गुल्मी चन्द्रकोटकी हिमाद्वारा सहयोगको याचना
गुल्मी । गुल्मी चन्द्रकोटकी हिमा थापाले सहयोगको याचना गर्नुभएको छ । चन्द्रकोट गाउँपालिका–४ घेतुङ्गकी थापाले उपचारमा ठुलो रकम खर्च हुने भएपछि सहयोगको याचना गर्नुभएको हो। जन्म देखि नै अपाङ्ग हिमा अहिले ३८ वर्षकी हुनुभयो । विगत एघार वर्ष देखि थापा विभिन्न स्वास्थ्य समस्यासँग जुधिँरहनुभएको छ ।
हाल केही समय देखि कम्मर मुनिको भाग नचल्ने र दिशा–पिसाब नरोकिने समस्याले अहिले ग्रसित बन्नुभएको छ । अपाङ्ग त्यसमाथी घस्रिएर हिड्दा घुँडामा घाउ बन्दै गएपछि अहिले घुँडाको तलको भाग अप्रेसन गरेर फाल्नु पर्ने अवस्थासँग थापा गुज्रिरहनुभएको छ ।
अस्पतालले छिटो उपचार गर्नुपर्ने बताएको छ । तर अप्रेसनका लागि आवश्यक आर्थिक रकम जुटाउन नसक्दा समस्या भइरहेको थापा बताउनुहुन्छ । परिवारको आर्थिक अवस्था कमजोर रहेको छ । आठ बहिनीमध्ये थापा काइली हुनुहुन्छ ।
विगत १३ तेह्र वर्ष देखि उपचारका लागि सदरमुकाम तम्घास देखि पोखरा, काठमाडौँ, बुटवलसम्मका अस्पतालमा धाउनुभयो । उपचारका लागि विभिन्न अस्पताल धाउदा–धाउदै थापाको झण्डै आठ लाख भन्दा बढी रकम खर्च भइसकेको छ । अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को जोेखिमका कारण अस्पताल पुग्न समेत कठिनाई भइरहेको छ ।
यतिबेला घोडाबाट तलको भाग अप्रेसन गरेर फाल्नु पर्ने डाक्ट्ररले बताएपछि आर्थिक समस्या भएको हो । परिवारको आर्थिक अवस्थाले नथेग्ने देखिएपछि सहयोगका लागि अपिल गरेको पीडित थापाले बताउनुभयो । उहाँको उपचारका लागि अहिले चन्द्रकोटका विभिन्न स्थानीय क्लब, संघसंस्था मार्फत सहयोग जुटाउन आर्थिक अभियान सञ्चालन गरिएको छ ।
स्थानीय भूमिस्थान युवा क्लब चन्द्रकोट गाउँपालिका–४ घेतुङ्गको सक्रियतामा सामाजिक सञ्चालन मार्फत आर्थिक सहयोग संकलन् अभियान सञ्चालन गरिएको क्लबका उपाध्यक्ष लाल बहादुर थापाले जानकारी दिनुभयो ।
अहिले विभिन्न देश–विदेशमा रहनुभएका व्यक्ति, सामाजिक संघसंस्था, समुह लगायतबाट सहयोग प्रदान भइरहेको उहाँले बताउनुभयो । पीडित हिमाको उपचारका थोरै भएपनि मलम लगाउने उद्देश्यले अहिले सामाजिक सञ्जाल मार्फत आर्थिक सहयोग संकलन अभियान सञ्चालन गरिएको थापाले बताउनुभयो । सहयोग गर्नका लागि साइन रेसुङ्गा बैङ्कमा रहेको खाता नं.०१०००५०००४७२२७०००००१ मा आर्थिक सहयोग जम्मा गर्न सकिने थापाले जानकारी दिनुभएको छ ।