कांग्रेसका पूर्व कोषाध्यक्ष प्रसाईंको निधन
काठमाडौं । नेपाली कांग्रेसका पूर्वकेन्द्रीय कोषाध्यक्ष रामबाबु प्रसाईंको ९९ वर्षको उमेरमा आज निधन भएको छ ।
श्वासप्रश्वासमा समस्या आएपछि ६ दिनअघि उपचारका लागि काठमाडौंको ओम अस्पतालमा भर्ना भएका प्रसाईको आज दिउँसो निधन भएको हो ।
१९७८ को माघ १५ मा जन्मिएका प्रसाई स्वर्गीय कृष्णप्रसाद भट्टराई सभापति हुँदा विसं २०४८ सालमा केन्द्रीय कोषाध्यक्ष भएका थिए । त्यसअघि २०४४मा पार्टीको झापा जिल्ला कार्यसमितिका सभापतिसमेत थिए ।
नेता प्रसाईंको निधनप्रति नेपाली कांग्रेसले दुःख व्यक्त गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाले प्रसाईंले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको स्मरण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
पञ्चायती निरङ्कुश शासनविरुद्ध सङ्घर्षका क्रममा जेलनेल र भारत निर्वासित भएका प्रसाई विसं २०३३ कात्तिक १६ गते मेलमिलापको नीति लिएर कांग्रेसका संस्थापक नेता बिपी कोइरालासँगै स्वदेश फर्किएका थिए ।
विसं २०१५ को प्रथम आमनिर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि झापामा स्वतन्त्र उम्मेद्वार बनेका थिए । तर उनी कांग्रेसका उम्मेद्वार फत्तेबहादुर बुढाथोकीसँग पराजित भएका थिए ।
०६२÷०६३ पछि कांग्रेस लोकतान्त्रिक गणतन्त्रमा लागेको भन्दै उनले पार्टी छोडेका थिए ।
प्रसाईंकी पत्नी, तीन छोरा टोरुप, डोजुप र गिसुप तथा दुई छोरी पनेखम र खेतिम छन् ।