नेकपाको सचिवालय वैठक १३ गते

कार्यदलको प्रतिवेदनप्रति नेपाल समूहको असन्तुष्टि

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय वैठक यही १३ गते बस्ने भएको छ । आज अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्ताले वैठकको मिति तोकेको हो ।
अध्यक्षद्वयबीच भदौ १३ गते बिहान ११ बजे सचिवालय बैठक बस्ने सहमति भएको बताइएको छ।
यसअघि गत भदौ १ गते सचिवालय बैठक बसेको थियो। सो बैठकले कार्यदललाई अनुमोदन गरेको थियो। कार्यदलले प्रतिवेदन बुझाइ सकेको छ। ‍अध्यक्षद्वयले अध्ययन गरिरहेको प्रतिवेदन सचिवालय हुँदै स्थायी कमिटीमा छलफल गराइने छ।
कार्यदलको प्रतिवेदनबाट प्रधानमन्त्री केपी शर्मा ओली पक्ष उत्साहित र माधवकुमार नेपाल पक्ष निराश देखिएको छ।
अध्यक्ष पुष्पकमल दाहालको समूह भने कार्यदलको सुझाव कसरी कार्यान्वयन हुन्छ, त्यसलाई हेर्ने पक्षमा देखिएको छ।
महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले प्रधानमन्त्री ओली पूरै कार्यकाल प्रधानमन्त्री हुने र पार्टीभित्र पनि उनको भूमिका कायम रहनेगरी प्रतिवेदन तयार गरेको छ।
त्यस्तै, प्रतिवेदनमा प्रधानमन्त्री ओली, कार्यकारी अध्यक्ष दाहाल र महासचिव पौडेलबीचको छलफलपछि मात्रै सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकका प्रस्तावहरु तय हुने उल्लेख छ। यसले पार्टीको बैठकमा प्रस्तुत हुने एजेन्डामा प्रधानमन्त्री ओलीको सहमति लिनैपर्ने सुनिश्चित गरेको छ।
नेपालनिकट स्थायी कमिटीका एक जना प्रभावशाली सदस्यले कार्यदलको प्रतिवेदन निराशाजनक भएको प्रतिक्रिया दिए। प्रतिवेदनप्रति सचिवालयका सदस्य तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल र माधवकुमार नेपाल असन्तुष्ट देखिएका छैनन् ।
कार्यदलले गरेको प्रस्ताव कार्यान्वयन भए कार्यकारी अध्यक्ष दाहालको भूमिका पार्टीभित्र बढ्ने छ। तर नेपाल निकट अर्का स्थायी कमिटी सदस्यले कार्यदलले गरेको प्रस्ताव कार्यान्वयन हुनेमा नै शंका व्यक्त गरेका छन्।
‘विगतमा पनि सहमति भएर कार्यान्वयन नभएका धेरै विषय छन्।