निर्माणाधिन रेसुङ्गा विमानस्थलमा भवनको शिलान्यास, निर्माण व्यवसायी भन्नुहुन्छःकोरोना कहरकाबीच पनि निर्माण कार्य भइरहेको छ
कोरोना कहरकाबीच पनि निर्माणाधिन गुल्मीको रेसुङ्गा विमानस्थलको निर्माण कार्य अगाडि बढेको छ। जिल्लाको रेसुङ्गा नगरपालिका–१० सिमिचौरमा निर्माणाधिन विमानस्थल निर्माणको कार्य कोरोना कहरकाबीच पनि अगाडि बढेको हो। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९को प्रभावका कारण कामदारको अभाव, निर्माण सामग्री लगायतको अभावकाबीच पनि निर्माण व्यवसायीले विमानस्थल निर्माणको कार्यलाई अगाडि बढाएका हुन्।
यसैबीच बुधबार निर्माणाधिन विमानस्थलमा कोभिड–१९ विरुद्ध सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर भवनको शिलान्यास गरिएको छ। विमानस्थल नियमित सञ्चालनका लागि आवश्यक पर्ने टर्मिनल भवन, यात्रुप्रतिक्षालय, कन्ट्रोल टावर, टिकट काउन्टर भवनको रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाल तथा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो।
भवन शिलान्यास गर्दै मेयर भुसालले तोकिएको समयमै निर्माणको कार्य सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गर्नुभयो। उहाँले यस विमानस्थल जिल्लाकै एक गौरवको योजना भएकाले छिटो सञ्चालनमा ल्याउनु सरोकारवाला सबैको साझा बिषय भएको पनि उल्लेख गर्नुभयो। प्रमुख जिल्ला अधिकारी शर्माले निर्माण कार्य गर्दा सुरक्षाको कुनै समस्या नहुने बताउनुभयो ।यसको लागि आवश्यक सहयोगका लागि अफुहरु तत्पर रहेको समेत प्रजिअ शर्माले जोड दिनुभयो ।
निर्माण व्यवसायी हरि कुमार श्रेष्ठले यो वर्ष सम्झौता गरिएको भवन निर्माणको कार्यलाई समयमै सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो। उहाँले कोरोनाको कहरकाबीच पनि निर्माणको कार्यलाई तिव्रता दिइएको उल्लेख गर्नुभयो।
विमानस्थल निर्माण उपभोक्ता समितिका अध्यक्ष मधुकृष्ण पन्तको अध्यक्षता रहेको कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी लगायतको उपस्थिती रहेको थियो। कार्यक्रमको सञ्चालन वडाअध्यक्ष पदम प्रसाद अर्यालले गर्नुभएको थियो। शिलान्यास गरिएको भवनको रु ४ करोड ५ लाख बढी लागतमा निर्माण कार्य हुँदै छ। निर्माणाधीन यस विमानस्थलको अहिलेसम्म ४५ प्रतिशत निर्माण कार्य सकिएको छ।
विमानस्थलको धावनमार्ग आउँदो कार्तिकमा पुरा गरिसक्नुपर्ने भए पनि कोरोना संक्रमणका कारण लकडाउन र बर्खाको समय र जनशक्ति अभाव लगायतको कारणले लक्ष्यअनुसार काम पुरा हुन नसकेको विमानस्थालका सहायक आयोजना प्रमुख दिनेश परियारले बताउनुभयो । धावनमार्ग ५ सय २० मिटर लम्बाई र २० मिटर चौडाइ रहेको छ । विमानस्थल प्रभावित क्षेत्रमा पर्ने ४६ घरधुरि तथा जग्गाधनिलाई मुआब्जा दिएर अन्य ठाउँमा सारिएको छ । विमानस्थल ७८ रोपनि १० आना क्षेत्रफलमा फैलिएको छ ।