उमाकान्त पन्थी पशुपालन व्यवसायमा व्यस्त

गुल्मीको रेसुङ्गा नगरपालिका–१ का उमाकान्त पन्थी अहिले पशुपालन व्यवसायमा व्यस्त हुनुहुन्छ। उमेरले ४२ वर्ष पुग्नुभएका पन्थीले १९ वर्ष सशस्त्र प्रहरीमा रही देशको सेवा गर्नुभयो। अवकास पछिको समयमा पन्थी अहिले पशुपालन व्यवसायमा लाग्नुभएको हो। उहा २०७५ सालमा पन्थी गाई फर्म सञ्चालन गरी निरन्तर पशुपालन व्यवसायमा लाग्नुभएको छ।

शुरुमा पन्थीले करिब १५ लाखको लगानीमा ३ वटा उन्नत जातका गाईबाट गाईपालन व्यवसाय शुरु गर्नुभयो। होलेस्टेन गाई, जर्सी गाई र अमेरिकी गाई उहाँले बुटवलको मणिग्राममा रहेको उमा देवी गाई फर्मबाट ल्याउनुभएको थियो। अहिले उहाँको फर्ममा ६ वटा गाई रहेका छन् ।

चार वटा गाईले दुध दिन्छन्। सुत्केरी हुने ५ वटा गाई रहेका छन्। दिनमा उहाँले ५५ लिटर दुध विक्रि गर्नुहुन्छ। फर्मबाट नै उहाँले प्रतिलिटर रु ७५ रुपैँयामा दुध विक्रि गर्दै आउनुभएको छ। दुध खरिदका लागि ग्राहकहरु उहाँको फर्ममै पुग्ने गर्दछन्।

गाईपालनबाट नै उहाँले महिनामा ५० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ। दुध विक्रिका लागि समस्या छैन्। आफ्नै फर्मबाट नै प्याकिङ गरि दुध विक्रि गदै आउनुभएको छ।

गाईको लागि आवश्यक पर्ने पराल कार्तिक, मंसिरको समयमा छल्दी पनाहमा पुगी ल्याउनुहुन्छ। उहाँको फर्ममा दुई जनाले रोजगार समेत पाएका छन्। पन्थी बिहान ४ बजे फर्ममा पुग्नुहुन्छ । बिहान ६ बजेसम्म दुध प्याकिङमा लाग्नुहुन्छ। त्यसपछि उहाँको फर्ममै दुध खरिदका लागि ग्राहकहरु पुग्ने गर्दछन्।

गाईपालनमा उहाँकी श्रीमती कल्पना पन्थीले सघाउनुहुन्छ। यस अलवा कल्पना सामाजिक कार्यमा समेत अग्रसर हुनुहुन्छ। आफु श्रीमानकै सहयोगले सामाजिक कार्यमा समेत लाग्न पाएकाले घरमा रहँदा श्रीमानसँगै गाईपालन व्यवसायमा सघाउने गरेको बताउनुभयो ।

पन्थी दम्पत्ती गाईपालन व्यवसायबाट खुसी हुनुहुन्छ। गाईको मल बिक्रि गर्नुहुन्छ। भने यसबाट तरकारी खेती पनि गर्ने गरेको कृषक उमाकान्त पन्थीको भनाई छ। तर हिउँदको समयमा भने मिटरमा पानी नआउँदा समस्या हुने गरेको उहाँ बताउनुहुन्छ।

‘हिउँदको समयमा मिटरमा पानी आउँदैन् । तिनधारबाट पानी बोकेर गाईलाई खुवाउनुपर्छ । फर्मका लागि ड्रमको आवश्यक छ।’ सम्बन्धीत निकायमा जानकारी गराए पनि त्यो सुविधा पाउन नसकिरहेको उहाँले बताउनुभयो। त्यति मात्र होइन मल फाल्नका लागि ठेला गाडीको आवश्यक छ। ‘रातीमा लाइन जान्छ। सोलर बत्तिको आवश्यक छ।’ पन्थीले भन्नुभयो ।

सशस्त्र प्रहरीको यात्रा देखि अहिले पशुपालन व्यवसायमा अग्रसर पन्थीसँग विदेशको अनुभव पनि छ। उहाँले भन्नुभयो ‘जागिरको अवधिमा शान्ती सेनामा जाने अवसर पाँए।’ युद्धग्रस्त देश लाइब्रेरियाको समेत अनुभव बटल्नुभएका पन्थीले अर्कोको देशमा पसिना बगाउनु भन्दा आफ्नै देशमा मेहनत गरे यहि सुन फलाउन सकिने विश्वास व्यक्त गर्नुभयो।

कृषकहरुलाई राज्यले प्राथमिकता दिएपनि ग्रासरुटसम्म पुग्न सकिरहेको छैन्। राज्यले कृषकहरुका लागि सुहलियपूर्ण कर्जा दिने भने पनि वास्तवीक कृषकहरु समक्ष पुग्न नसकिरहेको छ । कृषकहरुलाई राज्यले प्रोत्साहन गर्न सके मात्र देश समृद्ध हुन सक्छ। राज्य समृद्ध बन्नका लागि ग्रासरुटबाट नै कृषकहरुलाई प्रोत्साहन गर्न आवश्यक देखिन्छ।