महिला हिंसा न्यूनिकरणका लागि अन्तरक्रिया

गुल्मी । गुल्मीमा समन्वय र सहकार्यका लागि जिल्ला स्तरीय बैठक तथा अन्तरक्रिया गरिएको छ । सदरमुकाम तम्घासमा नेपाल महिला संघ गुल्मीको आयोजनामा बढ्दै गएको महिला हिंसाको न्यूनिकरण समन्वय र सहकार्यका लागि जिल्ला स्तरीय बैठक तथा अन्तरक्रिया गरिएको हो ।

पछिल्लो समय देशैभरी महिला तथा बालिका माथि भएका हिंसा, बलात्कार, यातनाका घटनाहरु दिनहुँ घटिरहेका छन् । यसको न्यूनिकरणका लागि यस जिल्लामा क्रियाशिल नागरिक समाज, गैरसरकारी संस्था, स्थानीय सरकार, मानव अधिकार रक्षक सञ्जाल, एवं सरोकारवाला निकायको भूमिकाका बिषयमा बृहत्तर छलफल गरिएको हो ।

त्यस अवसरमा रेसुङ्गा नगरपालिकाकी उपमेयर सीता भण्डारीले महिलाहरुको अधिकार स्थापितका लागि बजेटमै कार्यक्रम समावेश गरेर लैजान आवश्यक रहेको बताउनुभयो । उहाँले अझै पनि जनचेतनाको अभाव, पुरातनवादी सोँच लगायतका कारणले लैङ्गिक हिंसा बढेको उल्लेख गर्नुभयो । यसको न्यूनिकरणका लागि सबै सरोकारवाला पक्ष एकताबद्ध भएर लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

जिल्ला समन्वय समिति सदस्य उजेली विश्वकर्मा, सुशासन अभियान गुल्मीका सचिव विनोद पाण्डे, दलित महिला अधिकारकर्मी सरिता सुनार, लगायतले मन्तव्य राख्दै स्थानीयस्तरसम्म सचेतनाका कार्यक्रमहरुलाई प्रभावकारी रुपमा लैजानुपर्ने बताउनुभएको थियो ।

छलफल तथा अन्तरक्रियामा महिला संघ गुल्मीकी अध्यक्ष कमला बरालले जातीय तथा लैङ्गि विभेदका कारण समग्र विकासमा अवरोध पुगीरहेको बताउनुभयो । सचेतनाका कार्यक्रमलाई स्थानीय सरकारले बिशेष प्राथमिकतामा राखेर सञ्चालन गनुपर्नेमा बरालले जोड दिनुभयो । जुना विश्वकर्माको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन बिष्णु विश्वकर्माले गर्नुभएको थियो ।