खोप पत्ता लाग्नुअघि कोरोनाबाट २० लाखको ज्यान जाने !

काठमाडौं । कोरोनाविरुद्धको खोप पत्ता लाग्नुअघि विश्वभर कोरोना संक्रमणबाट २० लाखको ज्यान जान सक्ने विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चेतावनी दिएको छ ।
डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा. माइक रायनले त्यस्तो चेतावनी दिँदै कोरोना संक्रमणबाट जोगिन एकीकृत र प्रभावकारी कदम चाल्नुपर्नेमा समेत जोड दिएका छन् ।
सन् २०१९ को डिसेम्बर अन्त्यतिर चीनको वुहानबाट फैलिन सुरु गरेको कोरोना संक्रमणका कारण विश्वभर झण्डै १० लाख मानिसले ज्यान गुमाइसकेका छन् भने तीन करोड २० लाखभन्दा बढी संक्रमित भएका छन् ।
डब्ल्यूएचओको आपतकालीन सेवाका प्रमुख डा. रायनले कोरोना महामारी रोक्न राम्रो उपचार र प्रभावकारी खोपमात्रै सबथोक नभएको बताउँदै त्यसका लागि सबै देशका सरकारहरुले सबै उपाय कडाइका साथ अपनाउनुपर्नेमा जोड दिएका छन् ।
यसैबीच संयुक्त राष्ट्रंघका महासचिव एन्टोनियो गुटर्रेसले कोरोना भाइरसले प्रभावित भएका देशहरुलाई आर्थिक र अन्य सहयोग गर्न विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष, आइएमएफलाई आग्रह गरेका छन् ।
कोरोना भाइरसका कारण समस्यामा परेका विश्वका विभिन्न देशलाई सुविधा र सहयोग उपलब्ध गराउन उनले ती संस्थालाई आग्रह गरेका हुन । सुरक्षा परिषदको बिहीबारको बैठकलाई सम्बोधन गर्दै महासचिव गुटर्रेसले भने “हामी चाहन्छौँ कि विश्व बैंक र मुद्रा कोषजस्ता संस्थाहरुले कोरोना भाइरसको प्रकोपमा परेका देशहरुलाई आवश्यक सहयोग होस् र ती संस्थाहरुले उपलब्ध गराउने सेवा र सुविधाहरुमा संयुक्त राष्ट्रघका सदस्य राष्ट्रहरुको पनि पहुँच होस् ।”
कोरोना भाइरसको महामारीले विश्वका देशहरुमा आर्थिक समस्या पारेको तथा यसका कारणले विश्वका देशहरु विभिन्न आर्थिक जोखिमको अवस्थामा रहेका भन्दै महासचिव गुटर्रेसले यस्ता देशलाई सहयोग गर्न आग्रह गरेका हुन । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष, आइएमएफले विश्वमा कोरोना भाइरसको प्रकोपका कारण ठूलो आर्थिक मन्दी आउने र ठूला आर्थिक देशहरुमा पनि यसको समस्या देखापर्ने बताउँदै आएका छन् ।