आलिया अभिनित चलचित्रलाई झण्डै एक करोड १० लाखले गरे डिसलाइक (ट्रेलरसहित)

काठमाडौं । आलिया भट्ट अभिनित चलचित्र ‘सडक २’ को ट्रेलर मंगलबार मात्र युट्युबमा सार्वजनिक भएको थियो । हालसम्म उक्त भिडियोलाई ५ करोड ३० लाखभन्दा बढीले हेरेका छन् । तर यस भिडियोलाई मानिसहरुले मन पराएका छैनन् ।
हालसम्म ५ लाख ४९ हजारले यस भिडियोमा लाइक गर्दा झण्डै एक करोड १० लाख ७३ हजारभन्दा बढीले डिसलाइक गरेका छन् । सवैभन्दा बढी डिसलाईक पाउने चलचित्र सायद यही हुन सक्छ ।
गत जुनमा बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको थियो । उनले आत्महत्या गरेका थिए । उनको मृत्युपछि भारतमा नेपोटिज्मको बहस चर्किएको थियो । जसका कारण आलिया भट्ट लगायत बलिउडकर्मीका छोराछोरी जो कलाकार हुन् दर्शकले उनीहरुको आलोचना गरेका थिए ।
सामाजिक सन्जालमा उनीहरुको फलोवर पनि घटेको थियो । सुशान्त सिंहले आत्महत्या गर्नुको पछाडि नेपोटिज्म कारण भएको धेरैको टिप्पणी छ । नातावादकै कारण सुशान्तलाई विभिन्न चलचित्रबाट बहिष्कार गरिएको पनि बताइन्छ ।
सुशान्तको मृत्युपछि आलिया भट्ट र उनका परिवार सर्वाधिक आलोचित बनेकामध्ये एक थिए ।
‘सडक २’ चलचित्र पनि भट्ट परिवारकै प्रोजेक्ट भएकाले मानिसहरुले ट्रेलरमा धेरै डिसलाइक गरेको अनुमान गरिएको छ ।
महेश भट्टको निर्देशनमा मुकेश भट्टले निर्माण गरेको यो चलचित्रमा संजय दत्त, पूजा भट्ट, आलिया भट्ट, आदित्य रोय कपुर लगायतका कलाकारको अभिनय छ ।