शंकै शंकाको घेरामा कोरोना
कोरोनाको कुरा चलेको आठ महिना पुगेर नौ महिना लागेको छ । समय जति वित्दैछ, कोरोनाको चर्चाले जित्दैछ । कोरोना शुरु भएदेखि अहिलेसम्म विश्व स्वास्थ्य संगठनका विज्ञप्ति हेर्ने हो भने त्यो संस्थाको साख थप घटेको छ । फेरिएका कुराले अन्योल सिर्जना गराएको मात्र छैन, थप भय र त्रासले मानवजातिलाई नै चिन्तित तुल्याएको छ । यसको उपचार छैन, भ्याक्सिन आउन अझै दुई वर्ष लाग्छ, यस अवधिमा करोडौं मानिस मर्न सक्छन् त्यसैले सचेत र सतर्क रहनुस् । विश्व स्वास्थ्य संगठनको यस्तो रटानलाई धेरैले सकारात्मक रूपमा लिन छोडी सके । बरु यस संगठनका विपरीत जनस्तरबाट आवाजहरू बुलन्द हुन थालेका छन् । शुरु शुरुमा कोरोनाबारे जेजस्ता चर्चा परिचर्चा भए यसलाई जसरी उचालेर जनता तर्साउने काम भयो त्यस्तो सुरुवात नै घातक मात्र नभएर आतंकवादी आचरणका रहेछन् भन्ने अनुभव गरिएको छ । चीन, इरान, इटली, अमेरिका र भारतलगायत सयौं देशमा हजारौं मानिसको मृत्युको खबर आइरहँदासम्म नेपालमा एकजनाको पनि मृत्यु भएको थिएन । त्यतिञ्जेलसम्म नेपालले कोरोनालाई जित्यो, नेपालीको ‘इम्युनिटी पावर’ साँच्चिकै राम्रो रहेछ भनेर छिमेकी मुलुक र अन्त पनि चर्चा चल्यो । यो चर्चाले मेडिकल माफियालाई खपिनसक्नु भएहोला यहाँका दलालहरू सक्रिय भए । अनि शुरु भयो सिन्धुपाल्चोककी निर्दोष चेलीबाट मृत्युको गणना हुनेयात्रा । उनकै दुध चुसिरहेको बच्चालाई कोरोना पोजिटिभ देखिएन रे ।
अस्पताल पुगेजतिलाई कोरोनाले मरेको घोषणा गर्नुपर्ने माफिया नीति अन्तर्गत थपियो मृतकको संख्या । शुरुमा भनियो बुढाबुढी र केटाकेटीलाई बढी असर गर्छ कोरोनाले तर त्यो पनि नतिजाले पुष्टि गर्न सकेनन् बरु अधवैंशे नै धेरै मरेको विवरण छ । सबैभन्दा खतरनाक कुरा त यो छ कि कोरोनाले मरेको भन्दै परिवारजनलाई शव हेर्न दिइएको छैन । कोरोनाको नाममा उपचारकै क्रमदेखि परिवारबाट टाढा बनाइन्छ । वास्तवमा यसले गम्भीर शंका उब्जाएको छ, कतै जिउँदो मान्छेलाई मारेर शरीरका अंगको तस्करी गर्ने काम त भइरहेको छैन ! यस्तो शंका गर्नु गल्ति पनि होइन किनकि यसअघि मृगौला तथा अन्य अंग चोरीका घटना समाचारमा आउने गरेकै थिए । साथै, केही अस्पताल र केही चिकित्सकका लापरवाहीले साधारण अवस्थाका बिरामीको मृत्यु भएका घटना पनि नौला छैनन् । उपचारमा परिवार र आफन्तलाई नजिक पर्न नदिनु र शव हेर्न नदिनुमा यी दुवै कारण कारक हुन सक्छन् । यो समग्र चिकित्सालय र चिकित्सकहरूलाई लक्षित गर्न खोजिएको अवश्य होइन । हाम्रा आफन्त र स्वजन पनि चिकित्सक छन् हाम्रा आफन्तका पनि अस्पताल छन् । हाम्रा हुँदैमा राम्रा हुन्छन् भन्ने छैन र अरू हुँदैमा नराम्रा हुुन्छन् भन्ने पनि होइन तर शंका गर्ने ठाऊँ प्रशस्तै छ । त्यसैले यो शंका निवारण गर्नका लागि बिरामीका आफन्तजनलाई पीपीई प्रयोग गर्न लगाएर भए पनि उपचारदेखि शव व्यवस्थापनसम्ममा शिरदेखि पाउसम्म कम्तिमा एकसरो दृष्टिगोचर गराउनु पर्छ ।
विश्व स्वास्थ्य संगठन आफ्नै नियतले असफल भएको छ, उसले भनेकै भरमा जतिबेर र जतिबेलासुकै मास्क र सेनिटाइजर प्रयोग गर्नु स्वास्थ्यका लागि हानिकारक हुने कुरा विभिन्न अनुसन्धानले पुष्टि गरिसकेको छ । अहिले आयुर्वेदिक चिकित्सक डा. पूर्ण शाही र अन्य केही वैद्य पनि प्रशस्त आधारसहित खुलेर आउनु भएको छ । कोरोना रोग होइन अमेरिकाको धन कुम्ल्याउने हाउगुजी हो भन्नु भएको छ । शिक्षाविद् कर्ण शाही र अन्य धेरै व्यक्तित्वहरूले कोरोनाको नाममा आर्थिक, सामाजिक र राजनीतिक आतंक मच्चाउने काम भएको निश्कर्षमा पुगेको भन्नुभएको छ । उहाँहरूका अनुसार प्राकृतिक र घरेलु (जडिबुटीजन्य) उपचार घोषित अघोषित धेरै रोगको उपचार हुन सक्छ ।
केही राजनीतिकर्मीका अनुसार कोरोनाको खेल विश्वमा आफ्नो साम्राज्य कायम राख्न उद्यत प्रजातान्त्रिक मुलुक भनिने अमेरिका र कम्युनिष्ट मुलुक भनिने चीनबीच चलेको शक्तिकेन्द्र बन्ने दाउको घाउ पनि हुनसक्छ । हतियारयुद्धको जोखिम मोल्न गाह्रो भएको समयमा जैविक भाइरस उत्पादन गरेर विश्वमा आफ्नो अस्तित्व बलियो बनाउने रणनीतिक राजनीति अस्त्र हुन सक्छ भनिएको छ । अमेरिकाले कथित् भ्याक्सिन निकालेर संसारबाट पैसा असुल्ने अनि चीनले कोरोनाको नाममा जनतालाई लकडाउनमा राखेर तानाशाही शासन चलाउने चर्चा चलेको छ ।
कतिपय हल्ला आगो बलेर धुवाँ पुत्ताएको हुन सक्छ वा हावा चलेर पात हल्लेको पनि हुन सक्छ त कतिपय हल्ला एउटाको लहडमा मनोरन्जनको खेल पनि बन्न सक्छ । जेहोस् हल्ला जे भए पनि सल्लाह गम्भीर हुनुपर्ने अवस्था हो यो । कोरोनालाई महामारी भनेर तर्साएपछि श्रृजित भय र त्रासबाट मुक्ति पाउनु जनताको नैसर्गिक अधिकार भइसकेको छ । देशलाई अब कोरोनाबाट ‘युटर्न’ गराउनु पर्छ । जनजीवनलाई सामान्य अवस्थामा फर्काउनुपर्छ । जस्तो २०७६ को फागुनसम्म थियो । स्वस्थ खानपान, सरसफाई र प्रदूषणमुक्त वातावरणमा रहन सबै तह र तप्काबाट पहलकदमी जरुरी छ । आफै सचेत हुन र सतर्क रहन जरुरी छ । जुन कुरा कोरोनाको भयले सिकाइसकेको पनि छ । लकडाउन सकियो कि कोरोना सकियो भनेर स्वस्थ खानपान, सरसफाई र स्वच्छ वातावरणमा नरहने हो भने अन्य रोगले पनि दुःख दिनेछ । तसर्थ आफ्नो लागि आफै स्वास्थ्यको ख्याल गर्न स्वयं आचारसंहिता बनाऔं, कोरोनाका नाममा भएको राजनीति, भ्रष्टाचार र माफियागिरीको अन्त गर्न एक होऊँ । हल्लालाई सल्लाहमा लगेर शंकै शंकाको घेरामा परेको कोरोना नाममा भएको आतंकको अन्त गरौं ।