थप ९०२ जनामा कोरोना पुष्टि, एकै दिन २ हजार २८७ निको

काठमाडौं उपत्यकाका थपिए ३९६ जना संक्रमित

काठमाडौं । आज थप ९०२ जनामा कोरोना पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्गर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर नमुना परीक्षणमा उनीहरुमा संक्रमण पाइएको हो । आज थपिएका समेत गरेर नेपालमा संक्रमितको संख्या ४८ हजार १ सय ३८ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ हजार २८७ जना कोरोनाबाट निको भइ घर फर्किएका छन्। यो एकै दिन निको हुने हालसम्मकै धेरै हो । हालसम्म निको हुनेको संख्या ३२ हजार ९६४ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ।
विगत २४ घण्टामा १० हजार ६११ जनाको पिसिआर परीक्षण भएको प्रवक्ता गौतमले बताएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ६ जनाको संक्रमितको मृत्यु भएको छ । यीसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३०६ पुगेको छ।

आज थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकाका ३९६ जनामा छन् । प्रवक्ता गौतमका अनुसार काठमाडौंका ३००, भक्तपुरका ५८ र ललितपुरका ३८ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै काठमाडौंमा कुल संक्रमितको संख्या ६ हजार ९१७ पुगेको छ भने ललितपुरमा ९३९ र भक्तपुरमा ७२४ जना छन् ।