पिसिआर परीक्षण शुल्क २ हजारभन्दा बढी लिने ल्याबको अनुमति खारेज गर्ने चेतावनी

काठमाडौं । सरकारले पीसीआर परीक्षणको शुल्क दुई हजार तोकेपनि अधिकांस निजी ल्यावहरुले ४४ सय सम्म लिने गरेका छन् । सरकारले शुल्क घटाउन आग्रह गर्दा उनीहरुले ३९ सय भन्दा कम शुल्कमा पीसीआर परीक्षण गर्न नसकिने बताएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको भन्दा बढी पिसिआर परीक्षणको शुल्क दुई हजार भन्दा बढी नलिन भनेको छ । पीसीआर परीक्षण गर्न अनुमति पाएका ८ अस्पताल र ल्याबलाई परीक्षण शुल्क सरकारले तोके भन्दा बढी लिएका छन् । उनीहरुले शुल्क नघटाए अनुमति खारेज गर्ने चेतावनी मन्त्रालयले दिएको छ ।
गुणस्तर मापन तथा नियमन महाशाखाले बढी शुल्क लिने ल्यावबारे मन्त्रालयमा बुझाएको प्रतिवेदन अनुसार यस्तो निर्णय गरिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताएका छन् ।
प्रवक्ता गौतमका अनुसार ह्याम्स अस्पताल, मेटिसिटि अस्पताल, स्टार अस्पताल, बिएण्डबी अस्पताल, सूर्या ल्याव, डिकोर ल्याव, सिडिएल ल्याव र इन्टीपेर ल्यावलगायतले बढी शुल्क लिएकोले २४ घण्टाभित्र तोकिएको शुल्क समायोजन नगरे परीक्षण स्वीकृति खारेज गर्ने निर्णय भएको छ।
२४ घण्टाभित्र तोकिएको शुल्क समायोजन नगरे परीक्षण स्वीकृति खारेज गरी पत्राचार गर्न गराउन राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई निर्देशन दिइएको प्रवक्ता गौतमले बताएका छन् ।
सरकारले भदौ २८ गते सबै सरकारी र निजी प्रयोगशालालाई पिसिआर शुल्क २ हजार तोकिएको थियो । बढी शुल्क लिने प्रयोगशालालाई कालोबजारी गरेको आरोपमा प्रयोगशाला बन्द गराउने गरी कारवाही गर्न गृह मन्त्रालय र वाणिज्य विभागमा लेखि पठाउने निर्णय गरेको प्रवक्ता गौतमले जानकारी दिएका छन् ।
उनले नेशनल टेष्टिङ गाइडलाइनमा नपरेका र स्वास्थ्य मन्त्रालयले नतोकेको व्यक्तिको परीक्षण गर्ने, सुचीकृत नभएका प्रयोगशाला वा बिचौलियाको रुपमा नमुना लिने वा सहजीकरण गरेको पाइएमा कडा कारवाही गर्न लेखि पठाउने निर्णय भएको बताएका छन्।