दर्जन नेताको सभापति उम्मेदवार बन्ने आकांक्षा : देउवालाई रोक्न कि पौडेललाई छेक्न ?

काठमाडौं । पार्टीको महाधिवेशनमा दललाई भन्दा आफूलाई उच्च महत्व दिएर शक्तिशाली हुन खोजेकोमा सभापति शेरबहादुर देउवाको आलोचना बढ्दै गएको छ । नेपाली कांग्रेसका सभपति देउवा विरोधी खेमाका नेताहरुले आउँदो महाधिवेशनमा आफू सभापति हुन इच्छुक रहेको भन्दै घोषणा गर्न थालेका छन् भने सभापति हुन चाहनेहरुको संख्या झण्डै एकदर्जन पुगेको छ ।
प्रमुख नेताहरुको व्यक्तिगत स्वार्थले पार्टी कमजोर हुँदै गएकोमा लाखौ कार्यकर्तालाई निरास बनाइरहेको छ । तर उनीहरु तत्काल कुनै विकल्प देखिरहेका छैनन् ।
नयाँ संविधान जारी भएपछि नेपाली कांग्रेसको अवस्था खस्किदै गएको भन्दै नेताहरुले चिन्ता व्यक्त गरेका छन् । राष्ट्र र जनताको हितमा स्पष्टसँग बोलेर जनताको मन जित्न नसक्दा गत निर्वाचनमा पार्टी नराम्रोसँग पराजित भएको तितो यथार्थलाई भुल्न नहुने नेताहरु बताउँछन् ।
देश र जनताको हितमा सत्तालाई खबरदारी गर्नुपर्ने प्रतिपक्षको दायित्व भएपनि सभापति एवं संसदीय दलका नेता देउवा सत्तापक्षसँगै चोचोमोचो मिलाएर बसेको आरोप लागेको छ । पार्टीको महाधिवेशन नजिकिदै जाँदा सभापति देउवा वसरी पनि पुनः सभापति बन्ने ध्याउनमै लागेको आरोप नेताहरुले लगाएका छन् । सरकारको नराम्रा कामको खवरदारी गर्नुपर्ने नेता देउवा प्रधानमन्त्रीसँग सम्वैधानिक पदहरुमा भागवण्डाको लोभमा अल्झिएका छन् ।
महाधिवेश नजिकिदै जाँदा ११ जना नेता सभापति हुने चाहनामा छन् भने उनीहरु विभाजित हुँदा त्यसले देउवालाई नै फाइदा हुने देखिन्छ । रामचन्द्र पौडेल र उनको समूहका भनेर चिनिएका नेताहरु सशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइरालालगायतले आफू सभापति हुन चाहेको बताएका छन् ।
रामशरण महत र अर्जुनरसिंह केसी पनि इच्छुक देखिएको बताइएको छ । देउवा समूहकै विमलेन्द्र निधि, गोपालमान श्रेष्ठले पनि सभापति बन्ने आकांक्षा राखेका छन् । त्यस्तै कृष्ण सिटौलाले आफू सभापति हुने इच्छा व्यक्त गरेको र कथमकदाचित अन्त्यमा मनोनयन फिर्ता लिनुपर्ने अवस्था आएमा गगन थापालाई सभापतिको उम्मेदवार बनाउन सक्ने सम्भावना देखिन्छ । सभापति उम्मेदवार हुन दर्जन नेताले आकांक्षा राखेपनि सभापतिका प्रमुख दावेदारका रुपमा देउवा र पौडेललाई हेरिएको छ ।
देउवाले आफू समर्थिनहरुलाई अन्य पदमा चित्त बुझाउन लगाएर एक्लो उम्मेदवार बनेमा र देउवाविरोधीहरु आपसमा विभाजित हुँदा त्यसले देउवा समूहलाई नै फाइदा पुग्ने देखिएको छ ।
चार वर्षमा हुनुपर्ने महाधिवेशन असाधारण अवस्था देखाएर एक वर्ष कार्यकाल थप्न सकिने विधानमा उल्लेख छ । सोही अनुसार एक वर्ष म्याद थपिइसकेको छ । तर अहिले कोभिड १९ को कारण देखाएर महाधिवेशन हुने कि नहुने भन्ने आशंका बढिरहेको छ ।
०७७ फागुनमा गर्ने भनिएको महाधिवेशन ०७८ भदौ भित्रमा हुन सक्ने भन्दै केही नेताहरुले टिप्पणी गरेका छन् । पार्टीमा विभिन्न विभाग गठन र मनोनयन गर्दा देउवाले आफूखुशी गरेको आरोप लगाएर उनका आलोचकहरुले मनोवैज्ञानिक प्रहार गरिरहेका छन् ।
यसैवीच सभापति देउवासँग क्रुद्ध भएका पौडेल पक्षका नेता, कार्यकर्ता देउवाविरुद्ध धर्नामा बस्ने तयारीमा लागेको बताइएको छ । केही दिनअघि बसेको पौडेल समूहको वैठकले धर्ना र अनशनसम्मको दवाव दिएर देउवाले गरेका विधान विरोधी कार्यहरु खारेज गर्न वाध्य बनाउने रणनीति बनाएका छन् ।
एकतर्फी रुपमा थपिएका विभाग र मनोनयन खारेज गर्नुपर्ने र विधान मिचेर डडेलधुरा, ओखलढुंगा, सोलुखुम्वु, रसुवालगायतका जिल्लामा गरिएको सदस्यता वितरण पनि खारेज गर्नुपर्ने पौडेल पक्षको माग छ । उनीहरुले विधान अनुसार चल्न सभापतिलाई पटकपटक दवाव दिएपनि सुनुवाई नभएको आरोप लगाइएको छ ।
यसैवीच पौडेल समूहका नेताहरु पनि विभाजित हुन थालेका छन् । पार्टी महामन्त्री सशांक कोइरालाले शेरबहादुर देउवासँग टक्कर लिन सक्ने नेता आफू मात्र भएको दावी गरेका छन् । उनले आउँदो महाधिवेशनमा आफू सभापतिको उम्मेदवार बनेर देउवालाई परास्त गर्ने बताएका छन् । कोइरालाले रामचन्द्र पौडेलसँग त्यो शक्ति नभएको भन्दै नयाँ पुस्ताले पनि आफूलाई रुचाएको दावी गरेका छन् ।
आफ्नो अवस्था बलियो बनाउने प्रयासमा लागेका नेताहरुले पार्टीलाई बलियो बनाउने कोसिस गरेको देखिदैन । यसले गर्दा महाधिवेशन पछि पनि गुटबन्दी अन्त्य हुने वा ध्रुविकरण समाप्त हुने सम्भावना न्यून हुँदै गएको नेताहरुले स्वीकार गरेका छन् ।