प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गुल्मीद्वारा वार्षिक कार्ययोजना सार्वजनिक
गुल्मी । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन ईकाई गुल्मीले यस आर्थिक वर्षमा सञ्चालन गरिने वार्षिक कार्ययोजना सार्वजनिक गरेको छ ।
सदरमुकाम तम्घासमा पत्रकार भेटघाटको आयोजना गरि कार्यालय प्रमुख तथा वरिष्ठ कृषि अधिकृत नारायण काफ्लेले आ.व.२०७७÷०७८ मा सञ्चालन गरिने मुख्य कार्यक्रमहरुको वार्षिक कार्ययोजनाका बिषयमा जानकारी गराउनुभएको हो ।
उहाँका अनुसार यस आर्थिक बर्षमा स्थानीय तहको लागत सहभागितको बीउ श्रोत स्थापनाका लागि ३० लाख, स्थानीय तहहरुसंगको समन्वयमा नर्सरी श्रोत केन्द्र स्थापनाका लागि २० लाख, जोन सुपरजोन प्रभाब क्षेत्रमा सुन्तला क्षेत्रफल विस्तारका लागि २० लाख, मकै क्षेत्रफल बिस्तारका लागि ३० लाख बजेट रहेको छ ।
स्वदेशी हाइब्रिड मकै प्रर्दशनका लागि २ लाख ५० हजार, बगैचा सुदृढिकरणका लागि १० लाख, चक्लाबन्दीमा संचालन हुने खेती कार्यक्रमका लागि १ करोड, पोष्ट हार्भेष्ट क्षती न्यूनीकरण कार्यक्रमका लागि १० लाख, मकैको बिज बृद्धि कार्यक्रमका लागि ७ लाख ५० हजार रहेको कार्यालय प्रमुख काफ्लेले जानकारी दिनुभयो ।
यान्त्रीकरण सहयोग कार्यक्रमका लागि ४६ लाख, सिंचाई पुर्वाधार निर्माण कार्यक्रमका लागि ६० लाख, भण्डारण, प्राथमिक प्रशोधनवा प्रशोधन उधोग स्थापनाका लागि ४० लाख बजेट रहेको पनि उहाँले जानकारी दिनुभयो छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्वदेशी सोँच, स्वदेशी लगानी, स्वदेशी जनशक्तिमा आधारित कृषि क्षेत्रलाई आधुनिकीकरण तर्फ लैजान नेपाल सरकारबाट आ.व.२०७३÷७४ देखि कार्यान्वयनमा ल्याईएको आयोजना हो ।
यस परियोजनाले प्रमुख कृषि उपजहरुको विशिष्टकृत क्षेत्रहरु निर्माण गर्ने, निर्यात योग्य कृषि वस्तुहरुको मूल्यअवृद्धि गर्दै प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्य लिएको छ ।
कृषिलाई सम्मानजनक, नाफामुखि व्यवसायका रुपमा विकास गर्दै रोजगारीका अवशरहरु सृजना गर्ने, बहु–सरोकारवाला निकायहरु बिचको कार्यमुलक समन्वय मार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने यसको उद्देश्य रहेको छ ।
कृषिमा आधारित अर्थतन्त्रबाट कृषिजन्य उद्योगमा रुपान्तरित आधुनिक, व्यवसायिक दिगो एवंम आत्मनिर्भर कृषि क्षेत्रको विकास गर्ने यसको लक्ष्य रहेको छ ।
समग्र कृषि मुल्य श्रृङखलाका अवयवहरुको एकिकृत संयोजन र परिचालन मार्फत खाद्य पोषण सुरक्षा सुनिश्चित गर्दै कृषि औद्योगिकिरण उन्मुख दिगो आर्थिक अवसरहरु सिर्जना गरि राष्ट्रको समग्र विकासमा टेवा पुर्याउने यसको लक्ष्य रहेको छ । यस परियोजनाा मकै जोन, सुन्तलाजात फलफुल जोन, कफी सुपरजोन मार्फत कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।