डाक्टर र नर्समै बढ्दो कोरोना संक्रमण

संक्रमण भयावह बन्न सक्ने सम्भावना

काठमाण्डौ । चितवनमा डाक्टर र नर्ससहित एकैदिन २७ जना र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका ५ जना नर्स गरि जम्मा ३२ जनामाकोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा शनिबार राति अवेरसम्म गरिएको परीक्षणमा चितवनका २७ जनामा कोरोना संक्रमण एकिन भएको हो । साथै सर्लाहीका थप एक जना बिरामीमा पनि संक्रमण भएको पाइएको छ । साथै संक्रमित हुनेमा बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका चिकित्सक र नर्सहरु छन् ।

संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाका मात्रै २१ जना छन् । भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरी गरिएको परीक्षणमा भरतपुर वडा नं ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

चितवनको रत्ननगरका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टिनमा रहेका रत्ननगर नगरपालिका–५ र १२ का ३ पुरुष र एक महिला, चितवनकै खैरहनी नगरपालिका–८ का ३९ र ४५ वर्षीय पुरुषमा संक्रमण देखिएको छ ।

शनिबार राति कुल ४७४ नमुना परीक्षण गरिएकोमा ४४६ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।