झुक्क्याएर आयौ, जाऊ भन्दा मानिनौ, न यहाँका नेतासित डरायौ, न चिकित्सकसित न जनतासित । तिमीलाई अब सके वैद्यले धपाउने छन् नसके कविराजले । सुखमा नमात्तिएर र दुःखमा नआत्तिएर बस्न सक्ने सहिष्णु नेपाली त्यहीँ दिनको प्रतीक्षालाई सफल पार्न प्रयासरत रहने छन् । यो मेरो अर्को सपना हो जुन बेनिंदको हो ।
उहीँ तिम्रो सपनाको राजकुमार