विद्यालयहरु संचालनमा आए

सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिकामा मंगलबारदेखि सबै विद्यालय खुलेका छन् । उक्त गाउँपालिकामा कडाइका साथ स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर पठनपाठन शुरु गरिएको गाउँपालिकाका अध्यक्ष भुपेन्द्र श्रेष्ठले बताउनुभयो । शिक्षक, अभिभावक, व्यवस्थापन समिति र गाउँपालिकाका जनप्रतिनिधि सम्मिलित बैठकले अध्ययन अध्यापन रोक्दा बालबालिकाको भविष्य बिग्रने खतरा बढेकाले विद्यालय संचालनमा ल्याउने सहमति भएको हो ।

अध्यक्ष श्रेष्ठका अनुसार उक्त गाउँपालिकामा ६ वटा माध्यमिक र २३ वटा आधारभूत गरि जम्मा २९ वटा विद्यालय छन् । सबै विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीले मास्क, सेनिटाइजर र सामाजिक दुरी कायम गर्ने सरकारी स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने छन् । कोरोना महामारी नियन्त्रण गर्न ६ महिनादेखि जारी लकडाउनका कारण देशैभरिका विद्यालय बन्द गरिएका थिए । असोज १ देखि लकडाउन खुुकुलो गरिएपछि विद्यालय फाट्टफुट्ट खुल्न थालेका छन् ।