सभापतिसँग तारे होटलमा वार्ता भएको होइन : डा कोइराला

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सभापति शेरबहादुर देउवा र आफूबीच तारे होटेलमा गोप्य भेटघाट भएको भन्ने समाचार सत्य नभएको बताएका छन् ।
पार्टीको महाधिवेशन नजिकिएसँगै सभापति देउवा र कोइरालबीच होटलमा गोप्य वैठक भएको समाचार सार्वजनिक भएको थियो ।
बिपी कोइराला लोकतन्त्र संवद्र्धन केन्द्रले आयोजना गरेको कार्यक्रममा महामन्त्री डा कोइरालाले आफू एक महिनादेखि घरबाहिर ननिस्केको बताएका छन् ।
कार्यक्रममा उनले पार्टीको आगामी १४औँ महाधिवेशनमा नेतृत्व परिवर्तन सँगसँगै विचार र सिद्धान्तमा समेत घनीभूत छलफल हुनुपर्ने बताए ।

महामन्त्री डा कोइरालाले कोभिड–१९का कारण केही महिना सारेर भए पनि यथासक्दो समयमा महाधिवेशन गर्नाको विकल्प नभएको धारणा व्यक्त गरेका छन् । साथै उनले सरकारले कृषिलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट ल्याए पनि कृषि मलको अभावले किसानको अवस्था दयनीय भएको बताएका छन् ।