कोरोनाले राष्ट्रिय बाल दिवसका कार्यक्रम प्रभावित

गुल्मी । महामारीको रुपमा फैलिएको कोभिड–१९ले सबैक्षेत्रहरुमा प्रभाव पारिरहेको छ। सामुहिक रुपमा भेला भई मनाइने मेला पर्व, जात्रा, दिवसहरु कोरोना भाइरस संक्रमण जोखिमका कारण प्रभावित बनेका हुन् ।

विगतका वर्षहरुमा विभिन्न दिवसहरुका अवसरमा गुल्मीको सदरमुकाम तम्घासमा विभिन्न संघसंस्थाहरुले कार्यक्रम आयोजना गर्ने गर्थे । तर यस वर्ष सामुहिक रुपमा कार्यक्रमहरु कमै आयोजना हुने गरेका छन् ।

प्रत्येक वर्षको भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ । बालबालिकाहरुको हक अधिकार स्थापित गर्न जिल्लामा सप्ताहव्यापी कार्यक्रम गरि मनाउने गरिन्थ्यो । सदरमुकाम तम्घासमा नेपाल बाल संगठनले विभिन्न कार्यक्रमहरु आयोजना गर्दथ्यो । तर यस वर्ष राष्ट्रिय बाल दिवसका अवसरमा विगतका वर्षहरुमा नेपाल बाल संगठनले गर्दै आएका कार्यक्रमहरु नहुने भएको छ ।

सदरमुकाम तम्घासमा नेपाल बाल संगठनका अध्यक्ष नन्दराम भुसालको अध्यक्षतामा बसेको बैठकले यस वर्ष विश्वव्यापी महामारीका कारण यसको संक्रमण जोखिमलाई ध्यान दिँदै यस्तो निर्णय गरेको सचिव हरि कुमार श्रेष्ठले जानकारी दिनुभएको छ ।

विगतका वर्षहरुमा राष्ट्रिय बाल दिवसका अवसरमा सदरमुकाम तम्घासमा जिल्लाका विभिन्न अन्तर बिद्यालयस्तरीय प्रतियोगिताहरु,बालबालिकाहरुको निःशुल्क स्वास्थ्य परिक्षण,फलफुल वितरण, वृह्त्तर सरसफाई लगायतका रचनात्मक कार्यक्रम गरि मनाउने गरिन्थ्यो ।

तर यस वर्ष कोरोना भाइरस संक्रमण जोखिमका कारण दिवसरको अवसरमा गरिँदै आएका कार्यक्रम आयोजना नगर्ने निर्णय गरिएको सचिव श्रेष्ठले जानकारी दिनुभयो । बैठकले बाग्लुङ्गको बाढी पहिरोको प्राकृतिक विपत्तीमा परेको ढोरपाटन नगरपालिकालाई सहयोग गर्ने निर्णय समेत भएको छ ।

बाल संगठनको जिल्ला कार्य समितिको तर्फबाट ढोरपाटन नगरिपालिकामा गएको बाढी पहिरोको विपत्तिमा परेका अनाथ बालबालिकाहरुको सहयोग र उद्वारका लागि रु १० हजार सहयोग गर्ने निर्णय भएको श्रेष्ठले जानकारी दिनुभएको छ । यस्तै जिल्ला बाल संगठन गुल्मीको सटर बहालमा लिई व्यवसाय गर्दै आउनुभएकालाई भाडामा रु ४५ हजार बराबरको छुट दिइएको पनि उहाँले जानकारी दिनुभयो ।