प्रदेश ५ को नाम ‘लुम्बिनी’ र स्थायी राजधानी ‘भालुवाङ’

वुटवल । प्रदेश नं. ५ को नाम लुम्बिनी र स्थायी राजधानी टुंगो लागेको छ । आज बसेको प्रदेशसभा वैठकको दुई तिहाइ मतले स्थायी राजधानी दाङको भालुवाङमा र नाम लुम्विनी राख्ने प्रस्ताव पास गरेको हो ।
प्रदेश सरकारले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँभीको शीतगंगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने प्रस्ताव शुक्रबार प्रदेशसभामा पेश गरेको थियो ।
आज भएको मतदानमा प्रदेशको राजधानी भालुवाङ राख्ने प्रस्तावको पक्षमा ६९ मत र विपक्षमा १३ मत खसेको छ भनेको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ र विपक्षमा ४ मत खसेको थियो ।
प्रदेशको स्थायी राजधानी भालुवाङमा राख्ने प्रस्तावको विरोध गर्दै प्रमुख विपक्षी कांग्रेसका सांसदले सोमबार प्रदेशसभामा तोडफोड समेत गरेका थिए । तोडफोड गर्नेलाई कांग्रेस केन्द्रले कारवाही गर्ने जनाएको छ ।
प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएसँगै प्रदेशसभाको अधिवेशन अन्त्य भएको छ ।