पाँच वर्षभित्र विकासका आधार तयार भइसक्ने छन्
– केदार क्षेत्री, प्रमुख, बलेफी गाउँपालिका, सिन्धुपाल्चोक
सिन्धुपाल्चोक जिल्ला बलेफी गाउँपालिकाका प्रमुख हुन् केदार क्षेत्री । उनी अरनिको यातायात सेवा समितिका पुर्व अध्यक्षसमेत हुन् । उनले लामो समय यो क्षेत्रको नेतृत्व संहालेका थिए । अनुभवी, लगनशील र क्षमतावान भएकै कारण उनले बलेफी गाउँपालिकाको नेतृत्व हात पार्न सफल भए । उनी भन्छन् यस गाउँपालिकाका आमा, दाजुभाई तथा दिदी बहिनीहरुले जुन उत्साहका साथ जिम्मेवारीसहित हामीलाई निर्वाचित गरेका छन् उनीहरुको इच्छा र चाहनामा कुनै कमी महसुस हुन दिने छैनौ । हामी जनप्रतिनिधिहरुको यो कर्तव्य पनि हो । यस गाउँपालिकाको मुख्य आम्दानीको स्रोत दुइवटा मुख्य नदीहरु रहेको उनको भनाई छ । ती नदीबाट गाउँपालिकाले बार्षिकरुपमा ५० लाख भन्दा बढि आम्दानी लिइरहेको दावी उनको छ । शिक्षा, स्वास्थ्य, पर्यटन, भौतिक पुर्वाधारलगायत यिनै बिषयमा केन्द्रित रहेर रेसुङ्गा टुडे साप्ताहिकका लागि लक्ष्मी बोहोराले उनै क्षेत्रीसँग गरेको कुराकानीको मुख्य अंशः
आज तपाई बलेफी गाउँपालिकाबासीले दिएको जिम्मेवारी पुरा गरिरहनु भएको छ । यो जिम्मेवारी पुरा गरिरहंदा यहाँलाई कस्तो अनुभूति भइरहेको छ ?
यहाँका जनताले जुन विश्वासका साथ मलाई यो गाउँपालिकाको जिम्मेवारी सुम्पनु भएको छ, साथै काम गर्नसक्छ भनेर चुनावमा जिताएका छन् उनीहरुको यो विश्वासलाई मैले खेर जान दिने छैन । जनताको बिश्वासलाई मैले कुनै पनि हालतमा घात गर्ने छैन । मैले सकेको योगदान गर्नेछु । ५ बर्षको अवधिमा आफुले चुनावताका गरेको वाचा सबै पुरा गर्दै जानेछु ।
यस गाउँपालिकाको भौगोलिक अवस्थाको बारेमा बताइदिनुहोस् न ?
यो गाउँपालिका बागमती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा पर्दछ । यो गाउँपालिकाको कुल क्षेत्रफल ६१.८७ वर्ग किमी छ । यो गाउँपालिकामा दुईतिरबाट नदीहरु बगिरहेका छन् । एकातिरबाट सुनकोसी नदी बगेको छ भने अर्को तिरबाट ब्रह्मानिय नदी बगेको छ । यस गाउँपालिका अति नै सुन्दर र रमणीय गाउँपालिकाको रुपमा चिनिन्छ । बलेफी सिन्धुपाल्चोक जिल्लाको सबै भन्दा कम क्षेत्रफल भएको गाउँपालिका हो । यो गाउँपालिका आठवटा वडाहरु मिलेर बनेको छ । विकास र पुर्वाधारको दृष्टिकोणबाट हेर्दा सबै वडाहरुमा मोटरबाटो पुगेको छ । बलेफी देखी जलविरेसम्म पक्की पिच मोटर बाटो छ भने अर्को तर्फ बलेफी देखी बाह्रविसे नगरपालिकाको सिमाना ड्यामसाईटको जुरेसम्म हाईवे भएको कारणले विकासमा पछि नपरेको गाउँपालिकाको रुपमा चिनिन्छ । साविकको ४ वटा गाविस माङ्खा, फूल्पिङडाँडा, फूल्पिङकोट र जलविरे गाविस मिलाएर बलेफी गाउँपालिका बनाइएको हो ।
यस गाउँपालिका भित्र कुन कुन समुदायका जातजाती हरुको बढी बसोबास रहेको छ ?
यहाँ विभिन्न धर्मका अनुयायीहरुको बसोबास रहेको छ । जस्तै हिन्दु, बौद्ध र क्रिस्चियनहरुको बसोबास रहेको छ । जसले गर्दा सर्वोलौकिक सँस्कृती झल्काउँछ । यहाँको मुख्य भाषा भनेको नेपाली हो, त्यस्तै तामाङ, नेवारी र अरु अन्य भाषाहरु पनि बोलिने गर्दछ । यस बलेफी गाउँपालिकामा धेरै जसो तामाङ् जातिको मुख्य बसोबास रहेको छ । जनजाति अन्तर्गत माझी, थामी र पहरी जातिका मानिसहरुको कमै मात्रामा बसोबास रहेको छ भने दलित जातजाति जस्तै विश्वकर्मा र नेपालीहरुको पनि बसोबास रहिआएको छ ।
यस गाउँपालिकाको नाम बलेफी कसरी रहन गयो र यसको अर्थ के हो ?
यस बलेफी गाउँपालिकामा बलेफी बजार छ र त्यहाँको बजारलाई एकदमै पुरानो बजारको रुपमा चिनिन्छ र पहिला ब्रहमानिय नदीलाई बलेफी नदी पनि भनिन्थ्यो र तिब्बत जाने मूलढोकाको रुपमा मानिन्थ्यो । र, ब्र्रह्मानिय नदी पुरानो बलेफी बजार भएको कारणले गर्दा यसको नाम बलेफी रहन गयो ।
यस गाउँपालिकाको शिक्षा र स्वास्थ्यको अवस्थाबारे विस्तृत रुपमा बताईदिनु हुन्छ कि ?
बलेफी गाउँपालिकामा जम्मा ३३ वटा विद्यालयहरु रहेका छन् । त्यसमध्ये ११ ओटा माध्यमिक, १ संस्थागत माध्यमिक विद्यालय छ भने अरु बाँकी सरकारी विद्यालयहरु रहेका छन् । शिक्षामा सबैको सहज एवम् समतामूलक पहँुच र निरन्तरता सुनिश्चित गर्न शिक्षालाई सर्वव्यापी जीवनोपयोगी प्रतिस्पर्धी एवम् गुणस्तरयुक्त बनाउने अभियानमा लागेका छौं । यस गाउँपालिका भित्रको सामुदायिक विद्यालयहरुमा कक्षा ६ देखी १० सम्मको अध्ययनरत विद्यार्थीलाई प्रोत्साहन स्वरुप दिवा खाजा कार्यक्रम संचालन गरिएको छ । त्यसैले पनि शिक्षाको हिसाबले बलेफी गाउँपालिका अरु भन्दा एककदम अगाडी रहेको छ ।
स्वास्थ्यको हिसाबमा भन्नुपर्दा यस बलेफी गाउँपालिकामा ८ वटै वडामा स्वास्थ्य केन्द्रहरु रहेका छन् भने कतिपय ठाउँमा स्वास्थ्य केन्द्रहरु निर्माणाधिन अवस्थामा रहेका छन् । एउटा प्राथमिक केन्द्र रहेको छ । आगामी बर्ष यसलाई १५ बेडको हस्पिटलको रुपमा बिकास गर्न लागेका छौं ।
तपाईको ५ बर्षे कार्यकालमध्ये साढे तिन बर्ष पुरा गरिसक्नुभयो, यो कार्यकालमा आमगाउँबासीले अनुभूति गर्न लायक कामहरुका बारेमा जानकारी दिनुहोस् न ?
यस तिन बर्षको अवधिमा पूर्वाधार विकासलगायतमा लगभग दुई वटा विद्यालय निर्माण हुन बाँकी छन् । लगभग सम्पूर्ण काम सकिन लागेको छ । यस ठाउँमा ०७२ सालमा गएको भूकम्पले धेरै क्षति पु¥याएको थियो । यो जिल्ला र ठाउँलाई क्षतिग्रस्तका रुपमा पनि चिनिन्छ । आठ ओटा वडाको बाटोहरुलाई उन्नत हिसाबले बनाएका छौं । धेरैजसो बाटोहरु बाह्रै महिना संञ्चालन गर्न सकिने परिस्थितिका छन् । माथिल्लो भेगहरुमा खानेपानीको समस्या अझै पनि त्यत्तिकै रहि आएको छ । सम्भव भएसम्म सिंचाईको प्रवन्ध मिलाउने योजनाका साथ काम कुरा भईरहेको छ । केही ठुला सिंचाईका आयोजनाहरुलाई प्रस्ताव गरिरहेका छौं । गाउँपालिकामा सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने, उद्धेश्यले प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थाहरुलाई अझ स्रोत साधनयुक्त बनाईने छ । र, जलविरे प्राथमिक स्वास्थ्य केन्द्रलाई थप स्तरोन्नती गरिने छ । सूचना प्रणालीमा आधारित बनाउन सके सार्वजनिक सेवा प्रवाह गुणस्तरिय भई सेवा लागत समेत कम हुन जान्छ । सबै सरकारी कार्यालयहरुमा चाहिनेजति र आवश्यक मात्रामा कर्मचारी छैनन् । केही समयको अवधि भित्र सबै स्वास्थ्य कर्मचारीहरुको व्यवस्था गरी नेपाल सरकारले निःशुल्क दिएको औषधीहरु संगै उपचारको व्यवस्था पनि निःशुल्क गराउने योजनामा हामी छौं ।
चुनावताका आमजनताका माझ गरेका प्रतिवद्धताहरु पुरा हुन्छन् ?
हामीले चुनावताका जनताका विच गरेको प्रतिवद्धता ५ बर्षको अवधिमा सवै पुरा हुन्छ भन्ने छैन । ५ बर्ष भित्रमा हामीले गरेको प्रतिवद्धता पुरा गर्नको लागि आधार भने तयार भइसक्ने छन् । मुलुक संघीयतामा गएसँगै भएको पहिलो निर्वाचन पछि हामी निर्वाचन जितेर आएका हौं । हामी निर्वाचित भएपछि नै धेरै पुर्वाधारको काम अगाडि बढेका हुन् । यसकारण पनि पाँच बर्षभित्रमा सवै जनतामाझ गरेका बाचाहरु पुरा गर्न भन्दा पनि आधारहरु तयार हुनेछन् ।
यस गाउँपालिकाको आम्दानीको मुख्य श्रोत के–के हुन् ?
यस गाउँपालिकाको आम्दानीका श्रोतहरु दुई ओटा ठूला ठूला नदिहरु नै हुन् । ढुङ्गा, गिटी र वालुवाबाट वार्षिक रुपमा चालिस पचास लाखको आम्दानी हुन्छ । जिले ढुंगाको खानी छ त्यसबाट पनि केही आम्दानी हुन्छ । यस ठाउँलाई पर्यटनको हिसाबले महत्वपूर्ण मानिन्छ । खासगरी यस ठाउँमा रहेका नदीहरुमा राफ्टिङ्ग यात्राको विकास भईरहेको छ । यी नदीमा राफ्टिङ्गको राम्रो व्यवस्थापन गर्न सकियो भने अझ राम्रो आम्दानी गर्न सकिन्छ । पर्यटनबाट पनि राम्रो फाईदा लिन सकिन्छ ।
यस गाउँपालिका सदरमुकाम चौतारा देखी कति कि.मि टाढा छ ?
सिन्धुपाल्चोक जिल्लाको सबै गाउँपालिकाहरु मध्ये सबै भन्दा सुगमको गाउँपालिकाको रुपमा बलेफी गाउँपालिकालाई चिनिन्छ । यस गाउँपालिका केही दुर्गम र टाढा भएतापनि जिल्लासदरमुकाम चौतारासम्म जानको लागि दुई वटा बाटो हुँदै जान सकिन्छ । नौबिसे हुँदै चौतारा १८ किमी रहेको छ । यो पूर्ण रुपमा कालो पत्रे भइसकेको छैन । अर्को बाटो बलेफीबाट साँगाचोक हुँदै चौतारासम्म पुग्न सकिन्छ । यो पूर्ण रुपमा कालोपत्रे भएको छ । यो बाटो चौतारा सदरमुकाम जान सहज र सजिलो पनि छ । साथै यातायातका साधनहरु पनि निरन्तर रुपमा चलिरहेका छन् ।
अहिले विश्वव्यापी रुपमा फैलिइरहेको कोभिड १९ लाई रोकथाम र नियन्त्रणका लागि गाउँपालिकाले के कस्तो योजना अगाडि बढाइरहेको छ ?
स्वास्थ्य नै मानिसको पहिलो धन हो भन्ने मूल मन्त्रलाई आत्मसाथ गरी यस बलेफी गाउँपालिकाले जनताको जीवन र सुरक्षालाई उच्च प्राथामिकतामा राखी काम गरिरहेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको जोखिमबाट बच्न र बचाउन तथा उपचार गर्न र प्राकृतिक प्रकोपबाट आईपर्न सक्ने विपद्को सामना गर्न गाउँपालिकामा स्थापना भएको प्राकृतिक प्रकोप व्यवस्थापन कोष खातामा आवश्यक रकम थप गरिनेछ । यो रोग कसरी सर्दछ भनेर त्यसको बारेमा जानकारी गराउँदै त्यसबाट बच्न सेनिटाईजर, माक्स प्रयोग गर्न लगायौं र निःशुल्क रुपमा वितरण पनि गरियो । नेपाल सरकारले तोकेका मापदण्डअनुसार हामीले क्वारेन्टाइन व्यवस्था गरियो । यसो गर्दा विदेशबाट आएका वा शंका लागेको व्यक्तिलाई क्वारेन्टाइनमा १४ दिन राखेर पिसिआर रिपोट नेगेटिभ आएपछि घर जाने व्यवस्था गरियो । त्यसो गर्दा गाउँपालिकामा दुई जना संक्रमित फेला परे । उनीहरु पनि उपचारपछि घर फर्किसकेका छन् । र, हाल अहिले यस गाउँपालिका कोरोनामुक्त गाउँपालिकाको रुपमा चिनिन्छ ।