नेपाल रेडक्रस सोसाइटीको ५८ औँ स्थापना दिवसको अवसरमा गुल्मीमा राहत वितरण

नेपाल रेडक्रस सोसाइटीको ५८ औँ स्थापना दिवस आज गुल्मीमा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ। नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा गुल्मी तथा उपशाखाहरुको आयोजनामा यस जिल्लामा पनि विविध कार्यक्रमको आयोजना गरी मनाइएको हो।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ संक्रमण जोखिमलाई ध्यान दिँदै भौतिक दुरी कायम गरी माक्स, स्यानिटाइजर लगायतका कारोना भाइरस विरुद्वको स्वास्थ्य सुरक्षाका उपाय अबलम्बन गर्दै यस दिवसको अवसरमा कार्यक्रम आयोजना गरिएको थियो।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा तम्घासमा रेडक्रसका संस्थापक जाँ हेनरी ड्युनाको तस्वीरमा माल्यार्पण गर्दै उहाँको सम्झना गरी मनाइएको हो। नेपाल रेडक्रस सोसाइटीको जिल्ला शाखा सभापति राजेन्द्र प्रसाद श्रेष्ठ लगायत पदाधिकारीहरुको सहभागिता रहेको थियो।

यस्तै यस दिवसकै अवसरमा हस्तीचौर उपशाखा इस्मा गाउँपालिका गुल्मीले पहिरो पीडित परिवारलाई राहत प्रदान गरेको छ। त्यस उपशाखा सभापति शेर बहादुर कुवँरको अध्यक्षतामा भएको कार्यक्रममा गत असार १८ गतेको बाढि पहिरोमा परिवारका सदस्य गुमाएका दुई परिवारलाई राहत स्वरुप राहत प्रदान गरिएको हो।

परिवारका सदस्य गुमाएका टिका बहादुर खत्री तथा चेत बहादुर शारुलाई रु ३ हजारका दरले राहत स्वरुप आर्थिक सहयोग प्रदान गरिएको सभापति कुवँरले बताउनुभयो। त्यस अवसरमा पहिरो पीडितहरुलाई देश–विदेशबाट आर्थिक सहयोग प्रदान गर्ने सहयोगीदाताहरुलाई धन्यवाद ज्ञापन समेत गरिएको थियो।

कार्यक्रममा उपशाखाका कोषाध्यक्ष बैकुण्ठ्ठ कुवँर, सहसचिव नारायण कुवँर, समाजसेवी कृष्ण बहादुर रायमाझी हर्पुकोट देउराली सामुदायिक विपद् व्यवस्थान समितिका संयोजक मिन बहादुर कुवँर, लगायतको उपस्थिति रहेको थियो।

यस्तै दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाइटी घमिर उपशाखा मालिका गाउँपालिका घमिरले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को जोखिम न्यूनिकरण तथा व्यवस्थापन खटिएकमा स्वास्थ्यकर्मीलाई तालि बजाएर सम्मान गरिएको छ। कार्यक्रममा घमिर उपशाखा सभापति मान बहाद्ुर खड्काले कोरोना महामारीका बीच पनि अग्रमोर्चा समालि रहेका स्वास्थ्यकर्मीलाई धन्यवाद दिनुभयो।

रेडक्रस उपाशाखा कार्य समितिका पदाधिकारी तथा स्वास्थ्यकर्मीहरुको उपस्थितीमा नेपाल रेडक्रस सोसाइटी घमिर उपशाखाको कार्यालय घमिर ठाँटीमा कार्यक्रम गरिएको उपशाखाकी सचिव सावित्रा लम्साल खत्रीले जानकारी दिनुभयो।