अन्ततः उपाध्यक्ष गौतम नै बन्ने भए राष्ट्रिय सभा सदस्य
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्ने निर्णय गरेको छ ।
लामो समयको विवादपछि आज नेकपा सचिवालयको बैठकले नेता गौतमलाई राष्ट्रियसभाको सदस्यमा लैजाने टुंगो गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले उक्त निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली अर्थमन्त्री युवराज खतिवडालाई नै राष्ट्रिय सभा सदस्यमा मनोनित गर्न चाहन्थे । तर पार्टीका अधिकांस नेताहरुले उपाध्यक्ष गौतमलाई राष्ट्रिय सभाको सदस्यमा सिफारिश गर्नुपर्ने अडान राखेपछि ओली सहमत भएका हुन । राष्ट्रपतिबाट मनोनित गरिने राष्ट्रियसभाको एक रिक्त सदस्य पदमा मन्त्रिपरिषद्ले मनोनयनका लागि राष्ट्रपतिसमक्ष गौतमको नाम सिफरिस गर्ने निर्णयमा सरकार पुगेपछि अर्थमन्त्री युवराज खतिवडा मन्त्री पद पनि धराप परेको छ ।
आज बसेको सचिवालय वैठकले पार्टीभित्रको विवाद समाधानका लागि गठित कार्यदलले दिएको प्रतिवेदनमा छलफल गरी ठोस कार्ययोजना बनाई प्रस्ताव प्रस्तुत गरिने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।