चीन–भारत टक्कर, नेपाललाई ठक्कर !

काठमाडौं । दक्षिण एसियामा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको चीनले दुनियाँको सबैभन्दा ठूलो नौसेना बनाएको चर्चा चलेको छ । एक अमेरिकी रिपोर्टमा चीनले नौसेना बनाइसकेको र पाकिस्तान, श्रीलङ्का, थाइल्याण्ड, सिंगापुर, इन्डोनेशिया र म्यान्मारलगायतका दर्जनौं देशमा आफ्नो सैन्य अड्डा बनाउने कोसिस गरिरहेको दाबी गरिएको छ ।
भारतबाट प्रकाशित टाइम्स अफ इन्डिया पत्रिकाले हालै तत्सम्वन्धी रिपोर्ट प्रकाशित गरेको छ । सो समाचारमा चीनसँग अब संसारको सबैभन्दा ठूलो नौसेना भएको उल्लेख गरिएको छ । आफ्नो सामरिक स्थिति र पहुँच बलियो बनाउन चीनले आक्रामक ढङ्गले नयाँ सैन्य अड्डा खोजिरहेको पनि समाचारमा विश्लेषण गरिएको छ ।
चीनले इन्डो–प्यासिफिक क्षेत्रमा नयाँ अड्डा विकसित गर्न खोजेको र परमाणु हतियारको संख्या पनि आउँदा दशकमा दोब्बर बनाउने उद्देश्य लिएको समाचारमा जनाइएकोछ ।
चीनको सैन्य विस्तारको आँकलन गरिरहेको पेन्टागनले मंगलबार अमेरिकी संसदमा तत्सम्वन्धी रिपोर्ट पेश गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तर चीनले यो रिपोर्टलाई पूर्वाग्रहयुक्त भनेको छ ।
गत वर्ष भारतीय सेनाका प्रमुख एडमिरल कर्मबीर सिंहले भारतले तमाम बाधाबीच चिनियाँ सेनाको बढ्दो बिस्तारको जवाफ दिन आवश्यक रहेको उल्लेख गरेका थिए । चीनले नेपाललाई प्रयोग गरेर भारतविरुद्ध गतिविधि सञ्चालन गर्न सक्छ भन्ने दिल्लीका सुरक्षाविद्हरुको विश्लेषण भएकाले यसबारे नेपालले पनि सुक्ष्मरुपमा हेर्नुपर्ने सुरक्षाविद्हरुको सुुुझाव छ ।
यसैबीच अमेरिकी रक्षामन्त्री माइक पोम्पियोले साउथ चाइना समुन्द्री क्षेत्रमा चीनको प्रभाव बढिरहेको भन्दै त्यसको भत्र्सना गरेका छन् । सन् २०११ मा भारत अमेरिकबीच आणविक सम्झौता भएपछि सामरिक रुपमा ती दुई राष्ट्रले सहकार्य गरिरहेको सुरक्षाविद्हरुको विश्लेषण छ ।
तेस्रो विश्वयुद्धको सम्भावना तर्फ इंगित गर्दै कतिपय विज्ञहरुले चीन र भारतबीचको द्वन्द्वमा प्रत्यक्ष वा परोक्ष रुपमा अमेरिका समेत मुछिने र त्यसबाट उत्पन्न परिस्थिति जलिट हुने विश्लेषण गरेका छन् । चीन, भियतनाम, ब्रुनाइ, मलेसिया, फिलिपिन्स र ताइवान जस्ता राष्ट्रहरु साउथ चाइना समुन्द्री क्षेत्रको तनावबाट प्रभावित टिप्पणीहरु पनि आइरहेका छन् ।
चीन र भारतबीच हुने टक्करले नेपाल पनि प्रभावित हुने उनीहरुको चेतावनी छ । चीन र भारतबीच पछिल्ला केही महिनादेखि दुईदेशको सीमा क्षेत्र लद्दाखमा विवाद चर्किएको छ । केही महिनाअघि त्यहाँ दुई देशका सेनाबीच विवाद हुँदा भारतका २० सैनिक भन्दा बढीको मृत्यु भएको थियो भने चीनतर्फ कति क्षति भयो भन्ने कुरा बाहिर आएन । केही दिनअघि पनि दुई देशका सेनाबीच त्यहाँ विवाद भएको थियो । चीन र भारतबीच विवाद हुँदा नेपाल पनि त्यसबाट प्रत्यक्षअप्रत्यक्ष रुपमा प्रभावित हुँँदै आएको छ । भारतीय सेनामा हजारौ गोर्खाली सेनाहरु कार्यरत छन् । चीनसँग होस् वा पाकिस्तानसँग, सीमामा विवाद हुँदा भारतले गोर्खाली सेनाहरुलाई परिचालन गर्ने गरेको छ । जसबाट धेरै नेपालीले भारतका लागि ज्यान गुमाएका छन् ।