भारत–चीन सम्भावित युद्ध ट¥यो

काठमाडौं । नेपालका दुई छिमेकी राष्ट्र चीन र भारतबीच पछिल्ला केही महिनादेखि सीमा क्षेत्र लद्दाखमा विवाद चर्किएको छ । केही महिनाअघि त्यहाँ दुई देशका सेनाबीच विवाद हुँदा भारतका २० भन्दा बढी सैनिकको मृत्यु भएको थियो भने चीनतर्फ कति क्षति भयो भन्ने कुरा बाहिर आएन । केही दिनअघि पनि दुई देशका सेनाबीच त्यहाँ विवाद भएको थियो । विवादका क्रममा हवाई फायर समेत भएपछि दुई मुलुकबीच युद्ध हुन सक्ने आँकलन गर्न थालिएको थियो ।
चीन र भारतबीच विवाद हुँदा नेपाल पनि त्यसबाट प्रत्यक्षअप्रत्यक्ष रुपमा प्रभावित हुनेमा दुईमत छैन । भारतीय सेनामा हजारौ गोर्खाली सेनाहरु कार्यरत छन् । चीनसँग होस् वा पाकिस्तानसँग, सीमामा विवाद हुँदा भारतले गोर्खाली सेनाहरुलाई परिचालन गर्ने गरेको छ । जसबाट धेरै नेपालीले भारतका लागि ज्यान गुमाएका छन् ।
त्यस्तै दुई छिमेकी मुलुकबीच युद्ध भएमा कसको पक्षमा लाग्ने भन्ने तनाव नेपाललाई थपिने थियो । तर दुई मुलुकबीच हाललाई तनाव अन्त्य भएको छ । लद्दाख क्षेत्रको सीमा विवादका कारण सिर्जित तनाव कम गर्न भारत र चीनबीच पाँच बुँदे सहमति भएपछि नेपालको तनाव पनि केही कम भएको छ । भारतीय विदेशमन्त्री एस जयशंकर र चिनियाँ समकक्षी वाङ यीबीच रुसको राजधानी मस्कोमा भएको वैठकमा पाँच वुँदे सहमति भएको हो ।
सांघाई सहयोग संगठन(एससीओ)को बैठकमा सहभागी हुन दुवै देशका विदेशमन्त्री मस्को पुगेका थिए । दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउन नेतृत्वको मार्गदर्शन लिने र आपसी असमझदारीलाई विवादमा परिणत हुन नदिन सहमति भएको बैठकपछि जारी संयुक्त प्रेस वक्तव्यमा जनाइएको छ ।
सीमामा हाल देखिएको परिस्थिति दुवै देशको हितमा नभएकाले विवाद समाधान र सेनालाई पछाडि हट्न र तनाव हटाउन सैन्यस्तरमा वार्ता जारी राख्ने, सीमा विवाद सुल्झाउनका लागि विशेष प्रतिनिधि संयन्त्रको बैठकलाई निरन्तरता दिइने, परिस्थिति सामान्य हुनासाथ दुवै देशबीच नयाँ विश्वास जगाउन र सीमा क्षेत्रमा शान्ति स्थापना गर्न पनि सहमति भएको छ ।
बिहीबार करिब तीन घन्टा चलेको वैठकमा चिनियाँ विदेशमन्त्रीले पनि चीन र भारत एक अर्काका लागि प्रतिस्पर्धी र खतरा नभएको बरु साझेदार मित्र र एकअर्काका लागि विकासको अवसर भएको उल्लेख गरेका थिए । चीनियाँ विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा विदेशमन्त्री यीले जबसम्म दुवै पक्ष सम्बन्धलाई सही दिशामा डोरÞ्याइरहन्छन् त्यतिबेलासम्म जुनसुकै अप्ठ्यारा र चुनौतीलाई पार पाउन सकिनेमा जोड दिएको छ ।
यसअघि मस्कोमै भारत र चीनका रक्षामन्त्रीहरुको बैठकसमेत बसेको थियो । तर, उक्त बैठक बसेको दुई दिन नबित्दै भारत र चीनबीच सीमाक्षेत्रमै फेरि तनाव चर्किएको छ । गत सोमबार राती पूर्वी लद्दाखकै पाङगोङ छो ताल किनारको रेजाङ लास्थित समा सीमा क्षेत्रमा भएको फायरिङका कारण फेरि दुई देशबीच तनावपूर्ण स्थिति बनेको हो । उक्त घटनालाई लिएर दुवै देशबीच आरोप प्रत्यारोप पनि सुरु भएको थियो । दुवै देशले आफ्नो तर्फबाट गोली नचलाएको दाबी गरेका छन् । सीमा क्षेत्रमा गोली चलेको पछिल्लो घटना भने पैतालीस वर्षपछिको पहिलो भनिएको छ । सीमा विवादलाई नै लिएर सन् १९६२ मा दुई मुलुकबीच युद्धसमेत भएको थियो ।
चीन र भारतबीचको विवादास्पद क्षेत्रलगायतका केही सीमा क्षेत्रलाई लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी) बाट छुट्टयाइएको छ । दुवै मुलुकले समयसमयमा एकअर्कालाई एलएसीको उल्लघंन आरोप लगाउँदै आएका छन् । गत जुनको दोस्रो सातादेखि गलवान उपत्यका, तातो पानी र प्याङगङ ताल क्षेत्रको त्यही एलएसीमा भएको अतिक्रमणलाई लिएर तनाव चर्किएको हो ।