आज एसईईको नतिजा सार्वजनिक हुँदै

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक हुने भएको छ । नतिजा सार्वजनिक गर्ने विषयमा छलफल गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बसिरहेको छ । केही बेरमै नतिजा प्रकाशन हुने स्रोतले जानकारी दिएको छ ।

नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बढ्दै गएकोले एक हप्ता पहिला नै सम्पूर्ण तयारी सकिए पनि नतिजा प्रकाशनमा ढिलाइ भएको बोर्डका परीक्षा नियन्त्रक रामराजा खकुरेलले जानकारी दिए ।

गत चैत ६ गतेका लागि निर्धारित एसईई कोभिड–१९ का कारण अन्तिम समयमा स्थगित भएको थियो । परीक्षा स्थगित भएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको हो । मूल्यांकनको तरिका फरक भए पनि गतवर्ष जसरी नै नतिजा सार्वजनिक हुने बोर्डले जानकारी दिएको छ ।

देशभर एसईईका लागि ४ लाख ८२ हजार २१९ विद्यार्थीले आवेदन फर्म भरेका थिए ।