महाधिवेशन सार्ने देउवाको दाउ
काठमाडौं । आन्तरिक विवाद र कोरोना संक्रमणको कारण देखाएर नेपाली कांग्रेसको १४ औं महाधिवेशन स्थगित हुने अनुमान गर्न थालिएको छ । फागुनमा तोकिएको महाधिवेशनको मिति सारेर ०७८ भदौसम्ममा महाधिवेशन गर्ने आन्तरिक तयारी र गृहकार्य शुरु भएको कांग्रेस सभापत शेरबहादुर देउवा निकटस्थ एक नेताले बताएका छन् । फागुन ७ गतेदेखि महाधिवेशन गर्ने निर्णय गरिएपनि आन्तरिक कुरा मिलाउन नसक्ला मिति सार्नुपर्ने अवस्था आएको हुन सक्ने ती नेताले बताएका छन् ।
०७७ फागुनमै महाधिवेशन गर्ने कि २०७८ भदौमा भन्ने कुरा पार्टीको आधिकारिक वैठकले निर्णय गर्नुपर्ने हुन्छ । तर पार्टीभित्रको अन्तरकलहले कस्तो रुप लिन्छ भन्ने स्पष्ट भइसकेको छैन । सभापति शेरबहादुर देउवाका आलोचकहरुले हालसम्म देउवाले गरेका निर्णय उल्ट्याउनुपर्ने माग गरेका छन् । उनीहरुले महाधिवेशनमा आफूलाई प्रवल बनाउन देउवाले योजनाबद्धढंगले पार्टी विधानविरुद्ध काम गरिरहेको आरोप लगाएका छन् ।
देउवा विरोधीहरु मोर्चाबन्दी गरेर उनलाई विस्थापित गर्ने दाउमा छन् भने शेरबहादुर देउवाले आफ्नो स्थिति बलियो बनाउन विरोधका वीच पनि विभिन्न भ्रातृ संगठन तथा विभागहरु पुनर्गठन गरेर नेता, कार्यकर्ताहरुलाई आफूतिर आकर्षित गरिरहेका छन् ।
पार्टीका उपसभापति विमलेन्द्र निधिले आफू सभापति पदमा लड्ने संकेत गरेका छन् । उनले सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेललाई आफूलाई सभापति बनाउन सहयोग गर्न आग्रह गरेपछि देउवा अप्ठ्यारोमा परेका छन् ।
देउवालाई विस्थापित गरेर आफू सभापति हुन चाहनेहरुको संख्या बढ्दै गएको छ । रामचन्द्र पौडेल, शेखर कोइराला, शशांक कोइराला, कृष्ण सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, गगन थापालगायतका नेताहरुले सभापति हुने इच्छा व्यक्त गरेका छन् ।
देउवा खेमाका महारथी भनेर चिनिएका निधीले सभापति हुने इच्छा व्यक्त गरेपछि देउवालाई झड्का लाग्नु स्वभाविक पनि हो । देउवालाई भेटेर निधीले आफू सभापति बन्न चाहेको जानकारी गराएका थिए । उनले कम्युनिष्ट सरकारले लोकतान्त्रिक गणतन्त्र समाप्त पार्न खोजेको भन्दै यसलाई वचाउन आउँदो चुनावमा कांग्रेसले जित्नै पर्ने र आफूले त्यसको जिम्मेवारी लिएर पार्टीलाई जिताउने समेत निधीले दावी गरेका छन् । निधिको यो दावीलाई धेरैले हाँस्यास्पद पनि भनेका छन् । विगतको चुनावमा आफै पराजित भएका निधिले पार्टीलाई कसरी जिताउँछन् भन्ने प्रश्न गरेका छन् ।
निधीको प्रस्ताव सुनेपछि देउवाले १५ औं महाधिवेशनमा म तिमीलाई सभापति बनाउन मद्दत गर्छु भनेका थिए । तर निधीले आफू त्यसबेला ७० वर्षको भइसक्ने भन्दै उमेरका कारण पनि सभापति हुन नसकिने भएकाले अहिले नै सभापतिमा सहयोग गर्न आग्र गरेको बताइएको छ ।
कांग्रेसको आन्तरिक कलहको फाइदा उठाएर अन्त्यमा देउवाकै तराजु भारी हुने रानीतिक विश्लेषकहरु बताउँछन् । उनका प्रतिस्पर्धी भनिएका विभिन्न नेताहरुबीचमा वैमनस्य बढ्दै गएको र विभिन्न भ्रातृ संगठनमा देउवाको प्रभाव बलियो भएकाले महाधिवेशनमा उनीहरुले स्थायी व्यक्तित्वका रुपमा देउवालाई नै छान्न सक्ने सम्भावना बढेको छ ।
नेतृत्वमा जो आएपनि आन्तरिक विवाद अन्त्य हुन आवश्यक छ । नत्र पार्टीले गति लिन सक्दैन । मातृकाप्रसाद कोइराला र वीपी कोइरालाबीच पदको वाँडफाँड नमिल्दा २०१०÷०११ सालदेखि नै कांग्रेसभित्र कलह शुरु भएको थियो । २००९ सालमा मातृकाप्रसाद कोइराला प्रधानमन्त्री भएपिछ वीपी कोइरालाले मातृकाले प्रम र पार्टी सभापतिमध्ये एउटा छोड्नु पर्ने माग गरेका थिए । दाजुभाईको झगडाले पार्टी ध्रुविकृत हुँदै जाँदा कालान्तरमा नेपाली कांग्रेसलाई विदा गरेर मातृका प्रसाद कोइरालाले राजा महेन्द्रसँग निकट भएर काम गरेका थिए ।
अहिले पनि देउवा र रामचन्द्र पौडेल गुटको तनावले कैयन पुराना नेता, कार्यकर्ता विरक्तिएका छन् । यसले पार्टीलाई मुलबाटोबाट विचलित गराउँदै अर्कैतिर लैजान्छ कि भन्ने आशंका समेत बढेको देखिन्छ । कतिपयले त कांग्रेस चीनको कोमिन्ताङ पार्टी जस्तो कमजोर हुन सक्ने कठोर विश्लेषण समेत गरेका छन् । अहिलेको अवस्था हेर्दा भविष्यमा कांग्रेस बलियो भइहाल्ने सम्भावना कमजोर हुँदै गएको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ ।