गुल्मीका कांग्रेस सचिव पन्थीले जन्मोत्सवमा पीडितलाई आर्थिक सहयोग
नेपाली कांग्रेस गुल्मीका सचिव एवं युवा नेता खिलध्वज पन्थीले पीडितलाई आर्थिक सहयोग गरी जन्मोत्सव मनाउनुभएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका वडा नं. ६ अत्तरकाँडाका २२ वर्षीय टामलाल अधिकारीलाई आर्थिक सहयोग गरी पन्थीले जन्मोत्सव मनाउनुभएको हो । कांग्रेस नेता पन्थीले जन्मोत्सवको अवसरमा फजुल खर्च नगरी पीडितलाई आर्थिक सहयोग गरी सकरात्मक सन्देश समेत प्रवाह गर्नुभएको छ ।
गएको साउन १६ गते आँपको रुखबाट लडेर मेरुदण्डमा समस्या आएपछि अधिकारी उपचाररत हुनुहुन्छ । परिवारको आर्थिक अवस्था कमजोर भएका अधिकारीको उपचारमा राहत पुर्याउने उद्देश्यसहित नेता पन्थीले जन्मोत्सवको अवसर पारेर अधिकारीलाई शनिबार रु.१० हजार आर्थिक सहयोग गर्नुभएको हो ।
अधिकारीको मेरुदण्डमा समस्या आएपछि पाल्पाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका लागि लगिएको थियो ।केहि दिनपछि त्यहाँबाट रेफर गरि काठमाण्डौ ट्रमा सेन्टरमा पुर्याइएको थियो । मेरुदण्डको समस्या भएका अधिकारीलाई यहि असोजको चौथो हप्ता फेरी उपचारका लागि काठमाण्डौ लैजानुपर्ने उहाँका बुबा खुमानन्द अधिकारीले बताउनुभयो ।
परिवारको आर्थिक अवस्था कमजोर भएका अधिकारीले छोराको उपचार गर्दा लाखौँ रुपैँया खर्च भइसकेको बताउनुभयो । आम्दानीको मुख्य स्रोत कृषि मार्फत परिवारको सामान्य जीविका चलाउँदै आएका अधिकारीले छोराको मेरुदण्डको शल्यक्रिया गर्न परे ठूलो रकम लाग्ने भन्दै चिन्ता व्यक्त गर्नुभयो ।
अहिले आफ्नो परिवार आर्थिक संकटमा परेको बेला नेता पन्थीले गरेको सहयोगप्रति अधिकारीले धन्यवाद ज्ञापन समेत गर्दै उहाँले भन्नुभयो, ‘सहयोग अपिलको लागि वडा कार्यालयबाट सिफारिस गराइएको तर अहिलेसम्म कहिँ कतैबाट सहयोग भएको छैन्।’
नेता पन्थीले आफ्नो जन्मोत्सवको अवसरमा विगतका वर्षहरुमा पनि दुःखी, पीडित, गरिब, दलितलाई सहयोग गर्दै आउनुभएको छ । उहाँले समस्यामा परेका नागरिकहरुको समस्या समाधानतर्फ निकै नै ध्यान दिदँै आउनुभएको छ ।