गुल्मीमा कोभिड–१९ परिक्षण प्रयोगशाला सञ्चालनमा

गुल्मी । गुल्मीमा कोरोना भाइरस संक्रमितको संख्या ५०९ पुगेको छ । ४१६ जना पुरुष र ९३ जना महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गुल्मीले जानकारी दिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–९ उपल्लो तम्घासमा बिहिबार देखि सञ्चालनमा आएको रेसुङ्गा कोभिड–१९ परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा शुक्रबार थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यो प्रयोगशालामा गरिएको परिक्षणमा बिहिबार १६ जना र शुक्रबार ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ४ सय ५० जना कोरोना भाइरस जितेर घर फर्किएका छन् । पुरुष ३६६ र महिला ८४ जना कोरोना भाइरस जितेर घर फर्किएका हुन् । अहिले ५५ जना आइसोलेशनमा रहेका छन् । हालसम्म यस जिल्लाबाट ४३ सय १९ जनाको स्वाब संकलन गरिएको छ ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै जिल्लाका विभिन्न स्थानमा गरी ७९० बेड क्षमताको क्वारेन्टीनमा निर्माण गरिएको छ । भने १७६ बेड क्षमताको आइसोलेसन निर्माण गरिएको छ । यस जिल्लाबाट अहिलेसम्म कोरोना भाइरस संक्रमणबाट ३ जनाको ज्यान गइसकेको छ ।
यता जिल्लामै कोभिड–१९ परिक्षण प्रयोगशाला सञ्चालमा आएसँगै स्थानीय भने खुसी भएका छन् । रेसुङ्गा कोभिड–१९ परिक्षण प्रयोगशालाको सरकारका प्रवत्ता एवं परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले यहि असोज १ गते उद्घाटन गर्नुभएको थियो । जिल्लामा कोरोना संक्रमितको पहिचान गरी कोरोना समुदाय स्तरमा फैलिन नदिनको लागि पीसीआर मेसिन संचालनमा ल्याईएको हो ।
यस प्रयोगशालाबाट एक पटकमा ९६ वटा स्याम्पलको नतिजा आउने तम्घास अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले जानकारी दिनुभयो । गुल्मीमै पीसीआर परीक्षण सुरु भएपछि ४ देखि १७ दिनसम्म पीसीआर रिपोर्टको प्रतिक्षामा बस्नुपर्ने बाध्यताको अन्त्य भएको छ । यसभन्दा अगाडी संकलन गरिएका स्वाब काठमाडौ, हेटौडा र भैरवहवा पु¥याउने गरिएको थियो ।
जसका कारण रिपोर्टकै प्रतिक्षामा लामो समय कट्ने भएकोले अब त्यो समस्या समाधान भएको रेसुङ्गा नगरपालिकाले जनाएको छ । अब स्वावको संख्या हेरी बढीमा दुई दिनमा नजिता आउनेछ। ल्याबमा अहिले ५ नम्बर प्रदेशको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाबाट एक जना र तम्घास अस्पतालका एकजना गरी दुईजना कर्मचारी कार्यरत छन् ।
तर दुईजनाले मात्रै नपुग्ने भएकोले जनशक्ति थप गर्नको लागि सुचना प्रकाशित गरिएको र त्यसको नतिजा पनि प्रकाशन भईसकेको हुनाले अब जनशक्ति थप हुने बताईएको छ ।