गुल्मीमा एकै दिन दुई दर्जन बढी सवारी साधनलाई प्रहरीले नियन्त्रणमा

गुल्मीमा एकै दिन दुई दर्जन बढी सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिईएको छ । मापदण्ड विपरीत यात्रु राख्ने तथा मनपरी भाडा असुल्ने सवारी साधनलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक केदारराज पन्तले जानकारी दिनुभयो ।

सदरमुकाम तम्घास देखि ग्रामीण क्षेत्रमा सञ्चालन हुने सवारी साधनको अनुगमन गर्दा मापदण्ड विपरीत यात्रु राखेको तथा मनपरी भाडा लिइएको पाईएपछि मंगलबार १५ वटा सवारी साधनलाई नियन्त्रणमा लिईएको डिएसपी पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार नियन्त्रणमा लिईएका सवारी–साधनमध्ये बस तिन वटा, जिप १२ वटा रहेका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसलाई रोकथाम तथा नियन्त्रण गर्नको लागि जनचेतना मुलक कार्यक्रम गरि हरेक सवारी साधनहरुलाई सिटको क्षमताको आधा मात्र यात्रु राख्ने तथा प्रत्येक यात्रुहरुलाई माक्सको प्रयोग गर्न सुचित गरिएको थियो ।

तर ग्रामीण भेगकामा जाने सवारीले मनपरी भाडा लिने र दोब्बर यात्रु सवार गराई रहेको गुनाँसो नागरिकले गरेपछि जिल्ला ट्राफिक कार्यालय गुल्मी र जिल्ला प्रहरी कार्यालय गुल्मीले अनुगमनलाई तिव्र बनाएको छ ।

यसअघि पनि गरिएको अनुगमनमा ७ वटा सवारी साधनलाई नियन्त्रणमा लिईएको थियो । दैनिक रुपमा ट्राफिक कार्यालय गुल्मीले सवारी चेकजाँच गरे पनि सवारी चालकहरुले यसको वेवास्ता गर्दै आएका ट्राफिक कार्यालय गुल्मीका प्रमुख जगन्नाथ पाण्डेले बताउनुभयो ।

सदरमुकाम देखि जिल्लाका ग्रामीण भेग सिमलटारी, मर्भुङ्ग मैदान, घमिर, छापहिले, नेटा, दर्लिङ्ग, इस्मा ,धुर्कोट, ह्वाङदी, लगायतका स्थानमा गुड्ने सवारीसाधनले मनपरी भाडा उठाउँदै आएका थिए । प्रहरीले नियन्त्रणमा लिएका सबै सवारीलाई एक दिन राखेर मात्र छोडिने जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।