‘पाँचवर्ष भित्र शिक्षा र स्वास्थ्य क्षेत्रमा आमुल परिवर्तन भइसक्छ’

- शेरबहादुर लिम्बु, अध्यक्ष, छथर जोरपाटी गाउँपालिका, धनकुटा

कृषि बालीका साथै पशुपालन, तरकारी, दुध र फलफुलको लागि यो गाउँपालिका जिल्लाकै उदारणीय र नमुना मानिन्छ । प्रधानमन्त्री रोजगार जोनको कार्यालयसमेत यही गाउँपालिकामा रहेको छ । तरकारी, फलफुल, मासु र दुध उत्पादनको लागि उर्वर रहेकोले पनि हामीले त्यसतर्फ पालिकाको बजेट लगानी गरेको बताउँछन अध्यक्ष लिम्बु । दुध उत्पादको लागि धनकुटा जिल्लाकै पकेट क्षेत्र मानिन्छ । दैनिक १० देखि १२ हजार लिटर दुध संकलन हुने र संकलित दुध कामधेनु डेरी र दुग्ध बिकास संस्थानले खरिद गर्दै गर्ने गरेको उनको भनाई छ ।
कृषि र पशुपालनका लागि अत्यन्तै संभावना भएकोले यो बर्ष फलफुलका बिरुवासमेत बितरण गरेका छौं । यसको लागि आवश्यक पर्ने पुर्वाधार निर्माण र सिंचाईंको लागि पालिकाले कुलो निर्माण र मर्मतका लागि झण्डै सवा करोड रकम बिनियोजन गरेको अध्यक्ष्य लिम्बु बताउँछन । पर्यटन आकर्षनको लागि पनि यो पालिका अत्यन्तै संभावनायुक्त रहेको उनको दावी छ । यी र यस्तै समसामयिक बिषयमा केन्द्रित रहेर अध्यक्ष लिम्बुसँग रेसुङगा टुडे साप्ताहिकले गरेको कुराकानीको मुख्य अंश : संम्पादक

तपाईं यस गाउँपालिकाको अध्यक्षमा निवार्चित भईसकेपछि गर्नुभएका मुख्य मुख्य कामहरु के के हुन ?
शुरुमा हामी निर्वाचित भएर आएपछि बिकास निर्माणका लागि आवश्यक पर्ने पुर्वाधार ऐनहरु जारी गरयौ । त्यसपछि सडक निर्माण गर्दा पनि बर्गिकरणका आधारमा काम अगाडि बढाएका छौं । मुख्य सडक कृषि, ग्रामिण, बस्ती, गोरेटोलगायत भनेर वर्गीकरण गरेका छौं । यी सडकको पनि मापदण्ड तयार पारेका छौं । त्यसै अनुरुप कुन ठाउँलाई कति मिटरको सडक बनाउन आवश्य छ भन्ने कुरा मापदण्डमा तोकेका छौं । यो काम हामीले पहिलो वर्ष अर्थात निर्वाचित भए लगत्तै शुरु गरेका थियौं । यो बिचमा हामीले करिव तीस किलोमिटर सडक ग्राभेलिङ गरीसक्यौ ।
यसैगरी कालोपत्रे पीच सडक साँढे दुईकिलोमिटर जति तयार गरेका छौं । यी काम हामीले गाँउपालिकाको आफनै श्रोतबाट गरेका हौं । अब केही समयपछि नै करिव २३ किलोमिटर सडक बन्न गइरहेको छ । त्यो यही गाउँपालिका भित्र र प्रदेश सरकारको सहयोगमा बन्न लागेको हो । जति सडक निर्माण भइरहेको छ ती सवै सडक पुर्वाधार ऐन अनुसार नै बनेका छन । करिव पाँच किलोमिटर जति सडब सोलिङको काम पनि सकि सकेका छौं ।
गाउँपालिकाको आफनै प्रशासनिक भवन छ कि छैन ?
गाउँपालिकाको भवन निर्माणाधिन अवस्थामा छ । यो बहुबर्षिय ठेक्का अन्तर्गत बनिरहेको छ । अहिले जहाँ भवन बनिरहेको छ त्यहाँ हाम्रो कुनै जमीन र भवनसमेत थिएन । जोरपाटी भन्ने नयाँ ठाउँमा हामीले गाउँपालिकाको केन्द्र स्थापना गरेका छौं । जहाँ भाडामा नै हामीले कार्यालय संचालन गरिरहेको अवस्था छ । अहिले तीन करोड ७२ लाख रकमको लागतमा गाउँपालिकाको भवन बनाउने काम जारी छ । पहिलो तल्ला निर्माणको काम सकिइसकेको छ भने दोश्रो तल्ला ढलान हुने क्रममा छ । यसैगरी हामीले वडा कार्यालयका भवनहरु पनि बनाउने कामको शुरुवात गरिसकेका छौं । अहिले ३ नम्वर वडा कार्यालयको भवन बनिरहेको छ भने केन्द्र रहेको ठाउँमा हामीले करिव २५ रोपनी जति जग्गा प्राप्त गरेका छौं । यो ३ नम्वर वडामा पर्दछ । हामीले यस वडाको लागि आवश्यक कार्यालय भवन निर्माणको काम अगाडि बढाएका छौं ।
यसैगरी हामी निर्वाचित भएर आएपछि नै आठवटा जति चार कोठे बिद्यालय भवन बनाइसकेका छौं । स्वास्थ्यका भवनहरु पनि धामधम बनिरहेका छन । अहिले पनि दुईवटा स्वाथ्य चौकी भवन निर्माणको काम जारी रहेको छ ।
स्वास्थ्य क्षेत्र र सुधारका लागि के कस्ता रणनीतिहरु अगाडि सार्नु भएको छ ?
स्वास्थ्य क्षेत्र सुधारका लागि भनेर हामीले सर्वप्रथम ऐन जारी गरेका छौं । जसअन्तर्गत हामीसँग चारवटा स्वास्थ्य चौकी भवनहरु रहेका थिए । हाम्रो जम्मा वडाहरु ६ वटा हुन । यसमा ४ वटा स्वास्थ्य चौकीहरु पहिले नै थिए । दुइवटा वडामा थिएनन । ती वडामा हामीले भवन बनायौं र सामुदायिक स्वास्थ्यको शुरुवात गरेका छौ । ती काम हामीले आफनै श्रोतबाट गरेका हौं । अहिले १६ वटा गाउँघर क्लिनिक छन । ती सवै ठाउँमा पुगेर महिनाको चार दिन आधारभुत स्वास्थ्य सेवा दिने व्यवस्था मिलाएका छौं । तीनवटा स्वास्थ्य चौकीमा हाम्रो आफनै श्रोतबाट ल्यावको स्थापना गरी रगत, दिशा, पिसावको जाँच गर्ने प्रवन्ध मिलाएका छौं । ल्याव टेक्निीसियन र असिस्टेनको व्यवस्था गरेका छौं । अहिले सामान्य चेक जाँचको लागि स्थानिय जनताले टाढासम्म पुग्न नपरोस भनेर यो कामको शुरुवात गरेका हौं । यसैगरी पालिकाबासी जेष्ठ नागरिकहरुको लागि घरघरमै पुगेर स्वास्थ्य सेवा, परामर्स निशुल्करुपमा र औषधी बितरणको काम पनि गरिरहेका छौं । हाम्रो उपाध्यक्षसँग जोडिएर सुत्केरी महिला, बालबालिकाका लागि भनेर पोषण र जिवन रक्षा सम्वन्धी कार्यक्रमहरु पनि संचालन गरेका छौं । गुणस्तरिय स्वास्थ्य सेवाको लागि हामीले प्रयत्न जारी राखेका छौं ।
शिक्षातर्फ यस गाउँपालिकाले के कस्तो काम गरिरहेको छ ?
यस गाउँपालिकामा २८ वटा सामुदायिक र चारवटा संस्थागत बिद्यालय रहेका छन । शिक्षाको गुण्स्तर सुधार गर्नको लागि भनेर हामीले शिक्षा ऐन पनि जारी गरेका छौं । यसअन्तर्गत केही ठाउँमा हामीले दरवन्दी मिलानको काम पनि गरयौ । सामुदायिक बिद्यालयहरुमा हामीले नर्सरी र केजी कक्षा अनिवार्य गराएका छौं । साथै हामीले प्रारम्भिक शिक्षकको व्यवस्था पनि मिलाएका छौं । अग्रेजीप्रतिको आकर्षन शिक्षालाई सम्वोधन गर्दै हामीले त्यसको शुरुवात गरेका हौं । आधरभुत शिक्षाका लागि निशुल्क पाठयपुस्तकको व्यवस्था मिलाएका छौं । नर्सरी कक्षामा पढदै गरेका नानी बाबुहरुलाई झोलासहित निशुल्क दिवा खाजाको प्रवन्ध पनि मिलाएका छौं । जो आधारभुत र माध्यमिक बिद्यालयहरु थिए र छन त्यहाँ शिक्षक दरवन्दीको अभाव थियो । अंग्रजी, गणित र बिज्ञान बिषयका शिक्षकहरुको लागि दरवन्दीको व्यवस्था मिलाएका छौं । आधरभुत तहको शिक्षालाई पालिकास्तरको बनाएर आठ कक्षाको परीक्षा लिने र नतिजा प्रकाशन पालिकाले गर्ने गरी व्यवस्था मिलाइएको छ । शिक्षण सिकाई क्रियाकलापलाई उपलब्धीमुलक बनाउन समय समयमा शिक्षकहरुलाई तालीमको व्यवस्था मिलाएका छौं । उहाँहरुले पढाएको बिषयमा पनि हामीले अनुगमन गर्ने गरेका छौं । सक्षम प्रधानाध्यापकको व्यवस्था मिलाउने प्रयत्नमा लागेका छौं । साथै गुणस्तरिय र उपलब्धीमुलक शिक्षालाई हामीले जोड दिएका छौं । यस गाउँपालिका भित्र प्राबिधिक बिषय पढाईं गर्ने गरी बिद्यालयको स्वीकृती लिएका छौं । प्राबिधिक पढाईको लागि सिदुवामा रहेको सरस्वति माध्यमिक बिद्यालयलाई छनौट गरेका छौं । यो नमुना मावि हो । बाली बिज्ञानको लागि चुलाचुली मावि छथर जोरपाटी ३ बाट पढाई शुरु गर्न गइरहेका छौं । जहाँ बिद्यार्थी संख्या कमरहेका छन, ती बिद्यालयहरुलाई मर्ज गर्ने नीति अगाडि बढाएका छौं । साथै घटुवा पनि गरेका छौं । हाम्रो कार्यकाल भित्रमा नै शिक्षा र स्वास्थ्यको सुधारसहित आमुल परिवर्तन गर्ने कार्ययोजना अगाडि बढाएका छौं ।


यो गाउँपालिकामा खानेपानीको व्यवस्था कस्तो रहेको छ ?
गुणस्तरिय खानेपानी जनताहरुलाई उपलव्ध गराउने हाम्रो प्रयत्न जारी रहेको छ । त्यसको लागि हामीले बिभिन्न गैर सरकारी संस्थाहरुसँग साझेदारी गरेर टयाङ्की निर्माणदेखि धारा जडानको काम गरिरहेको अवस्था छ । यसैगरी प्रदेश र केन्द्र सरकारको साझेदारीमा पनि हामीले काम र योजना अगाडि बढाइरहेको अवस्था छ । अहिलेसम्म करिव ८७ प्रतिशत जनताले पाइपमार्फत घरघरबाटै यो सुबिधा लिएको अवस्था छ । तर खानेपानीको मुल बर्षातको समयमा धमिलो र फोहोर हुने गरेका छन । यसमा सुधार गर्दै मुललाई सुद्धिकरण गर्नुपर्नेछ । हामीले मुहान सरसफाई र संरक्षण गर्ने कार्य पनि संगसँगै अगाडि बढाएका छौं ।
गाउँपालिका भित्र सरसफाईको व्यवस्थापन कसरी मिलाउनु भएको छ ?
यो गाउँपालिका भित्र तीन चार वटा जति बजार क्षेत्र रहेका छन । यी ठाउँबाट निस्कने फोहोरको लागि हामीले डस्वीनको व्यवस्था मिलाएका छौं । साथै यो फोहोर संकलन गरेर निश्चित ठाउँमा लगेर बिर्सजन गर्ने गरेका छौं । पालिका भएपनि हामीले फोहोर व्यवस्थापनमा सचेत भएर काम गरेका छौं ।
पर्यटनको क्षेत्रको लागि यो गाउँपालिका कति संभावनायुक्त रहेको छ ?
पर्यटनको लागि हलहले पटेक डाँडालाई अगाडि सारेका छौं । यो सिदुवा भन्ने ठाउँमा पर्दछ । त्यो ठाउँ समुन्द्र सतहदेखि २६ सय उचाइमा छ । त्यहाँ पुगेपछि हाम्रो १ नम्वर प्रदेशमा पर्ने सवै जिल्लाहरुको अवोलोकनका साथै देख्न पनि सकिन्छ । त्यसैगरी नजिकैकाट सुर्य उदाएको देख्न सकिन्छ । आकर्षक हिमशिखरहरु पनि देख्न सकिन्छ । यो ठाउँमा टु वे पदमार्ग निर्माण गरिहेका छौं । पदर्माग अन्तर्गत अहिलेसम्म पाँचसय जति सिढींहरु बनिसकेका छन । गुराँसेलगायत ठाउँहरु पनि पर्यटकका लागि आकर्षक गन्तव्य हुन । धर्म, संस्कृति, मठ, मन्दिर, गुम्बा आदीका लागि पनि यी ठाउँ प्रसिद्ध छन ।