सरकारी अनुगमन फितलो
नेपालीका मुख्य चाडपर्वहरु शुरु हुन लागेका छन् । केही व्यापारीहरुले यस्ता पर्व र चाडवाडलाई कमाउने र मुख्य आम्दानी गर्ने मौकाका रुपमा लिने गर्दछन् । व्यापार गरेपछि दुई चार रुपैयाँ नाफा कमाउनु व्यापारीको धर्म पनि हो । तर कति प्रतिशत नाफा लिएर कमाउने भन्ने कुराचाहीँ नैतिकताको बिषय भित्र पर्दछ । चाडवाड शुरु भएसँगै अहिले बजारमा मानिसहरुको चहलपहल पनि अलि बढी नै देखिन थालेको छ । कोरोना महामारीका कारण लामो समयसम्म भएको लकडाउनले गर्दा मुलुकको व्यापार व्यवसाय चौपट् भएको छ । हिजोको दिनमा पुगेको क्षति र घाटा पूर्ति गर्नका लागि केही स्वार्थी समूहहरु आजदेखि नै कम्मर कसेर लागेका छन् । उनीहरुको यस्तो कुत्सित भावना, व्यक्तिगत स्वार्थ र योजनालाई सफल हुन नदिनका लागि सरकारले बेलैमा बजार अनुगमनलाई तिव्रता दिन जरुरी हुन्छ । स्वार्थी समूहले नाजायज फाइदा उठाउन म्याद गुज्रेका सामाग्रीहरुमा पुनः म्याद भएको लेवल टाँसेर बजार पठाउन तयार पारेका सामानलाई प्रहरी प्रशासनले बरामद गरेको छ । यस्ता नाजायज काममा पल्केका र छिट्टै कमाउन लागेकाहरुलाई बेलैमा यसरी पक्राउ गर्दै जाने हो भने उनीहरुको मनोबल उठ्न पाउने थिएन । यसतर्फ सरकारको ध्यान बेलैमा जान सके तिनीहरुले नाजायज फाइदा उठाउन सक्ने छैनन् ।
महंगो बजार नियन्त्रणको ध्येय राखि सरकारले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरेर आम उपभोक्ताका लागि आवश्यक खाद्यान्नलगायतको पसल स्थापना गरेर बिक्री बितरणको शुरुवात गरिसकेको छ । तर यतिले मात्र सरकारको दायित्व पुरा हुँदैन । किनभने व्यापारीहरुले मुख्य चाडबाडलाई नै लक्षित गरेर अखाद्य, मिति गुजे्रका खाद्यबस्तुहरुलाई बजारसम्म ल्याएर उपभोक्ताको स्वास्थ्यप्रति खेलवाड गर्न सक्छन् । सरकारको आँखा छलेर दुई नम्वरी सामान बजारमा भित्राएर आमउपभोक्तालाई ठग्न पनि सक्छन् । यसैगरी महंगो मूल्य लिएर सर्वसाधारणलाई मर्कामा पार्दैै ठग्न पनि सक्छन् । यसतर्फ सरकारी नियमनकारी निकायहरु अहिलेदेखि नै चनाखो भएर बजार अनुगमनमा निस्कन ढिलाइ गर्नुहुँदैन ।
चाडपर्व शुरु हुनै लाग्दा बजारमा प्याज र गोलभेंडाको मूल्य अकाशिएको छ । यसैगरी सार्वजनिक सवारी साधन संचालकहरुले पनि सरकारी स्वास्थ्य मापदण्डको पालना बिना नै सवारी संचालन गरिरहेका छन् । प्रायः सवारी साधनमा स्यानिटाइजर राखेको पाइँदैन भने भौतिक दुरी बिना नै यात्रु ओसार पसार गर्ने काम खुल्लारुपमा भइरहेको छ । मास्कबिना पनि यात्रुहरु यात्रा गरिरहेका भेटिन्छन् । सरकारले सवारी साधन कुल क्षमताको आधा मात्र यात्रु बोक्नको लागि मापदण्ड तोकेको छ । एउटा सीटमा एकजना मात्र यात्रु राख्न र त्यसबापत ५० प्रतिशत बढी भाडा लिन भनेपनि व्यवसायीहरुले यी नियमको ठाडो उल्लंघन गरिरहेका छन् । मनलाग्दी भाडा पनि असुल गरिरहेका छन् । सीट भरी र गाडीको बिच भागमा पनि उभ्याएर यात्रुहरुलाई यात्रा गराइरहेको अवस्था छ । यसरी यात्रा गराएर अझ भाडा भने दोव्वर लिने काम निर्वाध रुपमा भइरहेको छ । यो बिषयमा ट्राफिक प्रहरी र यातायात व्यवस्था बिभागले कडाइका साथ कार्वाही गर्न आवश्यक छ । सामाजिक दुरीको पालना नगरेकै कारण अहिले काठमाडौं उपत्यका कोरोना महामारीको उच्च जोखिममा छ ।