हाम्रो मुख्य आम्दानी प्राकृतिक श्रोत र साधन नै हुन्
बीरबहादुर लोप्चन, अध्यक्ष, बाग्मती गाउँपालिका, ललितपुर
बाग्मती गाउँपालिकामा ३३ सय घरधुरी र १७ हजार मानिसहरु बसोवास गर्छन् । ललितपुरका अधिकांश स्थानीय तहहरु संघीय राजधानीसंग जोडिएको भनिए पनि अति दुर्गममा पर्दछन् । यहाँका जनताले केही स्थानीय तहलाई दोश्रो कर्णाली प्रदेशको स्थानीय तहसँग जोडेर हेर्ने गरेका छन् । मुलुक संघीयतामा गइसकेपछि भएको स्थानीय तहको चुनाव र त्यसपश्चात जनप्रतिनिधि चुनिएर आएपछि अहिले बल्ल टोल टोल र गाउँगाउँमा सडक पुगेको दावी गर्छन् अध्यक्ष बीरबहादुर लोप्चन । भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, खानेपानी, बिद्युत सामाजिक बिकासलगायत धेरै महत्वपूर्ण बिकास निर्माण सम्वन्धी कामहरु जनप्रतिनिधीहरु चुनिएर आएपछि नै भएको उनको दावी छ । गाउँपालिकाको मुख्य आम्दानीको श्रोत स्थानिय खोलानालाबाट निस्कने बालुवा, गिट्टी रहेको छ । कोरोना महामारीका कारण यसबाट हुने आम्दानीमा निक्कै कमी आएको र यो बर्ष सोचेजति आम्दानी नहुने उनको बुझाई छ । यिनै सेरोफेरोमा केन्द्रित रहेर अध्यक्ष लोप्चनसँग रेसुङ्गा टुडे साप्ताहिकले गरेको कुराकानीको मुख्य अंश ः
कोरोना महामारीले यो गाउँपालिकामा के कस्तो असर पारेको छ ?
यो गाउँपालिकालाई कोरोना महामारीले खासै असर पारेको छैन भन्दा फरक नपर्ला । शुरुमा बाहिरबाट आउनेहरु दुई चारजना मानिसहरुमा संक्रमण देखिएको भएपनि उनीहरु निको भइसकेका छन् । कन्ट्रयाक ट्रेसिङमार्फत खोजी गर्दा पनि कोही कसैलाई संक्रमण दखिएको छैन । अहिलेसम्मको अवस्थालाई मध्यनजर गर्दा यो गाउँपालिकालाई कोरोनामुक्त भन्न सकिने अवस्था छ ।
तपाईंहरु निर्वाचित भएर आइसकेपछि यो अवधिमा गरेका बिकास निर्माणलगायत अन्य मुख्य कामहरुका बारेमा छोटकरीमा जानकारी गराईदिनुहोस् न ?
हामी आउनु भन्दा अघि यहाँ सडककै अभाव थियो । स्थानीय तह गठन भएपश्चात र हामी निर्वाचित भएर आएपछि हाम्रो मुख्य जोड नै सडक निर्माणमा रह्यो । यस गाउँपालिका भित्र सातवटा वडाहरु रहेका छन् । सवै वडाहरुमा अहिले मोटर बाटो पुगेको छ । साथै हाल ८–१० वटा घरहरु रहेको टोलसम्म पनि हामीले मोटर बाटो पुर्याएका छौं ।
कुन र कस्ता किसिमका सडकहरु निर्माण भएका छन् ?
पहिलो काम भनेको त ट्रयाक नै खोल्नु मुख्य कुरा हो । शुरुमा सडक खन्दा बर्षामासमा पहिरो लाग्ने, बग्ने समस्या रहेको थियो । यो वर्षमा त्यो समस्या पनि कम भएर गएको छ । सकेसम्म हिउँद र वर्षामास नै सवारी साधन चल्न सक्ने गरी सडक निर्माण गरेका छौं । ठुलो वर्षात हुँदा राष्ट्रिय राजमार्गहरु त अवरुद्ध हुन्छन् भने गाउँघरका सडक त भत्कने र बिग्रने हुन्छन् नै । दैवी प्रकोप र बिपत्तिलाई रोक्न र छेक्न सक्ने कुरै भएन ।
यो गाउँपालिका भएर कान्ति राजपथ सडक बनेको छ । यसैगरी फास्टट्रयाक निर्माणाधिन अवस्थामा रहेको छ । यी सडकबाट यहाँका जनता र गाउँपालिकाले के कस्तो फाइदा लिन सक्छ ?
कान्ति राजपथ निर्माणाधिन अवस्थाको अन्तिम चरणमा पुगेको भएपनि सुचारु भइसकेको छैन । यो सडक राम्रोसँग संचालनमा आइसकेपछि यहाँका जनताले स्थानीय उत्पादनलाई सहजरुपमा शहर र बजारसम्म लगेर बेचबिखन गर्नसक्ने अवस्था भने रहेको छ । साथै यसो भएको अवस्थामा स्थानीय जनताको आर्थिक उन्नति हुनसक्ने अवस्था छ । यी भोलीको दिनमा हुनसक्ने संभावित कामहरु हुन् । जहाँसम्म फास्ट ट्रयाकको कुरा छ ः यसले यो गाउँपालिकाको दुईवटा जति वडालाई मात्र छोएको छ । एउटालाई पुरै छोएर जान्छ भने अर्को वडाको आसपास भएर गएको छ । यसले यहाँका जनतालाई प्रत्यक्षरुपमा फाइदा पुर्याउला जस्तो मलाई लाग्दैन ।
ललितपुर भन्ने बित्तिकै आममानिसले तपाईहरुलाई जावलाखेल, लगनखेल जत्तिकै शहरको रुपमा बुभ्mने गरेका छन् । तपाईको गाउँपालिकाको भुगोलको बारेमा केही कुरा बताइदिनुहोस् न ?
पहिला पहिला त हामीले यस ठाउँको भुगोललाई दोश्रो कर्णालीको रुपमा लिने गरेका थियौ । ललितपुर भन्ने बित्तिकै अन्यत्रका मानिसहरुले काठमाडौं उपत्यकाको रुपमा बुझने र लिने गरेका छन् । तर उनीहरुको सोचाई र बुझाई भन्दा यहाँको भुगोल धेरै भिन्न रहेको छ । साथै भुगोलले गर्दा यहाँको बिकास गर्न पनि त्यतिकै कठिनाइ छ र सोचेजसरी बिकास निर्माणको काम सजिलै गर्नसकिने अवस्था पनि छैन ।
आम पालिकाबासी जनताहरुका लागि खानेपानीको व्यवस्थापन कसरी गरिरहनु भएको छ ?
अहिलेसम्म त जिनतिन खानेपानी चलिरहेकै छ । केन्द्र, प्रदेश सरकार र स्थानीय तहको अलवा बिभिन्न संघसंस्था र गैरसरकारी संस्थासँग मिलेर खानेपानी सम्वन्धी योजनाहरु बनाएका छौं । यसैगरी सिएमडिपी भन्ने संस्थासँग मिलेर ७०–३० प्रतिशतको साझेदारी गरेर खानेपानीको काम र योजना अगाडि बढाइरहेका छौं । यसैगरी स्वास्थ्यका कामलाई पनि सँगसँगै अगाडि बढाइरहेका छौं ।
स्वास्थ्य सम्वन्धी के कस्ता योजना र कामहरु अगाडि बढाइरनु भएको छ ?
स्थानीय सरकारको नीति अनुसार ५ देखि १५ बेडसम्मको अस्पताल गाउँपालिकामा बनाउने भन्ने रहेको छ । सोही नीतिअनुसार अहिले अस्पताल निर्माणको काम पनि अन्तिम चरणमा पुग्न लागिसकेको छ । हिजोको तुलनामा अहिले गाउँघरमा नै स्वास्थ्य सेवाहरु सजिलै उपलव्ध भइरहेका छन् ।
बाग्मती गाउँपालिकाको आप्mनै प्रशासनिक भवन छ कि छैन ?
यस गाउँपालिकाको प्रशासनिक भवन निर्माणाधीन अवस्थामा रहेको छ । हामीले आप्mनै निजी श्रोत खर्च गरेर करिव सात रोपनी जग्गा खरिद गरेका छौं । सोहि जग्गामा अहिले धमाधम भवन बनाउने काम भइरहेको छ । यो चालु आर्थिक वर्ष भित्रमा काम सम्पन्न हुने अपेक्षा लिएका छौं । यस गाउँपालिकाको केन्द्र भट्टे डाँडामा रहेको छ ।
यस गाउँपालिकाको शिक्षाको अवस्था चाहिँ कस्तो रहेको छ त ?
हाम्रो गाउँपालिकामा जम्मा ५० वटा बिद्यालय थिए । अहिले गाउँपालिकाले शिक्षा नीति र नियमावली बनाएर काम गरिरहेको छ । यो नीति भित्र हामीले बिद्यालय मर्जको नीति पारित गरेका छौं । यसैगरी कार्यबिधिमार्फत गुणस्तरिय शिक्षामा जोड दिदै बिद्यालयहरुलाई मर्जमा लैजाने नीति पनि अवलम्बन गरेका छौं । यसले शिक्षा क्षेत्रलाई योगदान पुर्याउनुका साथै परिवर्तन गर्न पनि सघाएको अवस्था छ ।
यो गाउँपालिका भित्र बसोबास गर्ने किसानहरुका लागि सिंचाइको सुबिधा कसरी उपलव्ध गराइरहनु भएको छ ?
यस गाउँपालिका भित्र बसोबास गर्ने आम जनताको मुख्य आयश्रोत भनेको कृषि र पशुपालन नै हो । कृषि कर्ममा लागेका र किसानहरुले उत्पादन गरेको तरकारी दुधको लागि संकलन केन्द्र नै स्थापना गरेका छौं । यसैगरी दुधको लागि पनि संकलन केन्द्र बनाएका छौं । उत्पादित कृषि उपजलाई हरेक दिन संकलन गरेर बजारसम्म पुर्याउनको लागि किसानहरुलाई सहयोग गरिरहेका छौं । पालिकास्तरिय संकलन केन्द्र ३ नम्वर वडामा रहेको तीनपाने भञ्ज्याङमा स्थापना गरेका छौं । साथै यो ठाउँमा शित भण्डार र चिस्यान केन्द्र निर्माणको लागि सिएमडिपी भन्ने संस्थासँग साझेदारीमा मिलेर काम गर्ने योजना पनि अगाडि बढाइरहेका छौं ।
यस गाउँपालिका भित्र बसोबास गर्ने कुल घरधुरी र जनसंख्याको बारेमा प्रष्ट रुपमा बताइदिनुहोस् न ?
०७२ को भुकम्पपछि पहिलेको तुलानामा घरधुरीको संख्या अलि बढेको छ । हाम्रो कुल जनसंख्या करिव १७ हजारको हाराहारीमा छ भने घरधुरीको कुल संख्या ३३ सयको हाराहारीमा रहेको देखिन्छ ।
यो गाउँपालिकाको आम्दानीको मुख्य श्रोत के हो ?
प्राकृतिक खनिजहरु बालुवा, गिट्टी, माटोलगायत हाम्रो आम्दानीका मुख्य श्रोतहरु हुन् । हामीले ठेक्कामार्फत यो काम गरेर रोयल्टी संकलन गरिरहेका छौं । बातावरणीय प्रभाव मुल्याङ्कन गराएर यो काम गरेका हौं । खानीखोला, बाग्मती नदी आसपासबाट निस्कने बालुवाबाट नै हामीले आम्दानी लिइरहेका छौं । तर यो वर्ष हामीले सोचेजति आम्दानी लिनसक्ने अवस्था भने छैन ।
गिट्टी, बालुवालगायतबाट गाउँपालिकाले बार्षिक कति आम्दानी गर्दै आएको छ ?
यसपाली कोभिड १९ को महामारीका कारण हाम्रो आम्दानीमा ठुलो हस आउन लागेको छ । हामीले गत साल करिव २ करोड ७५ लाखमा ठेक्का लगाएका थियौं । अहिलेसम्म आधा रकम पनि प्राप्त गर्न सकेका छैनौ भने यसपालीको हालत पनि उस्तै उस्तै छ ।
संघीय सरकारले उपलव्ध गराउने रकम पनि कोभिड १९ को महामारीले पुर्याएको असर र लकडाउनका कारण केही घटेर आएको छ । यसले गर्दा हामीले तय गरेको बिकास निर्माणका काम सोचे जति गर्नसक्ने अवस्था अब रहेन ।
भौतिक पुर्वाधारलगायत अन्य बिकास निर्माण सम्वन्धी कामको लागि केन्द्र र प्रदेश सरकारसँग के कसरी समन्वय गरेर काम गरिरहनु भएको छ ?
केन्द्र र प्रदेश सरकारले नै हामीलाई बजेट उपलव्ध गराउने भएकोले उनीहरुको समन्वय बिना त काम अगाडि बढाउन सकिदैन नै । यसकारण समन्वय त नहुने कुरै भएन । समन्वय गरेर नै काम गरिरहेको अवस्था छ ।
एक गाउँ एक उत्पादन केन्द्र सरकारको नीति छ यसलाई तपाईंहरुले के कसरी कार्यान्वयन गरिरहनु भएको छ ?
एक गाउँ एक उत्पादन भनिएता पनि हाम्रो जोड कृषि र पशुपालन तर्फ नै रहेको छ । हामीले अहिलेसम्म मुख्य रुपमा यी कुरालाई नै जोड दिएका छौं । व्यवसायिक रुपमा काम गर्नेहरुलाई अनुदानको व्यवस्था र कार्यक्रम लागु गरेका छौं । पशु बीमाका कार्यक्रम पनि लागु गरेका छौं । सामाजिक कार्यक्रममार्फत एकल पुरुषहरुलाई पनि भत्ताको व्यवस्था मिलाएका छौं ।
गाउँपालिका भित्र रहेको सार्वजनिक सम्पत्ति संरक्षणको लागि कसरी काम गरिरहनु भएको छ ?
हामीले सकेसम्म कानुनले दिएको अधिकार प्रयोग गरी यस्ता कार्यहरु गरी नै रहेका छौं । स्थानिय तहले गर्नुपर्ने जुन कार्य छ त्यो हामीले गरिरहेकै छौं र यसमा कुनै कन्जुस्याईं गरेका छैनौ । भविष्यमा कोही कसैलै औंला उठाउने गरी काम गरेका छैनौ ।
अन्तमा गाउँबासीहरुलाई केही भन्नु छ कि?
अहिले हामीलाई मात्र होइन बिश्वलाई नै कोभिड १९ को महामारीले निक्कै नै दुःख दिएको अवस्था छ । यो महामारीबाट आफु पनि जोगिऊँ मुलुक र जनतालाई पनि जोगाऔं सम्पुर्ण गाउँपालिकाबासीमा यही अनुरोध गर्दछु ।