कुलमानको विदाईपछि विजुली झ्याप्प–झ्याप्प, संयोग कि षड्यन्त्र ?

सम्पादकीय

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चार वर्षे कार्यकाल सकिएपछि विदा भएका छन् । उनी कार्यकारी निर्देशक भएपछि लोडसेडिङ हटेको भन्दै सामाजिक सञ्जालदेखि सडकमा समेत पुनः नियुक्ति गर्नुपर्ने माग उठिरहेको छ । नेपाललाई लोडसेडिङ मुक्त बनाएर इतिहास रचेका कुलमान विदा भएसँगै विजुली झ्याप्पझ्याप्प जान थालेपछि अझ उनको पुनर्नियुक्ति माग गर्नेहरु बढ्दै गएका छन् । कुलमानले चुहावट नियन्त्रण गर्नुका साथै व्यवस्थापनमा विशेष ध्यान दिएका कारण नेपाल लोडसेडिङमुक्त भएको थियो । तर उनको विदाइसँगै दिनमा दुई÷चार पटक विजुली झ्याप्पझ्याप्प जान थालेपछि फेरि लोडसेडिङ खेप्नुपर्ने त होइन भन्ने चिन्ता उद्योगीदेखि सर्वसाधारणहरुमा समेत पर्न थालेको छ ।
सरकार र प्राधिकरणका केही कर्मचारीहरुले कुलमान कार्यकारी निर्देशक बनेपछि लोडसेडिङ अन्त्य हुनु संयोग मात्र भएको बताएका छन् । कुलमानको नियुक्तिपछि भारतबाट विद्युत आपूर्ति गर्ने संरचना निर्माणको काम पूरा भएको र नेपालमै पनि ऊर्जा उत्पादन बढेको थियो भने उनले व्यवस्थापनमा विशेष ध्यान दिएकाले नेपाललाई लोडसेडिङमुक्त गर्न सम्भव भएकोमा दुईमत छैन । तर उनको विदाई पछि बढेको विजुली जाने समस्या संयोग हो कि षड्यन्त्र ? यसको खोजविन हुन जरुरी देखिन्छ । प्राधिकरणका कर्मचारीहरुले पनि विद्युतमा देखिएको समस्या संयोग मात्र भनेका छन् । केही ठाउँमा मर्मत सम्भार गर्नुपर्ने भएकाले बन्द गरिएको छ कतिपय ठाउँमा पुराना तार चुँडिने, पोल ढल्नेलगायतका समस्याले विद्यूत आपूर्तिमा केही समस्या भएको प्राधिकरणको भनाइ छ । प्राधिकरणले अब जो कार्यकारी निर्देशक बने पनि लोडिसेडिङ नहुने स्पष्ट पारेको छ । नेपाललाई चाहिने विजुलीको क्षमता रहेकाले लोडसेडिङ हुन्छ कि भन्ने आशंका कसैले नगर्न प्राधिकरणले भनेको छ ।
यसअघि पनि छोटो समयका लागि कहिलेकाही विजुली जाने गरेको थियो । कसैले चासो दिने गरका थिएनन् । प्राविधिक कारणले होला भन्ने ठान्थे । तर अहिले कुलमानको विदाइसँगै केही क्षण विद्युत गएपनि ग्राहकहरुले चासो दिने गरेका छन् । अहिले विद्युत लाइन काटिँदा कतै लोडसेडिङ शुरू भइहाल्छ कि भन्ने संशय जनतामा देखिएको छ ।
कुनै पनि संस्थामा नेतृत्व फेरिने वित्तिकै सवै संरचना ध्वस्त हुने होइन । जो नेतृत्वमा भएपनि काम गर्ने कर्मचारीले हो, उनीहरु निरन्तर नै छन् । नेतृत्वले समयमै समस्या समाधान गर्ने र व्यवस्थापन गर्ने मात्र हो । कुलमानको विदाईसँगै विद्युत काटिने समस्या बढ्नुमा केही कर्मचारीको असहयोग भने हुन सक्छ । कुलमान विना विद्युत नियमित हुन सक्दैन भन्ने भ्रम छर्न उनी निकटस्थ केही कर्मचारीहरुले जानीजानी विद्युत प्रवाहमा समस्या सिर्जना गर्न सक्छन् । कुलमान कार्यकारी हुँदा पनि केही कर्मचारीहरुले असहयोग गरेका थिए । तर उनले त्यस्ता कर्मचारीहरुलाई यताउता सरुवा गरेर व्यवस्थापन गरेका थिए । अहिले भइरहेको विजुली झ्याप्पझ्याप्पमा पनि त्यही षडयन्त्र हुन सक्छ । यसतर्फ प्राधिकरण नेतृत्व र ऊर्जा मन्त्रालयले आवश्यक छानविन गर्नु आवश्यक देखिन्छ ।