रंगशालाले जित्यो व्याड्मिन्टन
चितवन / भरतपुर १६ बसन्धरा स्कुल प्रांगणमा शनिवार आयोजित व्याड्मिन्टन प्रतियोगिता रंगशाला व्याड्मिन्टन क्लबले जितेको छ । ८ टिम सहभागी प्रतियोगितामा विजेता र उपविजेता दुवै पुरस्कार उसैले पाएको छ ।
प्रतियोगितामा देवी शिवालय व्याड्मिन्टन क्लबका ४ टिम र रंगशाला व्याड्मिन्टन क्लबका ४ टिम सहभागी थिए । विजेता सरोज ढकाल र रामचन्द्र सापकोटाको टिमले सेमिफाइनलमा रंगशाला टिमकै राजु हमाल र पूर्णचन्द्र सुवेदीमाथि विजय हासिल गरेको थियो । यसैगरी उपविजेता नारायण श्रेष्ठ र राजेन्द्र थापाको टिमले देवी शिवालय टिमका राजु पौडेल र चेतन घलेलाई जितेर फाइनलमा पुगेको थियो ।
लक्की ड्र मा विजेता टिमसँग परेको देवी शिवालयको टिमका मिलन र सफल राम्रोे सम्भावना बोकेका नयाँ पिढीका खेलाडी हुन् । त्यस्तै सोही टिमका प्रवेश र टिका पनि आसालाग्दा खेलाडी हुन् । रंगशाला टिमका एक खेलाडी गणेश केसीले भने,– यो प्रतियोगिता नयाँ पिढीलाई उत्साहित गर्ने मैत्रीपूर्ण खेल हो । देवी शिवालय टिमका अन्जन बिसीका अनुसार विगत तीन सातादेखि यी दुई टिमबीचको मैत्रीपूर्ण प्रतियोगिता जारी छ र आगामी साता पनि कायम रहने छ ।