कोरोनाको वहना, महाधिवेशन सार्ने योजना
काठमाडौं । नेपाली कांग्रेसभित्र पार्टीलाई एक ढिक्का बनाउने कुरा चलेको धेरै भयो । तर सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीचको दुरी झन बढ्दै गएको अवस्था छ । कहिले संगठनको स्वरुपलाई लिएर त कहिले महाधिवेशनको प्रक्रियाका बारेमा वहस चल्ने गर्छ । पार्टीभित्र दार्शनिक र सैद्धान्तिक विषयमा छलफल हुने कुरा विरलै सुनिन्छ ।
देउवाले महाधिवेशन नगराई पार्टीमा संवैधानिक संकट निम्त्याउन खोजिएको आशंका पौडेल पक्षको छ । कोरोना महामारीलाई देखाएर महाधिवेशन सार्न खोजेको पौडल पक्षको आरोप छ । तर सभापति देउवाले आफू पार्टीको विधानबाहिर जान नसक्ने बताएका छन् । नेपालको संविधान र पार्टीको विधानबारे आफू जानकार रहेको वताउँदै तोकिएकै समयमा महाधिवेशन हुने देउवाले दावी गरेका छन् ।
बुधबार कोभिड–१९ अनुगमन समितिद्वारा आयोजित प्रदेश ५ को अन्तक्र्रिया कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने ‘तपाईंहरू चिन्ता नगर्नुहोस्, पार्टीको विधानबाहिर जान सक्दिनँ । किन आशंका गर्नुहुन्छ ? तोकिएको मितिमै महाधिवेशन हुन्छ ।’
केन्द्रदेखि तल्लो तहसम्म नेता, कार्यकर्ता ध्रुविकृत हुँदै गएको छन् । तीन तहको चुनावमा पराजय भोगिसक्दा पनि नेतामा चेतना नआएको अधिकांस कार्यकर्ताको गुनासो रहेका बेला देउवाले भने ‘कांग्रेसमा मेरो विरोध जति पनि गर्न पाइन्छ तर जनता मालिक हुन् । भोलिको चुनावमा कसरी जितेर आउने, त्यतातिर सोच्नुहोस् ।’
पार्टी सभापति देउवा संसदीय दलको नेता समेत रहेकाले प्रतिपक्षी दलको भूमिका कमजोर हुनुमा उनीनै प्रमुख दोषी भएको कांग्रेसकै नेताहरु बताउँछन् । तर देउवा भने उल्टै नेतहरुप्रति गुनासो गरेका छन् । उनले पार्टीभित्र आफ्नो विरोध गरे पनि प्रधानमन्त्री केपी ओलीको विरोध गर्न नसकेको नेता, कार्यकर्तामाथि आरोप लगाएका छन् ।
आफ्ना नेता, कार्यकर्ताप्रति प्रश्न गर्दै देउवाले भनेका छन् ‘शेरबहादुर देउवाको जति पनि विरोध गर्न पाइन्छ तर ओलीको विरोधमा कोही बोल्दैन, सरकारले यत्रो ज्यादती गर्दा पनि किन विरोधमा बोल्न सक्दैनन् ?’
पार्टीको १४औँ महाधिवेशन फागुनमै हुने दावी देउवाले गरेपनि उनी २०७८ भदौसम्ममा महाधिवेशन गर्ने सोचमा रहेको उनी निकटस्थहरुले बताएका छन् । यसको संकेत देउवा आफैले पनि गरेका छन् ।
एक दिनअघिसम्म कुनै पनि हालतमा फगुनमै महाधिवेशन हुने दावी गरेका सभापति देउवाले विबीबार कांग्रेसको केन्द्रीय कोभिड–१९ अनुगमन समितिले आयोजना गरेको कर्णाली प्रदेश स्तरीय भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै ‘०७७ फागुनमै महाधिवेशन हुन्छ, यदि हुन नसके भदौसम्ममा कुनै पनि हालतमा गर्नुपर्छ’ भनेका छन् ।
पार्टीका सहमहामन्त्री एवं कोभिड १९ अनुगमन समितिका संयोजक डा. प्रकाशशरण महतले अब बस्ने केन्द्रीय कार्यसमितिको बैठकले सर्वसम्मत रूपमा महाधिवेशनको अर्को मिति तय गर्ने स्पष्ट गरेका छन् । उनी देउवा निकट नेता हुन् । त्यसैले महाधिवेशन ०७७ मा नहुने प्रायः निश्चित देखिन्छ ।
पार्टीभित्र प्रमुख रुपमा देउवा, पौडेल र कृष्ण सिटौला गुट छन् भने उपगुटहरु दिनप्रतिदिन बढ्दै गएका छन् । गुट–उपगुटका नेताहरुलाई पार्टीलाई कसरी मजवुत बनाउने र जनताको सेवा गर्ने भन्नेमा भन्दा पनि कसरी सशक्त बनेर महाधिवेशनमा आफ्नो ठाउँ सुरक्षित गर्ने भन्नेमै तल्लिन देखिन्छन् ।
त्यस्तै महामन्त्री सशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइराला, गगन थापा, अर्जुननरसिंह केसी, रामशरण महत, विमलेन्द्र निधिलगायतका नेताहरु पनि महाधिवेशन पछि आफ्नो अवस्था बलियो बनाउन विभिन्न रणनीति अपनाइरहेका छन् । तर पार्टीलाई बलियो बनाउने कुरा कमै सुन्ने गरिएको कार्यकर्ताको गुनासो ।