गुल्मीको मालिका गाउँपालिका कृषिमा अब्बल
गुल्मीको मालिका गाउँपालिका कृषिमा अब्बल देखिन थालेको छ । कृषकहरुको प्रोत्साहनका लागि उत्पादनमा आधारित अनुदान वितरण शुरु गरेसँगै कृषिमा अब्बल देखिन थालेको हो । त्यस गाउँपालिकाले उत्पादनमा आधारित अनुदान वितरण शुरु गरे पछि कृषकहरु उत्साहित भएका छन् । मालिका गाउँपालिकाले गत वर्ष देखि उत्पादनमा आधारित अनुदान वितरण गर्न शुरु गरेको हो ।
गाउँपालिकाका प्रवक्ता शोभाखर गिरीले यस आर्थीक वर्षको सुरुवाती चरणमा नै गाउँपालिकाले १६ लाख ३४ हजार रुपैँया कृषकलाई अनुदान वितरण गरेको बताए ।गाउँपालिकाले सहकारी मार्फत अनुदान वितरण गर्दै आएको गिरीको भनाई छ । अनुदानबाट यो आर्थीक वर्षमा मात्रै १ सय २४ जना कृषक लाभान्वित भएको उनले जानकारी दिए ।
कृषकले उत्पादन गरेको कृषि उपज खेर जान नदिन, कृषकलाई सहि मुल्य दिन, पशुपालन तथा कृषि क्षेत्रमा गाउँपालिकालाई आत्मनिर्भर वनाउनको लागि गाउँपालिकाले यस्तो कदम चालेको बताईएको छ ।
मासुमा आत्मनिर्भर वनाउनको लागि गाउँपालिकाले कृषकले उत्पादन गरेको मासुमा प्रतिकिलो १ सयका दरले अनुदान दिदैँ आएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिपक भण्डारीले कुनै कृषकले कम्तीमा १ सय किलो मासु उत्पादन गरेमा प्रति केजी १ सयका दरले अनुदान पाउने बताए ।
कुनै कृषकले बोका तथा खसीको कम्तीमा १ सय किलो मासु उत्पादन गरेमा उक्त कृषकले १० हजार अनुदान पाउने छन् । अनुदान पाउनको लागि गाउँपालिका भित्रका कृषकहरुले गाउँपालिकामा रहेको सहकारी मार्फत कृषि उपज तथा खसी बोका बेच्नु पर्ने हुन्छ ।
गाउँपालिकाको यो कार्यक्रमले गाउँपालिका भित्र कुषि र पशु क्षेत्रमा कृषकको आर्कषण बढ्दो छ । यस अनुदानले गाउँपालिका भित्रका नेटा, दर्लिङ्ग , अर्खवाङ्ग, छापहिले, अर्जै, घमिर र मर्भुङ्ग वडाका कृषकहरु हर्षित छन् ।
गाउँपालिकाले मासुमा प्रतिकिलो १ सय, दुधमा प्रति लिटर ५, अण्डा प्रतिगोटा २का दरले अनुदान दिदँै आएको छ । गाउँपालिकाले यसवर्ष पनि उत्पादनमा आधारित अनुदानको लागि ३० लाख रकम विनियोजन गरेको छ ।