मैले आफ्नो जिम्मेवारी निर्वाह गरेको छु
- होमनारायण श्रेष्ठ – अध्यक्ष ( जुगल गाउँपालिका, सिन्धुपाल्चोक)
सिन्धुपाल्चोक जिल्लामा जुगल गाउँपालिकाको आफ्नै विशेष स्थान छ । अहिले यो गाउँपालिकामा पहिरोले दुःख दिएको छ । विकट भूगोलसित लड्नैपर्ने बाध्यता बोकेको यो गाउँपालिकामा होमनारायण श्रेष्ठले शासकीय जिम्मेवारी पाउनुभएको साढे तीन वर्ष पुगिसकेको छ । यी साढे तीन वर्षमा के के काम भए, बाँकी डेढ वर्षमा के गर्ने योजना छ ? लगायतका समसामयिक विषयमा रेसुङ्गा टुडे प्रतिनिधि लक्ष्मी बोहोराले गरेको कुराकानीको मुख्य अंश आजको अंकमा ।
आज आमगाउँबासीको सेवामा हुनुहुन्छ, यो अवसर पाउँदा कस्तो महसुस भएको छ ?
यो मेरो दायित्व हो, मैले मेरो कर्तव्य निर्वाह गरिरहेको छु । यो जिम्मेवारी पुरा गर्छु भनेर आमगाउँवासीले जिम्मेवारी दिनु भएको होे । उनीहरुले दिएको जिम्मेवारी पुरा गरिरहेको छु । यो जिम्मेवारी पाएको साढे तीन वर्ष पुरा भएछ । बाँकी समय अझै जिम्मेवारीपूर्वक निभाउँछु ।
यस गाउँपालिकाको भौगोलिक अवस्थाको बारेमा बताई दिनुहुन्छ कि ?
जुगल गाउँपालिका बागमती प्रदेश अन्तर्गत सिन्धुपाल्चोक जिल्लामा पर्दछ । यस गाउँपालिकाको कुल क्षेत्रफल ५९२ वर्ग कि.मि रहेको छ । यो गाउँपालिकाको एउटा गाउँ भक्तपुर जिल्ला भन्दा पनि ठूलो रहेको छ । यस ठाउँमा बस्तीहरु छरिएर रहेका छन् । काठमाडौबाट सिन्धुपाल्चोक जिल्ला जोडिएको जिल्ला हो । यो गाउँपालिका ७ वटा वडा मिलेर बनेको छ । यस गाउँपालिकामा चीनसंग जोडिएको हिमाल र हिमश्रृंखलाहरु पनि पर्छ । २०६८ को जनगणना अनुसार यस गाउँपालिकाको जम्मा जनसंख्या १९२२३ रहेको छ । यहाँका बासिन्दाको मुख्य विशेषता भनेको धार्मिक र साँस्कृतिक विविधतामा एकता हो । यस गाउँपालिकामा विभिन्न धर्मका अनुयायीहरु बस्छन् बौद्ध ,हिन्दु, क्रिश्चियनहरुको बसोबास रहेको छ । जसले गर्दा सार्वलौकिक संस्कृति झल्काउँछ । यहाँको मुख्य भाषा भनेको तामाङ, नेपाली, शेर्पा र नेवारी हो यस गाउँका मानिसहरु एकआपसमा मिलिजुलि बस्दै आएका छन् ।
यस गाउँपालिकामा खानेपानीको व्यवस्था कस्तो रहेको छ ?
यो गाउँपालिकामा प्राकृतिक सुन्दरताले गर्दा खानेपानीका मुहानहरु प्रसस्त छन् । तापनि विभिन्न कारणले गर्दा यहाँका गाउँबासीहरुले प्रसस्त रुपमा खानेपानीको उपयोग गर्न पाएका छैनन् । गाउँपालिकाले पानीको मुहानहरुको व्यवस्था गर्न लागिरहेको छ । सम्पूर्ण गाउँबासीहरुलाई स्वच्छ र सफा पानी उपयोग गर्नका लागि गाउँपालिका र गाउँबासी सबैले संघर्ष गर्नु परेको छ । प्रत्येक घरमा पानीको धारा पुग्ने गरी काम भईरहेको छ । सबै प्रकृया पुगेको छैन सबै प्रकृया पुरा भएपछि सबै गाउँबासीहरुले सफा र स्वच्छ पानी उपयोग गर्न पाउने छन् ।
यस गाउँपालिकाले कृषिमा के कस्तो काम गर्ने योजना बनाएको छ ?
यस गाउँपालिकाको कतिपय फाँटहरुमा धानजन्य र कतिपय बाँकी जग्गामा केरा खेती भईरहेको छ । यस ठाउँको माथिल्लो भेगमा आलुको खेती प्रसस्त मात्रामा हुने भएकोले त्यस आलुलाई ब्राण्डिङ्गको साथ हामीले अगाडी बढाएका छौ । पहाडी भू–भागमा चियाको खेती हुने भएकोले यस ठाउँमा चिया खेती पनि भईरहेको छ । फलफूल खेतीको लागि पनि कार्यक्रमहरु अगाडि बढी रहेका छन् । गत आर्थिक वर्ष देखी कृषकहरुले केराको खेती गर्न थालिसकेका छन् । यस ठाउँको पानी चिसो भएको कारण माछापालन पनि प्रसस्त रुपमा हुने गर्दछ । पशु उत्पादन अन्तर्गत चौरी यहाँको शेर्पा जातिको मुख्य व्यवसाय हो । भेडापालन पनि भईरहेको छ । विशेष गरी बेमौसमी तरकारी खेती, दुध उत्पादन लगायत अन्य कुराहरुबाट कृषि व्यवसाय अगाडि बढिरहेको छ । र व्यापारका हिसाबमा नजिकै रहेको जगलमा निउरो पाईन्छ । त्यसलाई टिपेर बेच्दा पनि त्यसले राम्रो बजार पाएको छ । यस गाउँपालिकालाई दुध, मासु तथा तरकारीजन्य उत्पादनमा आत्मनिर्भर बनाउनेतर्फ जोड दिईने छ । प्रत्येक घरः एक करेसाबारी, व्यवसायिक पशुपालनलाई प्रबद्र्धन गर्न आवश्यक कार्यक्रम तर्जुमा गरिने छ । हिमाली क्षेत्रमा व्यवसायिक भेडा तथा चौरी पालनलाई प्रोत्साहन गर्न पशुस्वास्थ्य, वीमा, चरण क्षेत्र, खर्क र गोठहरुको व्यवस्थापन गरिने छ ।
यस गाउँपालिकामा यो वर्ष पहिरोले धेरै धनसम्पत्ति र मानवीय क्षति भयो, यसको व्यवस्थापन के कसरी मिलाउनु भएको छ ?
यस गाउँपालिका लिदीमा ठूलो मानवीय क्षती भयो २९ घर भत्किए र ३९ जनाले ज्यान गुमाए । तिमध्ये दुई अझै बेपत्ता छन् । यस ठाउँमा बस्ने स्थिती नभएपछि वडा न.. १ सेलाङ्ग मा स्थायी बासको व्यवस्था गरियो । भोली उनीहरुको अस्थायी व्यवस्थापन कसरी गर्ने भन्ने कुरामा लिदीबासी र यस गाउँपालिकाका जनप्रतिनिधि विच छलफल हुने छ । त्यसै गरी नाफामा पनि २९ घर जोखिममा रहेको छ । गोल्चेमा पनि त्यसै बस्न नसक्ने स्थिती रहेको छ । प्राप्त सूचना अनुसार ५२३ धुरी मानिसले घर छोडिसकेको अवस्था छ । अव उनीहरुको सहभागितामा चरणवद्ध रुपमा उनीहरुको पुन स्थापनाको लागि गाउँपालिकाले प्याकेज घोषणा गर्नुको साथै प्रदेश सरकार, राष्ट्रिय सरकार साथै विशेष गरेर राष्ट्रिय विपत जोखिम न्यूनिकरण प्राधिकरणसंग पनि कुरा भईरहेको छ । सबै मिलेर उनीहरुको पुनस्र्थापनाको प्याकेज अगाडी बढाउँछौं । सकेसम्म यहि बर्षमा उनीहरुलाई पुनस्र्थापना गर्ने छौं ।
यस गाउँपालिकाको शिक्षाको अवस्था कस्तो रहेको छ ?
यस गाउँपालिकामा ४५ वटा विद्यालय थिए । कक्षा १२ सम्म चलेको एउटा विद्यालय मात्र थियो । १० र १२ कक्षा गरेर नौ वटा माध्यमिक विद्यालयहरु थिए । त्यस विद्यालयलाई भूगोल अनुसार विद्याथी अनुपातको आधारमा विद्यालयलाई मर्ज गरेर अहिले यस गाउँपालिकामा ४२ वटा विद्यालय छन् । यस ठाउँमा विद्यालयको र विद्याथी अनुपातको आधारमा दरबन्दी पर्याप्त छैन । हामीले संघर्षपूर्ण ढङ्गले शिक्षा दिएका थियौँ तर अहिले कोरोनाको कारणले गर्दा विद्यालयहरु पूर्ण रुपमा बन्द छन् । शिक्षाले भविष्य निर्धारण गर्ने भएको कारणले गर्दा आफ्नो कार्यभार दिए साथै शिक्षा ऐन कानुन तथा नितिको काम गर्न थालियो र पहिलो वर्ष २०७४ सालको साउन महिनाको १७ गते जुगल गाउँपालिकाले मुलुकमा पहिलो चोटी शिक्षा ऐन जारी ग¥यो । अहिलेको परिस्थितिलाई ध्यानमा राखेर यस गाउँपालिकाले पूर्णांकको पाठ्यक्र्रम निर्माण गरियो । यस पाठ्यक्रमको कार्यान्वयनको चरणमा तालिम लगायतका कुरा भईरहँदा कोरोनाको कारण स्थगित रहन गयो । विद्यालय संचालनमा आएपछि कार्यान्वयन हुन्छ । विशेष गरेर स्थानीय स्रोत र साधनमा आधारित सिपयुक्त जनशक्तिको निम्ती आधारभूत तह देखी काम गर्ने र गराउने ढगले स्थानीय पाठ्यक्रम केन्द्रित भएको छ । जटिल भौगोलिक परिस्थितीको कारण कुनै ईन्टरनेटको सुविधा छैन । हाम्रो समुदायमा टेलिभिजन, रेडियो लगायत अन्य सामाग्रीहरुको पनि पूर्ण रुपमा विकास नभएको कारण दुरशिक्षा प्रभावकारी हँुदैन भनेर निश्कर्ष निकालियो । युनिसेफले तयार गरेको कक्षा ३ सम्मको लागि पाठ्यसामाग्री छपाई गरी गाउँपालिकाका सवै विद्यालयहरुमा वितरण गरियो र विद्याथीहरुको हात हातमा पु¥याई सो अध्ययन गर्ने प्रणालीको सुरुवात भयो । शिक्षकहरु, गाउँँवाहिर भएको कारणले गर्दा सोचे जतिको सफलता हात लाएको छैन । अन्य कक्षाका विद्यार्थीलाई पनि किताब वितरण गरियो र यो शिक्षा कत्तिको प्रभावकारी भयो भनेर गाउँमा रहेका शिक्षकलाई अनुगमन गर्न लगाईयो ।
यस गाउँपालिकाको आम्दानीका मुख्य स्रोतहरु के के हुन् ?
यस गाउँपालिकाको भारी पुग्ने गरी आम्दानीको सा्रेत खासै छैन । एउटा श्रोत कुले ढुङ्गाको निकासी हो । यो ढुङ्गा निकाली मजदुरहरुले पनि आम्दानी गर्नु हुन्छ । ढुङ्गा संकलन गर्ने र विर्की गर्ने काम त्यस ठाउँका स्थानीय व्यापारीहरुले गर्नु हुन्छ । यसमा लाग्ने कर गाउँपालिकाको ठूलो आम्दानीको सो्रत हो । गिटी वालुवा थोरै आउँछ थोरै भएपनि त्यसमा लाग्ने कर पनि आम्दानीको स्रोत हो । हाइड्रोपावर निर्माण हूँदै छ । उत्पादन शुरु भएपछि त्यसलाई पनि हाम्रो आम्दानीको सा्रेत मान्न सकिन्छ ।
कोभिड १९ कोरोना विश्वभरी फैलिएको छ, यस गाउँपालिकाको स्थिती कस्तो रहेको छ यस रोगको रोकथामको लागि के कस्तो योजना बनाउनु भएको छ ?
यस गाउँपालिकाले यस रोग रोकथाम गर्नको लागि नेपाल सरकारले बन्दाबन्दी गर्नुभन्दा अगाडी देखी यस गाउँपालिकामा आवतजावत गर्ने सिमा नाकामा जाने, आउनेलाई कडाई गरी लामो समय सम्म यहाँका मानिसहरुलाई सुरक्षित राखियो । नेपाल सरकारले भदौ १ देखी विद्यालय संचालनमा ल्याउने भनेपछि बाहिर रहेका शिक्षकलाई १५ दिन अगाडी आउनुपर्ने सुचना जारी गरियो शिक्षकहरु आउनुभयो । उहाँहरुलाई पिसिआर गरेर मात्र गाउँ भित्र बस्न दिने निती थियो र होम क्वारेन्टाइनमा राखियो । पिसिआर गर्दा २ जना शिक्षकहरुमा कोरोना संक्रमण पुष्टी भएपछि ती शिक्षकहरुलाई तुरुन्त आईसोलेसनमा पठाईयो । उनीहरुको सम्पर्कमा रहेकोलाई पनि पिसिआर गर्दा नेगेटीभ आयो । अहिले सम्म जुगल गाउपलिकामा कोरोना पोजेटिभ देखिएको छैन अन्य ठाउँमा देखिएको रोगको कारणले गर्दा हामी सजग भएर बसेका छौं तर कोरोनामुक्त भनिरहेका छैनौ । यस गाउँपालिकाले १०० जना भन्दा बढी बस्न मिल्ने गरी क्वारेन्टाइनको व्यवस्था गरिएको छ । २४ वटा एट्याच बाथरुम भएको कोठाको क्वारेन्टाइन व्यवस्थित छ । यस गाउँपालिकाद्धारा ३० लाखको कोरोना रोकथाम र उपचार कोषको घोषण गरिएको छ । जसमा गाउँपालिकाको अध्यक्षबाट २ महिनामा प्राप्त गर्ने सुविधा बराबरको रकम, उपाध्यक्ष र वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु र वडा सदस्यले प्राप्त गर्ने एक महिना बराबरको सुविधा रकम र गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी बाहेकका सबै कर्मचारीहरुमध्ये अधिकृत स्तरका कर्मचारीहरुको ५ दिन र अन्य को ३ दिनको तलब बराबरको रकम जम्मा भएको छ । सो कोषमा प्रदेश सरकारबाट १० लाख प्राप्त भएको छ ।