गुल्मीमा एक युवकको हत्या, घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई
गुल्मीमा एक युवकको हत्या भएको छ । जिल्लाको इस्मा गाउँपालिका–२ का २३ वर्षीय युवा मोती बहादुर कुवँरको गएराति हत्या भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक केदारराज पन्तले जानकारी दिनुभएको छ । इस्मा गाउँपालिका–१ स्थित हस्तिचौरको छिन्ना खोलामा होटल सञ्चालन गर्दै आउनुभएका कुवँरको हत्या भएको पन्तले जानकारी दिनुभएको छ । प्रहरी नायब उपरिक्षक पन्तका अनुसार मोती र उहाँका दाजु यमबहादुर कुँवरले छिन्ना खोलामा होटल सञ्चालन गर्दै आउनुभएको थियो ।
मृतकका दाइ यमबहादुरले सोमबार बिहान होटलमा आउँदा भाइलाई रगताम्य र अचेत अवस्थामा फेला पार्नुभएको थियो । अचेत अवस्थामा उहाँलाई गुल्मी अस्पताल तम्घास ल्याएको भए पनि उपचारको क्रममा मृत्यु भएको पन्तले जानकारी दिनुभयो । मृतक कुँवरको टाउको र शरीरको अन्य भागमा चोट लागेको छ । मोतीको कुटपिटबाटै ज्यान गएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
होटेलबाट ३५ हजार नगद, १० हजार बराबरको एनसेलको रिचार्ज कार्ड लगायत सामान पनि चोरी भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ । घटनास्थलको थप अनुसन्धानका लागि प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मा तथा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरिक्षक प्रविणलाल श्रेष्ठ सहितको टोली घटनास्थलमा पुगेको छ ।