शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कद्वारा प्राकृतिक विपत्तिमा परेको ढोरपाटन नगरपालिकालाई आर्थिक सहयोग

शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेडले बाढी र पहिरोको प्राकृति विपत्तिमा परेको बाग्लुङ्गको ढोरपाटन नगरपालिकालाई आर्थिक सहयोग प्रदान गरेको छ । बैङ्कले बाढी पहिरो प्रभावितको राहत र उद्दारका लागि ढोरपाटन नगरपालिकाले स्थापना गरेको दैवी प्रकोप उद्धार कोषमा १ लाख ५० हजार आर्थिक सहयोग प्रदान गरेको हो ।

सोमबार शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेडका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ तथा बैंङ्कका बुर्तिबाङ शाखा प्रबन्धक प्रेमनाथ पौडेललले ढोरपाटन नगरपालिकाका नगर प्रमुख देव कुमार नेपालीलाई रु १ लाख ५० हजार रुपैँयाको चेक हस्तान्तरण गर्नुभएको छ ।

चेक हस्तान्तरण गर्दै बैङ्कका अध्यक्ष श्रेष्ठले बाढी पहिरो पीडित परिवारको राहतका लागि सामाजिक उत्तरदायित्व अन्तर्गत नगरपालिकालाई आर्थिक सहयोग गरेको बताउनुभयो । यसबाट बाढी पहिरो पीडितहरुको उद्दार र राहतमा मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।

त्यस अवसरमा बोल्दै ढोरपाटन नगरपालिकाका नगरप्रमुख नेपालीले बैङ्कलाई धन्यवाद् ज्ञापन गर्नुभयो । यसबाट बाढी पहिरो पीडितहरुको राहत, उद्दार र पुर्नस्थापनाका लागि ठुलो मद्दत पुग्ने बताउनुभयो ।उहाँले बाढी पहिरोका कारण ३१ घर बगाएको र ७० बढी घरमा क्षति पु¥याएकाले नगरपालिकाकालाई सबैको सहयोगको खाँचो रहेको उल्लेख गर्नुभयो ।

यसअघि शाइन रेसुङ्गा डेभलपमेण्ट बैङ्क लिमिटेडले प्रदेश ५ सरकारको कोरोना राहत कोषमा २५ लाख ५० हजार सहयोग गरेको थियो । भने प्युठानका स्थानीय तहमा पीपीई लगायत स्वास्थ्य सामग्री प्रदान समेत गरेको थियो । गएको बुधबार राति ढोरपाटन शिकार आरक्ष छेउको देउराली पहाड पहिरोले खसेर भुजी खोला थुनिएर फुटेपछि आएको बाढीले घरहरु बगाउंदा १४ जनाको मृत्यु भएको थियो । अझै २४ जना वेपत्ता रहेका छन् ।

प्रदेश ५ का पाँचवटा विकास बैंकहरु मिलेर प्रदेशकै पहिलो राष्ट्रियस्तरको विकास बैंक बनेको शाइन रेसुंगाको अधिकृत पूँजी ५ अर्ब र चुक्ता पूँजी दुई अर्ब ६२ करोड रहेको छ । बैंकका प्रदेश ५, बागमती प्रदेश र गण्डकी प्रदेशमा गरी ७० वटा शाखा कार्यालय र चार लाख भन्दा बढी ग्राहक रहेका छन् ।

यसैबीच ढोरपाटनका पहिरो प्रभावित परिवारको राहतका लागि पोखरा नुडल्सले ५० काटुन रम्बा चाउचाउ उपलब्ध गराएको छ । गुल्मीको सदरमुकाम तम्घासमा पोखरा नुडल्सको आधिकारिक बिक्रेता रहनुभएका मृगेन्द्र शपिङ सेन्टरका प्रोपाइटर मृगेन्द्र प्रसाद श्रेष्ठले पहिरो पीडितहरुलाई ५० काटुन रम्बा चाउ–चाउ प्रदान गर्नुभएको हो ।