नेकपामा बिखण्डन चाहने तत्वहरुका स्वार्थी चाहनाहरुमा ब्रेक लागेको छःमन्त्री ज्ञवाली

गुल्मी ।परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले भरर्खरै सकिएको नेकपाको स्थायी कमिटी बैठकले लामो समयदेखि नेकपा भित्र रहेको आन्तरिक जीवनलाई संकटबाट मुक्त गर्दै पार्टीलाई एकताबद्ध गर्ने नयाँ स्थिती सिर्जना गरेको बताउनुभयो ।

उहाँले भन्नुभयोे ‘यसबीचमा धेरैले कल्पना गरे । नेकपा कतै विखण्डन हुन्छकी। धेरैले चिन्ता व्यक्त गरे देश दुर्घटना पर्छकी।’ जनताको साथ विभिन्न कार्यकर्ताहरु र नेताहरुको सक्रिय पहलकदमी र नेताहरुको सुजबुझका आधारमा अन्ततःनेकपा थप एकताबद्ध भएको बताउनुभयो।
नेकपा एकताबद्ध हुँदा संविधानका पक्षधर शक्ति एकतावद्ध हुने बताउँदै मन्त्री ज्ञवालीले भनुभयो ‘नेकपा एकताबद्ध हुँदा राष्ट्रियताका पक्षधर शक्तिहरु एकताबद्ध हुनु हो। देश एकतावद्ध हुनु हो।’ यसले नेकपालाई कमजोर गरेर देशलाई फेरी दुर्घटनातिर,अस्थिरतातीर ढकेल्न चाहने विभिन्न समुह र तत्वहरुका स्वार्थी चाहनाहरुमा ब्रेक लागेको बताउनुभयो।
उहाँले प्रधानमन्त्री केपी शर्मा ओली सरकार सञ्चालनमा केन्द्रित हुने र अर्का अध्यक्ष प्रचण्ड पार्टी सञ्चालनमा केन्द्रित हुने गरी काम बाडबाफाँड गरेको बताउनुभयो। अगामी चैतमा एकता महाधिवेशन गर्ने बताउँदै अहिले सम्पुर्ण प्रयासहरु एकता महाधिवेशनतिर केन्द्रित भएको बताउनुभयो ।
साथै उहाँले नेकपा नेताहरुलाई सामाजिक सञ्जालहरु मार्फत एकआपसमा आरोप प्रत्यारोप र कटाक्ष नगर्न आग्रह गर्नुभयो। पार्टी एकतालाई कमजोर गर्ने खालका अभिव्यक्तिहरु दिने नेतृत्वलाई बद्नाम गर्ने नेतृत्वको प्रतिष्ठा माथि आघात पु¥र्याउने खालका टिका टिप्पणी गर्ने काम नगर्न आग्रह गर्नुभयो ।
उहाँले पार्टी एकताको पक्षमा सार्थक रचनात्मक भुमिका खेल्न सबै नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । पत्रकार सम्मेलनमा पत्रकार महासंघ गुल्मीका अध्यक्ष नवराज भुसाल लगायत जिल्लास्थित विभिन्न सञ्चार माध्यममा सक्रिय पत्रकारहरुको उपस्थिती रहेको थियो।