आज थपिए १०३९ कोरोना संक्रमित, ११७३ डिस्चार्ज
अब दुई हजार रुपैयाँमै पीसीआर
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३९ संक्रमित थपिएका छन् । नेपालमा कोरोना संक्रमितको संख्या ५४ हजार १५९ पुगेको छ।
त्यस्तै आज ११७३ जना निको भइ डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या ३८६८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभरका प्रयोगशालामा ९ हजार १६५ नमुना परीक्षण गरिएको बताइएको छ । आज समेत गरेर ८४०५२७ को पीसीआर परीक्षण भएको छ । हाल क्वारेन्टिमा ६५३६ जना रहेका छन् । हाल देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार ११७ रहेको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले बताएका छन् ।
संक्रमित मध्ये २३ जनाको भेन्टिलेटरमा र १६९ जनाको आईसीयुमा उपचार भइरहेको बताइएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । आज समेत गरेर कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ३४५ पुगेको छ ।
पीसीआर परीक्षणको शुल्क दुई हजार मात्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको चेक जाँच पीसीआर परीक्षण शुल्क घटाएको छ । विश्वबजारमा पीसीआर परीक्षणसँग सम्वन्धित सामानको मूल्य घटेकाले नेपालमा पनि शुल्क घटाइएको मन्त्रालयले जनाएको छ ।
अब सरकारी तथा निजी अस्पतालहरुले दुई हजार रुपैयाँ मात्र पीसीआर परीक्षण गर्नुपर्ने जनाएको छ । मन्त्रालयले केही हप्ता अघि ४ हजार ४ सय तोकेको थियो । सरकारले ४४ सय तोकेपनि केही निजी अस्पताल तथा ल्यावहरुले २५ सयदेखि ४२ सयसम्ममा पीसीआर परीक्षण गर्दै आएका थिए । अब भने सरकारले पीसीआर परीक्षणको शुल्क सवै गरेर २००० रुपैयाँ तोकेका हो ।