रोकिएन बर्षात्, सरकार चनाखो बन्

सम्पादकीय

यो साल औसत बिगत बर्षहरुमा भन्दा बढी नै बर्षात भएको छ । यही कारण मुलुकमा बाढी, पहिरोको जोखिम उत्तिकै बढेको छ । प्रायः साउन र भदौ महिनामा हुने बर्षात यो साल जेठ महिनाबाट नै शुरु भएको थियो । जेठ र असारको पहिलो हप्तामा पहाडमा गएको पहिरो र तराईका जिल्लामा आएको बाढीका कारण ठुलो धनजनको क्षति हुनपुगेको छ । बारम्वारको बर्षातका कारण चलेको पहिरोले सिन्धुपाल्चोक र कालिकोट जिल्ला अहिले नराम्ररी प्रभावित बन्न पुगेका छन् । शुक्रवार राती परेको अबिरल बर्षाले सिन्धुपाल्चोकमा ११ जनाको ज्यान लिएको छ । यसैगरी पहिरोमा परेर २७ जना बेपत्ता भएका छन् । उता कालिकोट जिल्लामा पनि सोही रात परेको अबिरल बर्षाले एकै परिवारका छ जनाको ज्यान लिएको छ ।
सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका २ लिदी गाउँमा शुक्रवार बिहान भिषण पहिरो गएको थियो । सो गाउँमा तामाङ बाहुल्य समुदायको बस्ती रहेको छ । शुक्रवार गएको पहिरोमा परेर ३८ जना बेपत्ता भएका थिए । ती मध्ये शुक्रवार ११ जनाको शव निकालिएको थियो भने शनिवार बिहान थप दुईवटा गरी १३ शव भेटिएका छन् । भेटिएका सवै शवको पहिचान गरी सनाखत गरेर व्यवस्थापनका लागि जिम्मा लगाउने काम भइसकेको जानकारी प्रमुख जिल्ला अधिकारीले दिएका छन् । पहिरोमा परी हराइरहेका २५ जनाको खोजी र उद्दार कार्य जारी राखिएको बताइएको छ । यसैगरी कालिकोट जिल्लाको महावै गाउँपालिका ३ मा पहिरोले घर पुरिदा एकै परिवारका चारसहित ६ जनाको मृत्यु भएको छ । वडा नम्वर ३ का वडा सदस्य राजबहादुर बिष्टको घर पहिरोले पुरिदा सुतिरहेका चार छोराछोरीसहित छिमेकीका अन्य दुई किशोरीको पनि मृत्यु भएको छ ।
सरकारले शुक्रवार पहिरोमा परी ज्यान गुमाउने परिवार र पहिरो पीडितहरुका लागि राहत सामाग्री उपलव्ध गराएको छ । घटनालगत्तै संसदका सभामुख अग्निप्रसाद सापकोटा घटनास्थल अवलोकनका लागि हेलिकोप्टर लिएर सिन्धुपाल्चोकको लिदी गाउँ पुगेका थिए । लगत्तै गृहमन्त्री रामबहादुर थापा पनि राहत सामाग्रीसहित पहिरो पीडित परिवारकहाँ पुगेका छन् । उनले पीडित परिवालाई तत्काल १५ हजार नगदसहित खाद्यान्न र पाल बितरण गरेका छन् । पहिरोमा परी घाइते भएकाहरुलाई हेलिकोप्टर मार्फत उद्दार गरेर काठमाडौ ल्याई उपचार गर्ने कार्य भइरहेको छ । शुक्रबारको घटनामा सरकारले तत्काल र समयमा उद्धार र खोजीकार्यलाई तिब्रता दिएकोले पनि घाइतेहरुले समयमा उपचार पाउन सकेका छन् । साथै पहिरो पीडितहरुले थोरै भएपनि सरकारको तर्फबाट बेलैमा राहत पाउन सकेका छन् । यस कार्यबाट पीडितले मुलुकमा सरकार भएको महसुुस गर्न सकेका छन् । लिदीमा रहेका ६० घर मध्ये ३७ घर पहिरोका कारण ध्वस्त भएका छन् । उनीहरुलाई सरकारले बलियो स्थानमा बस्ती सारेर भएपनि व्यवस्थापन गर्नैपर्छ । नत्रभने पहिरोको जोखिम बढेर सर्वसाधारण नागरिकको थप बिजोक बेहोर्नुपर्ने हुन्छ । संभावित जोखिमयुक्त स्थानहरुको पहिचान गरी बेलैमा सजगता अपाउन अब सरकारले ढिला गर्नुहुँदैन । जति ढिला भयो त्यसको मार गरीव निमुखा जनताले खेप्नुपर्नेछ । त्यसका लागि स्थानीय, प्रादेशिक र केन्द्र सरकारले समन्वय गरी समयमा ध्यान दिन सक्नुपर्छ ।