इस्मा गाउँपालिकाका २ बिद्यालयमा लगाईएको ताला खुलाईयो


गुल्मीको इस्मा गाउँपालिकामा रहेका दुई विद्यालयमा नेपाली कांग्रेसले लगाएको ताला खोलिएको छ । जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माको रोहबरमा नेपाली कांग्रेस र नेकपाप्रतिनिधि बीच भएको छलफलमा दुई बिद्यालयमा भएको अनियमितता छानबिनका लागि ४ सदस्यीय कार्यदल गठन गर्ने सहमति भएपछि ताला खोलिएको हो ।

कार्यदलमा नेपाली कांग्रेसका जिल्ला सदस्य चन्द्र बहादुर महत, क्षेत्रिय सभापति भगतसिह खड्का तथा नेकपा इस्माका अध्यक्ष नारायण पैयानी र नेकपा नेता राजेन्द्र विक्रम कुवँर सदस्य रहनुभएको छ । सुन्तला देवि निमाविमा लगाईएको ताला नेकपा इस्माका अध्यक्ष पैयानी र कंग्रेस जिल्ला सदस्य महतले खोल्नुभएको हो । भने बुल्म प्राथमिक बिद्यालयमा लगाईएको ताला क्षेत्रिय सभापति खड्का र नेकपा नेता कुवँरले खोल्नुभएको थियो ।

यस अघि नेपाली कांग्रेस इस्माले त्यस गाउँपालिकाको ३ नम्बर दर्लामचौरमा रहेको सुन्तलादेवी निम्न माध्यमिक विद्यालयमा प्रध्यानाध्यापक नियुक्ति गर्दा गाउँपालिकाले शिक्षा नियमावलीलाई मिचेर मनपरि तरिकाले गाउँपालिका अध्यक्ष लक्षमण विष्टकी बुहारीलाई नै प्रध्यानाध्यापक बनाएको भन्दै त्यसैको विरोधमा काङ्ग्रेसले ताला लगाएको थियो।

भने इस्मा गाउँपालिका वडा नं –६ मा रहेको बुल्म प्राथमिक बिद्यालयमा शिक्षक भर्ना गर्न निकालिएको सुचनामा करार सुचीमा परेको व्यक्तिको आवेदन परे पनि पुन विज्ञापन गरि अर्को व्यक्ति भर्ना गर्न खोजिएको भन्दै तालाबन्दी गरिएको थियो । दुवै बिद्यालयमा छानबीनका लागि कार्यदल गठन गरिएसँगै ताला खोलिएको नेपाली कांग्रेस गुल्मीका जिल्ला सदस्य चन्द्र बहादुर महतले जानकारी दिनुभयो ।